ग्लोबल


बंगलादेशमा माइक्रोबसको सिलिन्डर विस्फोट हुँदा ७ जनाको मृत्यु

बंगलादेशमा माइक्रोबसको सिलिन्डर विस्फोट हुँदा ७ जनाको मृत्यु

प्रतिकात्मक तस्बिर


नेपालखबर
असार ९, २०८० शनिबार २०:१०, ढाका

बंगलादेशको मध्य फरिदपुर जिल्लामा शनिबार बिहान ग्यासबाट चल्ने माइक्रोबस राजमार्गको डिभाइडरमा ठोक्किएर ग्यास सिलिन्डर विस्फोट हुँदा कम्तीमा सात जनाको मृत्यु भएको छ।

राजधानी ढाकाबाट करिब १०१ किलोमिटर टाढा फरिदपुरको भाङ्गा प्रहरी चौकीका इन्चार्ज जियारुल इस्लामले पत्रकारलाई बताएअनुसार अत्यधिक गतिका कारण चालकले सवारीसाधनमा नियन्त्रण गुमाएपछि माइक्रो बस राजमार्गको डिभाइडरमा ठोक्किएर दुर्घटना भएको हो। 

ढाकातर्फ जाँदै गरेको माइक्रोबसमा सिलिन्डर पड्केर आगलागी भएको र सातै जनाको जलेर मृत्यु भएको उनले जानकारी दिए।

स्थानीयले दिएको जानकारीअनुसार दमकल केही समयमा नै घटनास्थलमा पुगेर आगो नियन्त्रणमा लिए पनि उनीहरूले यात्रुहरूलाई बचाउन सकेनन्। 

बंगलादेशमा सडक दुर्घटनाका कारण हुने मृत्युदर विश्वमै सबैभन्दा बढी छ। मुख्यतया राजमार्गको खराब अवस्था, गाडीको उचित मर्मत सम्भारको अभाव, ग्यास सिलिन्डर विस्फोटसँग सम्बन्धित आगलागी, चालकहरूद्वारा ट्राफिक नियमको उल्लङ्घन र ट्राफिक विभागको अनुगमनको अभावका कारण बंगलादेशमा हरेक बर्ष हजारौँ मानिसले ज्यान गुमाउने गरेका छन्।

बंगलादेशमा मुस्लिम धर्मावलम्बीको इद उल फित्र पर्वका क्रममा अप्रिल १५ देखि अप्रिल २९ सम्म ३०४ वटा सवारी दुर्घटनामा परी ३२८ जनाको मृत्यु हुनाका साथै ५६५ जना घाइते भएका छन्। रासस/सिन्ह्वा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad