ad ad

ग्लोबल


मूल्य बढाइराख्न उत्पादन घटाउने तेल उत्पादक राष्ट्रबीच सहमति

मूल्य बढाइराख्न उत्पादन घटाउने तेल उत्पादक राष्ट्रबीच सहमति

नेपालखबर
जेठ २३, २०८० मंगलबार ७:३०, काठमाडौँ

कच्चा तेलको मूल्य घट्न नदिन तेल उत्पादनमा कटौती जारी राख्न तेल उत्पादक राष्ट्रहरूबीच सहमति भएको छ।

साउदी अरेबियाले जुलाईदेखि दैनिक १० लाख ब्यारेल तेल उत्पादन घटाउने बताएको थियो।अर्कोतर्फ, ओपेक प्लस देशहरूले सन् २०२४ देखि दैनिक १४ लाख ब्यारेल थप कटौती गरिने बताएका छन् ।

ओपेक प्लस देशहरूले विश्वको कच्चा तेलको ४० प्रतिशत उत्पादन गर्छन्। अजरबैजान, बहराइन, ब्रुनाई, काजाकस्तान, मलेसिया, ओमान, रूस, सुडान र दक्षिण सुडान सदस्य रहेको ओपेक प्लसको निर्णयले कच्चा तेलको मूल्यलाई असर गर्छ।

सोमबार एसियाली बजारमा ब्रेन्ट कच्चा तेलको मूल्य २.४ प्रतिशतले बढेर ७७ डलर प्रति ब्यारेल पुगेको छ।

गत महिना बेलायतमा एक लिटर तेलको मूल्य प्रतिलिटर १२ पेन्स (करिब नेपाली १७ रुपैयाँ) ले घटेको थियो।

आइतबार तेल उत्पादक राष्ट्रको बैठक ७ घण्टासम्म चलेको थियो। यो बैठकको नेतृत्व रुसले गरेको थियो। जसमा तेलको मूल्य घट्ने विषयमा छलफल भएको थियो।

रुसका उपप्रधानमन्त्री अलेक्ज्याण्डर नोभाकका अनुसार सन् २०२२ को अक्टोबरदेखि ओपेक प्लस देशहरूले तेल उत्पादनमा प्रतिदिन ३.६६ मिलियन ब्यारेलले कटौती गरेका छन्।

ओपेक प्लसमा तेल उत्पादक देशहरू र तिनका सहयोगीहरू सामेल छन्। संगठनले पहिले नै प्रति दिन २० लाख ब्यारेल कटौती गर्न सहमत भइसकेको छ, जुन कुल विश्वव्यापी मागको करिब २ प्रतिशत हो। नोभाकले भने, 'यो छलफलपछि २०२४ को अन्त्यसम्म तेल कटौती सम्झौतालाई प्रभावकारी राख्ने सहमति भएको छ।'

गएको अप्रिलमा, साउदी अरेबियाले अचानक प्रतिदिन १६ लाख ब्यारेल कटौतीको घोषणा गरेको थियो।

साउदीको उक्त कदमपछि विश्वभर तेलको मूल्य बढेको थियो। 

आइतबारको बैठकमा साउदी अरबका तेलमन्त्री प्रिन्स अब्दुलअजिज बिन सलमानले आवश्यक परे जुलाईपछि पनि प्रतिदिन १० लाख ब्यारेल कटौतीलाई निरन्तरता दिइने बताएका छन्।

रुसले युक्रेनमा आक्रमण गरेदेखि नै कच्चा तेलको मूल्यमा आएको उतारचढावका कारण तेल उत्पादक देशहरू बजारमा अस्थिरताको सामना गरिरहेका छन्। यसै समयमा, पश्चिमी देशहरूले ओपेक (तेल उत्पादक देशहरूको समूह) लाई मूल्यमा प्रभाव पार्ने र विश्वव्यापी अर्थतन्त्रलाई कमजोर पारेको आरोप लगाउँदै आएका छन्।

ओपेक राष्ट्रहरूले युक्रेन युद्धपछि रूसलाई सहयोग गरेको आरोप पश्चिमी देशहरूले पनि लगाएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .