ग्लोबल


सुडान गृहयुद्ध: विद्यालयमै थुनिए विद्यार्थी, दर्जन अस्पतालमा गोली चल्यो

सुडान गृहयुद्ध: विद्यालयमै थुनिए विद्यार्थी, दर्जन अस्पतालमा गोली चल्यो

नेपालखबर
बैशाख ५, २०८० मंगलबार १२:५८, काठमाडौँ

तीन दिनदेखि सुडान अशान्तिको घोरचक्रमा फसेको छ। 

उत्तरपूर्वी अफ्रिकी मुलुक सुडानमा शनिबारदेखि त्यहाँको सेना र अर्धसैनिक समूहबीच युद्ध चलिरहेको छ। अहिलेसम्म २ सय जनाले ज्यान गुमाइसकेका छन् भने १८ सय बढी घाइते छन्। यो संख्या अझै बढ्ने आकलन गरिएको छ।

गोलबारीबीच नागरिकहरू घरभित्रै छन्। सडक, विद्यालय, एयरपोर्ट र सरकारी कार्यालय बन्द छन्।

सुडानको राजधानी खार्तुमममा गोलबारी भइरहेको छ, जसकारण तीन दिनभन्दा लामो समयदेखि खार्तुम विश्वविद्यालयका विद्यार्थीहरू विद्यालयकै भवनभित्र थुनिएका छन्। उनीहरू घर फर्किन पाएका छैनन्।

देशभित्रैका दुई सैन्य समूहबीचको भिषण लडाइँले भवनहरू ध्वस्त बनेका छन्। विद्यालयको आकाशमाथि युद्धविमान घुमिरहेका छन्।

'रातारात हाम्रो देश रणभूमिमा परिणत भएको छ, अवस्था निकै भयावह बनेको छ,' विश्वविद्यालयको पुस्तकालयमा आश्रय लिइरहेका ८९ मध्ये एक विद्यार्थी अल मुजफ्फर फारुक(वर्ष २३) ले बताए।

पानी र उपलब्ध खाद्यान्न विस्तारै सकिँदै गएको उनले सीएनएनसँगको संवादमा बताएका छन्। उनले भनेका छन्, 'खाना र पानी सकिँदैछ, बाहिर गोलबारी चलिरहेको छ। तर बाँच्नुको विकल्प त छैन, संघर्ष जारी छ,' उनले भनेका छन्, 'एक सहपाठी(खालिद अब्दुलमुनेम) लाई उनीहरूले मारिसके, जब उनी पुस्तक भाग्न खोजिरहेका थिए, गोली प्रहार भयो।'

उनले अगाडि भने, 'उनको शव हामीहरू गएर भित्र ल्यायौँ, हामीमाथि पनि गोली प्रहार भइरहेका थिए।'

विश्वविद्यालयले सोमबार फेसबुकमार्फत अब्दुलमुनेमको विद्यालय परिसरमा मृत्यु भएको जानकारी पनि गराएको छ। विश्वविद्यालयले सयौँ मानिस क्याम्पसभित्रै थुनिएको बताउँदै सहयोगका लागि पनि अपिल गरेको छ।

सुडानका सैन्य नेता अब्देल फताह अल-बुर्हान र अर्थसैनिक समूह (आरएसएफ) प्रमुख हेमेदती भनेर चिनिने मोहम्मद हमदान दगालोबीचको सत्तास्वार्थका लागि भएको रक्तपातपूर्ण हिंसाले खार्तुम युद्धको भूमरीमा फसेको छ।

सुडानको चिकित्सकहरूको संगठनले एक दर्जन बढी अस्पतालमा दुवै पक्षले आक्रमण गरेको बताएको छ।

कूटनीतिज्ञ र म‍ानव अधिकारवादीहरूमाथि पनि आक्रमण भएको  बताइएको छ।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले अमेरिकी कूटनीतिज्ञमाथि आक्रमण भएको बताएका छन्। उनले भनेका छन्, 'हिजो अमेरिकी कूटनीतिज्ञहरूमाथि गोली प्रहार गरियो, हाम्रा सबै मानिस सुरक्षित छन्। तर यो लापरवाह र गैरजिम्मेवारपूर्ण थियो,' उनले भनेका छन्।

अन्तर्राष्ट्रिय समुदायले यो लडाइँ रोक्न आह्वान गरेको छ। तर, त्यसलाई द्वन्द्वरत अनदेखा गरेको छ। यसले सुडानको लोकतन्त्रतर्फ फर्किने यात्रा नै रोकिने भय पनि बढेको छ।

यो लडाइँ चल्नुमा सुडानका दुई जर्नेलको मुख्य हात छ। जसमध्ये एक हुन्, सेना तथा राज्यका प्रमुख जर्नेल अब्देल फतह अल बुर्हान। अर्का हुन् आरएसएफका कमान्डर जर्नेल मोहम्मद हमदान दागालो, उर्फ हेमेती।

पहिले हेमेती अल बुर्हानकै सहयोगी थिए। वास्तवमा उनीहरु मिलेर नै २०२१ मा मुलुकमा सैन्य कू भएको थियो। अहिले उनीहरुबीच झगडा हुँदा मुलुकभर लडाइँ चर्किएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad