सुडानमा सेना र शक्तिशाली अर्धसैनिक बल र्यापिड सपोर्ट फोर्सेस (आरएसएफ)बीच शनिबार लडाइँ सुरु भएको छ। एउटै मुलुकका दुई सरकारी सुरक्षाकर्मीबीच किन लडाइँ चल्यो त?
यसको कारण खोज्न गत केही वर्षयता सुडानमा चलेको सत्ता संघर्ष बुझ्नु पर्छ।
सुडानको सत्ता कसको हातमा छ?
अप्रिल २०१९ मा सुडानका जर्नेलहरुले राष्ट्रपति ओमर अल बसिरलाई सत्ताच्यूत गरे। उनले ३० वर्ष सुडानमा शासन चलाएका थिए।
अगस्ट २०१९ मा भएको एक सम्झौताअनुसार चुनावअघि नागरिकहरुसँग सत्ता साझेदारी गर्न सेना सहमत भएको थियो। तर, २०२१ मा भएको अर्को कूले त्यो प्रक्रिया रोकिदियो। र, देशभर पुनः लोकतन्त्र माग गर्दै आन्दोलन भयो।
१९५६ मा स्वतन्त्रता प्राप्त भएसँगै सुडानमा सेनाको बर्चस्व रहँदै आएको छ। २०१९–२०२१ का बीचमा सेना र पार्टीहरुबीचको अविश्वास बढ्दै गयो।
पार्टीहरुले ठुल्ठूला प्रदर्शन गरेर वैधता हासिल गरेका थिए। उनीहरुलाई अन्तर्राष्ट्रिय समुदायको समर्थन पनि थियो।
सेनाले भने विद्रोही समूहहरुको समर्थन पाएको थियो। २०२० को शान्ति सम्झौताले पनि उसलाई फाइदा पुग्यो।
कू पछि सत्ता सेनाको हातमा पुग्यो। तर, हप्तैपिच्छे प्रदर्शन हुन थाले। सेना एक्लिन थाल्यो र आर्थिक कठिनाइ पनि बढ्दै गयो।
यहीबेला सरकार चलाइरहेको परिषद्का उपाध्यक्ष तथा अर्धसैनिक बल आरएसएफका कमान्डर जर्नेल मोहम्मद हम्दान दागालो र परिषदका प्रमुख तथा सेना प्रमुख अब्देल फतह अल बुर्हानबीच तनाव सुरु भयो।
तनावको कारण
अहिले तनावको प्रमुख कारण भनेको सेनामाथि नागरिक निगरानी हुनुपर्ने पार्टीहरुको माग र सेना तथा आरएसएफबीचको एकीकरण प्रक्रिया हो।
पार्टीहरुले सेनाको नियन्त्रणमा रहेका कृषि, व्यापार तथा उद्योगधन्दा हस्तान्तरणको माग पनि गरेका छन्। जुन सेनाको शक्तिको प्रमुख स्रोत हो।
विवादको अर्को कारण २००३ पछि डार्फरको द्वन्द्वमा सेना र उसका सहयोगीले गरेको युद्ध अपराधका विषयमा न्यायको खोजी पनि हो। अन्तर्राष्ट्रिय अपराध अदालतले अल बसिर र अन्यमाथि मुद्दा चलाउन खोजेको छ।
त्यस्तै ३ जुन २०१९ मा भएको प्रदर्शनमा गरिएको हत्याहरुमा पनि न्यायको खोजी भइरहेको छ। कू यता १२५ जनाभन्दा बढीको ज्यान गइसकेको छ।
कस्तो छ अर्थतन्त्र?
बिग्रिँदो अर्थतन्त्र, मुद्रास्फिति र बारम्बार खाद्यान्न र इन्धनको अभावले अल बसिरको शासन पतन गराउन मुख्य भूमिका खेल्यो। २०१९ पछिको संक्रमणकालीन सरकारले केही सुधार गर्यो। आईएमएफबाट ऋणमा राहत प्राप्त गर्यो र विदेशी लगानी पनि ल्यायो।
तर, २०२१ को कू पछि अर्बौं डलरको अन्तर्राष्ट्रिय सहयोग रोकियो। जसका कारण विकास परियोजनाहरु रोकिए, बजेटमा समस्या आयो र मानवीय संकटको अवस्था आइपुग्यो।
उसो सुडान मात्र होइन, यो क्षेत्र नै बारम्बार संकटमा परिरहन्छ। सुडानको रणनीतिक अवस्थितिले पनि क्षेत्रीय तनाव निम्त्याउने गछए।
सुडानको नजिकै रहेको इथियोपिया, चाड र दक्षिण सुडान पनि राजनीतिक उथलपुथल र द्वन्द्वबाट पीडित हुँदै आएका छन्।
सीमा क्षेत्रमा रहेको कृषियोग्य जमिनको विवादलाई लिएर सुडान र इथियोपियाबीचको सम्बन्ध तनावपूर्ण छ। टिग्रे क्षेत्रको द्वन्द्वले दसौँ हजार शरणार्थी सुडान प्रवेश गरेका छन्।
इजिप्टले सेनालाई समर्थन गरेको छ। साउदी अरब, यूएई, बेलायत र अमेरिकाले अफ्रिकी युनियन र राष्ट्रसंघसँग मिलेर सुडानमा मध्यस्थता गरिरहेका छन्। पश्चिमा शक्तिहर लाल सागरमा रुसी सैन्य अखडा बस्न सक्ने भन्दै चिन्तित छन्। अल जजिराबाट
Shares

प्रतिक्रिया