चिनपिङलाई युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले चिनियाँ राष्ट्रपति सी चिनपिङलाई निमन्त्रणा गरेका छन्। बुधबार एसोसिएट प्रेसले जेलेन्स्कीले सीलाई युक्रेन भ्रमणका लागि निम्तो गरेको जनाएको छ।
'हामी उहाँलाई यहाँ स्वागत गर्न आतुर छौँ,' न्यूजएजेन्सीसँगको अन्तर्वार्तामा जेलेन्स्कीले भनेका छन्, 'म उहाँसँग छलफल गर्न चाहन्छु, मैले युद्ध सुरु हुनुपूर्व नै पनि युक्रेन भ्रमणका लागि उहाँलाई आमन्त्रण गरेको थिएँ। तर कुनै जवाफ आएन।'
रूस-युक्रेन युद्ध सुरु भएयता सी र जेलेन्स्कीबीच संवाद भएको छैन। तर गत फ्रेब्रुवरीको अन्त्यमा चीनले युक्रेन संकटका लागि राजनीतिक समाधानका लागि १२ बूँदे योजना सार्वजनिक गरेको थियो।
गत मार्चमा सीले रूसको राजकीय भ्रमण गरेका थिए। उक्त तीन दिने भ्रमणका क्रममा रूसका राष्ट्रपति भ्लादिमर पुटिन र सीले संयुक्त वक्तव्य जारी गरेका थिए। रूस-युक्रेन द्वन्द्व वार्ताबाट समाधान गर्नुपर्ने भन्दै चीनले तटस्थ अडानका साथ उक्त संयुक्त वक्तव्य जारी गरेको थियो। यद्यपि, रूस असल छिमेकी राष्ट्र भएको बताउँदै सीले आवश्यक सहयोग प्रदान गर्ने पनि बताएका थिए।
‘युक्रेन संकट समाधान गर्न सुरक्षाका विषयमा सबै मुलुकको वैध चासोलाई सम्मान गर्न, गठबन्धनबीचको टक्कर रोक्न र द्वन्द्व थप चर्काउने क्रियाकलाप बन्द गर्न आवश्यक छ,’ संयुक्त वक्तव्यमा भनिएको थियो, ‘युक्रेन संकटको दीगो समाधानका लागि जिम्मेवार संवाद नै सबैभन्दा उत्तम बाटो भएकोमा दुवै पक्ष जोड दिन्छन्। र, त्यसलाई अन्तर्राष्ट्रिय समुदायले समर्थन गर्नुपर्छ।’
प्रतिक्रिया