ad ad

ग्लोबल


को हुन् भारत टुक्राउने अभियान चलाएका अमृतपाल?

को हुन् भारत टुक्राउने अभियान चलाएका अमृतपाल?

नेपालखबर
चैत १४, २०७९ मंगलबार १३:४६, काठमाडौँ

पञ्जाव प्रहरीले खालिस्तान समर्थक नेता अमृतपाल सिंह(२९) लाई पक्राउ गर्ने अभियान चलाइरहेको छ, ठीक यसैबेला अमृतपाल नेपालमा रहेको चर्चा छ। सुदूरपश्चिमको नाका हुँदै अमृतपाल नेपाल प्रवेश गरेको भन्दै काठमाडौंस्थित भारतीय दूतावासले अध्यागन विभागलाई अनुरोध गरेपछि विभागले उनलाई कालोसूचीमा राखेको छ।

मार्च २३ मा उत्तर प्रदेशको लखिमपुर खिरीमा देखिएका अमृतपाल त्यसयता देखिएका छैनन्। भारतीय सुरक्षा एजेन्सीको 'मस्ट वान्टेड' सूचीमा छ, उनको नाम। अमृतपाल, जसको ३ वर्षअघिसम्म पनि कुनै चर्चा थिएन। तीन वर्षमै भारतमा उनी कसरी उदाए? भारतीय सुरक्षा एजेन्सीको सर्वाधिक खोजी सूचीमा रहेका अमृतपाल को हुन्?


000

सन् २०२० अघि अमृतपालको कुनै चर्चा थिएन। सन् १९९३ मा अमृतसर जिल्लाको जल्लुपुर खेडा गाउँमा जन्मिएका उनी १९ वर्षकै उमेरमा सन् २०१२ मा कामको सिलसिलामा दुबई गएका थिए। १० वर्षसम्म उनी उतै बसे।

अहिले पञ्जावमा शिखहरूको छुट्टै देश बनाउने अभियान चलाइरहेका अमृतपाल त्यतिबेला अभियन्ता त परको कुरा, शिख समुदायको जस्तो शीरमा झुम्म कपाल र गालामा बाक्लो दाह्री थिएन, उनै आम मजदुर जस्तो दुबईमा काममा व्यस्त थिए। दुबईमा उनका काकाको यातायात व्यवसाय थियो, उनी त्यसैमा कार्यरत थिए।

भारत सरकारले कृषि क्षेत्रको सुधारका लागि भन्दै नयाँ कानुनको मस्यौदा तयार पारेपछि सन् २०२० मा भारतमा वृहत् किसान आन्दोलन भयो। आन्दोलनको नेतृत्व गरिरहेका मध्ये एक अभियन्ता थिए सन्दीप सिंह। अमृतपाल निरन्तर सिंहको समर्थनमा सामाजिक सञ्जालमा समर्थनमा बोल्न थाले।

किसान आन्दोलनको समर्थनमा बोलिरहेका सामाजिक सञ्जाल प्रयोगकर्ताहरू विस्तारै अमृतपालसँग जोडिँदै गए। यसै क्रममा उनी 'पब्लिक फिगर' बने, लाखौँ मानिस उनका समर्थक बने।

किसान आन्दोलनकै अभियन्तामध्ये एक थिए, दीप सिद्दू नामले चर्चामा रहेका कलाकार सन्दीप सिंह लालकिल्लामा शिख धर्मको झण्डा फहराएको आरोपमा पक्राउ परे। किसान आन्दोलनको समर्थनमा ट्र्याक्टर र्‍याली निकालिरहेको समयमा पक्राउ परेका उनी पछि धरौटीमा रिहा भए। पञ्जावमा विधानसभा चुनाव सुरु हुनुअघि उनले एक संस्था खोले- वारिस पञ्जाव दे। पञ्जावको सामाजिक र राजनीतिक वातावरणबाट असन्तुष्ट पक्षधरलाई एकजुट गर्ने यस संस्थाको उद्देश्य थियो। त्यसबेला खालिस्तान पक्षधर संस्थाका रूपमा यस संस्थाको स्थापना नभएतापनि पछि उक्त संस्था खालिस्तान समर्थक संगठनका रूपमा स्थापित भयो।

अमृतपाल (बायाँ), दीप सिद्धु (दायाँ)

२०२२ फेब्रुवरीमा उनको एक कार दुर्घटनामा मृत्यु भयो। त्यसको सात महिनापछि सेप्टेम्बरमा उक्त संगठनको प्रमुख बने अमृतपाल।

सेप्टेम्बरमा उनले शिख सिद्धान्तको अभ्यास गर्दै उनले कपाल र दाह्री बढाए। दिल्लीमा एक ठूलो कार्यक्रम गरे र आफूलाई दीप सिद्दूको मृत्युपछि निष्क्रिय जस्तै बनेको वारिस पञ्जाव देको प्रमुख घोषणा गरे। त्यसपछि उनले पञ्जावमा धार्मिक यात्रा सुरु गरे। खालिस्तानको मुद्दा उठाएर गाउँदेखि सहरसम्मका युवाहरूलाई जोड्न थाले।

उसो त खालिस्तान राष्ट्रको मुद्दा नयाँ भने होइन। खालिस्तान अर्थात् खालसाको भूमि, भारतीय राज्य पञ्जावका शिख पृथकतावादीले प्रस्ताव गरेको राष्ट्रको नाम हो। पञ्जावमा शिखको छुट्टै छुट्टै राष्ट्र बनाउने उक्त अभियानमा खालिस्ताअन्तर्गत पञ्जावसहित चण्डीगढ, हरियाणा, हिमाचल प्रदेश, दिल्ली र राजस्थान, उत्तर प्रदेश र उत्तराखण्ड जस्ता अन्य राज्यका केही क्षेत्र समावेश छन्। खालिस्तानी पृथकतावादी नेताहरूले २९ अप्रिल १९८६ मा खालिस्तान भारतबाट आजाद भएको राष्ट्रका रूपमा घोषणा गरे। १९९३ मा उनीहरूकै नेतृत्वमा खालिस्तान प्रतिनिधित्व नगरिएको राष्ट्र र जनसंगठन (यूएनपीओ)को सदस्य बन्यो।

१९९५ मा भारत सरकारले खालिस्तानी आन्दोलनलाई दबाइदियो। करिब २३ वर्ष सुसुप्त रहेको खालिस्तानी अभियान सन् २०१८ पछि पुन: विस्तारै देखा पर्न थालेको थियो। 

अमृतपालले वारिस पञ्जाव देको नेतृत्व गरेपछि खालिस्तानको मुद्दा प्रखर रूपमा पुन: बाहिर ल्याएका हुन्। उनले सार्वजनिक रूपमै भारतले पञ्जावलाई उपनिवेश बनाएको भन्दै शिखहरूको छुट्टै राज्यको आवाज दबाउन नसक्ने बताउँदै आएका छन्।

भारत र पाकिस्तानको पञ्जाव भूमिलाई गाभेर छुट्टै खालिस्तान मुलुक बनाउने एजेण्डा उनले अघि सारेका छन्। एक अन्तर्वार्तामा उनले भारतले पञ्जावमा उपनिवेश चलाइरहेको बताएपछि ह्वात्तै उनका समर्थक बढेका थिए। त्यसयता उनी हातहतियारसहितका व्यक्तिगत सुरक्षागार्डका साथ सार्वजनिक स्थलमा हिँड्न थालेका थिए।

१५ फेब्रुवरी २०२३ मा वरिन्दर सिंहलाई अमृतपाल र उनका समर्थकले शिख विरोधी वरिन्दर सिंह नामका व्यक्तिलाई अपहरण गरी यातना दिए। अमृतपाल र उनका समर्थकलाई अपहरण गरी यातना दिएको उजुरी परेपछि अमृतपालका एक सदस्य तुफान पक्राउ परे।

अमृतपालले आफ्ना सदस्यलाई रिहा गर्न अन्यथा अजनाला प्रहरी चौकी घेराउ गर्ने अल्टिमेटम दिए। १८ फेब्रुवरीमा चौकी घेराउ गर्ने कार्यक्रम रहे पनि त्यो पूरा भएन। १९ फेब्रवरीमा दीप सिद्धुको पुण्यतिथिमा पुगेका अमृतपालले खालिस्तानको वकालत गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीलाई गाली गरे। २३ फेब्रुवरीमा चौकी घेराबन्दी गर्ने आह्वान गरे।

२३ फ्रेब्रुवरी दिउसो हातहतियारसहितका समर्थकसहित प्रहरी चौकी पुगे, प्रहरीसँग झडप भयो र अमृतपाल समूहले चौकी कब्जामा लियो। झडपमा एसपीसहित ६ प्रहरी घाइते भए।

अमृतपाल सिंह, आफ्ना निजी सुरक्षाकर्मीसाथ

उक्त घटनापछि अमृतपालका सहयोगी तुफानलाई प्रहरीले रिहा गर्‍यो। त्यसयता अमृतपालको प्रभूत्व बढ्दै गएकोमा गत मार्च १८ देखि पञ्जाव प्रहरीले अमृतपालविरुद्ध कारवाही सुरु गरेको हो। उनीसहित ५ समर्थकलाई प्रहरीले 'मस्ट वान्टेड' सूचीमा राखेको छ।

अमृतपालको खालिस्तान अभियानपछि अन्य देशमा पनि खालिस्तानी अभियान बढेको छ। खालिस्तान पक्षधरले हालै बेलायतस्थित भारतीय राजदूतावासमा झण्डासहित प्रदर्शन गरेका थिए। अमेरिका र क्यानडामा पनि खालिस्तानको पक्षमा प्रदर्शन भइरहेका छन्।

अमृतपालिविरुद्ध भारतमा ज्यान मार्ने उद्योग, अशान्ति मच्चाएको र कानुन कार्यन्वयनमा अवरोध पुर्‍याएको मुद्दा छन्। भारतीय प्रहरीले खोजिरहे पनि उनलाई पक्राउ गर्न सकेको छैन। उनी नेपालमा रहेको हुनसक्ने आशंका गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .