ad ad

ग्लोबल


पुटिनविरुद्ध बाइडेनको आक्रोश, भने– युक्रेनलाई पश्चिमा मुलुकले दिएको समर्थन खेर जानेछैन

पुटिनविरुद्ध बाइडेनको आक्रोश, भने– युक्रेनलाई पश्चिमा मुलुकले दिएको समर्थन खेर जानेछैन

फाइल तस्बिर : बाइडेन र पुटिन


नेपालखबर
फागुन १०, २०७९ बुधबार ९:२९, काठमाडौँ

अमेरिकाका राष्ट्रपति जो बाइडेनले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्ध आक्रोश पोखेका छन्। बाइडेनले पुटिनलाई तानाशाहको संज्ञा दिएका छन्। 

पोल्यान्डको राजधानी वार्सामा रुसी राष्ट्रपति पुटिनविरुद्ध टिप्पणी गर्दै बाइडेनले भने, ‘तानाशाहहरूले एउटा शब्द मात्र बुझ्छन्– हुँदैन, हुँदैन, हुँदैन।’

नेटोलाई पहिलेभन्दा बलियो बनाउने वाचा गर्दै बाइडेनले थपे, ‘पुटिनले संसार बदलिने सोचेका थिए, तर उनी गलत थिए।’

उनले रुसी आक्रमणका क्रममा युक्रेन बलियो, गौरवशाली, ठूलो र आत्मनिर्भर भएको र उसलाई पश्चिमा मुलुकले दिएको समर्थन खेर नजाने दाबी गरे। 

बाइडेनले पश्चिमी देशहरूको लोकतन्त्रको प्रशंसा गर्दै रुसी आक्रमणको मनसाय पर्दाफास गर्न सबै एकजुट भएको बताए।

वारसाको शाही दरबारमा उनले भ्लादिमिर पुटिनले पश्चिमी देशहरूमा लगाएका धेरै आरोपको जवाफ दिए। 

यसअघि मंगलबार पुटिनले मस्कोमा युक्रेन संकटका लागि पश्चिमा राष्ट्रहरूको उत्तेजक कारबाहीलाई दोष दिएका थिए।

जो बाइडेनलाई स्वागत गर्दै पोल्यान्डका राष्ट्रपति एन्ड्रेज डुडाले युक्रेनको राजधानी किभको भ्रमण गरेर बाइडेनले यो स्वतन्त्र संसार कसैसँग डराउँदैन भन्ने देखाएको बताए।

डुडाले नेटोको काम स्वतन्त्र विश्वको संरक्षण र सहयोग गर्ने भएको बताए। उनका अनुसार युक्रेनले यो लडाई जित्नुपर्छ।

भ्लादिमिर पुटिनको गम्भीर आरोप
यसअघि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा रुसको ‘स्पेसल अपरेसन’ को एक वर्ष पूरा भएको अवसरमा मंगलबार आफ्ना देशवासीलाई सम्बोधन गरेका थिए।

मस्कोको गोस्टिनी डभोर हलमा उनको सम्बोधन सुन्न धेरै मन्त्री र अधिकारीहरू उपस्थित थिए।

यस क्रममा पुटिनले युक्रेन संकटका लागि पश्चिमी देशलाई दोष दिँदै समस्याको शान्तिपूर्ण समाधान खोज्ने प्रयास गरिरहेको बताए।

उनले शान्ति पुनर्स्थापनाका लागि पश्चिमी मुलुकको प्रतिबद्धतालाई धोका र ठूलो झूटको संज्ञा दिए।

उनले युक्रेनले जैविक र आणविक हतियार संकलन गर्न खोजेको आरोप पनि लगाए। बीबीसी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .