गुजरातको गान्धीनगर सत्र अदालतले आसारामलाई अर्को बलात्कार मुद्दामा आजीवन कारावासको सजाय सुनाएको छ। शिष्य बलात्कारको मुद्दामा आसारामविरुद्ध २२ वर्ष पुरानो मुद्दा चलिरहेको थियो। आसारामविरुद्ध सुरतकी एक शिष्यले बलात्कार र अप्राकृतिक कार्य गरेको मुद्दा लगाएकी थिइन्। यो घटना अहमदाबादस्थित आसारामको आश्रममा भएको हो।
घटनापछि पीडित डरले चुपचाप बसिन्। आसाराम विरुद्ध अन्य ठाउँमा मुद्दा दर्ता हुँदा पीडितले सन् २०१३ मा पनि यस मामिलामा एफआइआर दर्ता गराइन्। यसपछि मुद्दा अहमदाबादको चाँदखेडा प्रहरी चौकीमा सारिएको थियो र त्यसपछि गान्धीनगर अदालतमा मुद्दाको सुनुवाइ चलिरहेको थियो। सरकारी वकिलका अनुसार अदालतले आसारामलाई धारा ३४२, ३५७, ३७६, ३७७ अन्तर्गत दोषी ठहर गरेको छ। आज उक्त मुद्दामा सजाय सुनाइएको हो।
के थियो पूरा घटना?
पीडितले भनिन्, ‘गुरुपूर्णिमाको दिन आसारामले मलाई वक्ताका रूपमा छानेका थिए। त्यसपछि मलाई आसारामको फार्महाउस शान्ति वाटिकामा बोलाइयो। आश्रमका अर्को व्यक्तिले मलाई आसारामको फार्म हाउसमा लगे। जहाँ आसारामले हात खुट्टा धोएर मलाई कोठाभित्र बोलाए। पछि मलाई एक कचौरा घिउ अर्डर गर्न भने। त्यसपछि आसारामले टाउकोमा मालिस गर्न आग्रह गरे। मसाज गर्दा आसारामले फोहोरी काम गर्न थाले। मैले भाग्न खोजेँ तर आसारामले मलाई आत्मसमर्पण गर्न बाध्य पारे। जबरजस्ती बलात्कार गरेपछि आसारामले अप्राकृतिक यौनक्रिया पनि गरे।’
पीडितले सन् २०१३ मा यस विषयमा एफआइआर दर्ता गराएकी थिइन्। अमर उजालाबाट
प्रतिक्रिया