ad ad

ग्लोबल


उत्तर कोरियाको ड्रोन खसाउन नसक्दा दक्षिण कोरियाली सेनाले माग्यो माफी

उत्तर कोरियाको ड्रोन खसाउन नसक्दा दक्षिण कोरियाली सेनाले माग्यो माफी

दक्षिण कोरियाली लडाकु विमान


नेपालखबर
पुस १३, २०७९ बुधबार १७:२, काठमाडौँ

ड्रोन आक्रमणको प्रतिरक्षाका लागि दक्षिण कोरियाले ४४ करोड डलर खर्च गर्ने सो मुलुकको रक्षा मन्त्रालयले बुधबार जनाएको छ।

गत सोमबार पाँच उत्तर कोरियाली ड्रोन दक्षिण कोरियाको हवाई क्षेत्रमा प्रवेश गरे। त्यसलाई रोक्न दक्षिण कोरियाले हतारहतार लडाकु जेट र हेलिकोप्टर उडायो। तर, दक्षिण कोरियाले एउटा पनि ड्रोन खसाउन सकेन।

यो घटनाबाट क्रुद्ध बनेको दक्षिण कोरियाका राष्ट्रपति युन सक योलले आक्रोशित वक्तव्य दिएका छन् भने दक्षिण कोरियाली सेनाले माफी समेत मागेको छ।

‘उत्तर कोरियाको जुनसुकै उक्साहटको जवाफ हामीले दिनैपर्छ। उक्साहटलाई रोक्ने सबैभन्दा बलियो माध्यम त्यही हो,’ युनले भनेका छन्, ‘उत्तर कोरियासँग आणविक हतियार छ भन्दैमा हामी डराउनु वा हिच्किचाउनु हुँदैन।’

२०१८ मा दुई मुलुकबीच सैन्य सन्धि भएयता पहिलो पटक उत्तर कोरियाली ड्रोन दक्षिणको हवाई क्षेत्रमा घुसेको हो। सो घटनाले सेनाप्रतिको अविश्वास बढाएको छ। युनले पनि घण्टौँसम्म दक्षिण कोरियाको आकाशमा उडेको ड्रोन खसाउन नसकेकोमा सेनाको आलोचना गरे।

दक्षिण कोरियाली सेनाले ती ड्रोन अत्यन्त साना भएकाले खसाउन नसकिएको बताउँदै माफी मागेको हो।

बदलामा उत्तर कोरियातर्फ पनि ड्रोन पठाइएको रक्षामन्त्री ली जोङ सुपले बुधबार संसदलाई जानकारी दिए।

दक्षिण कोरियाले सन् २०२७ सम्ममा २६१ अर्ब डलर बजेट रक्षा क्षेत्रमा खर्च गर्ने जनाएको छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .