दिल्ली उच्च अदालतले बिहीबार भारत सरकारलाई आमरण अनशनमा रहेका जलवायु अभियन्ता सोनम वाङचुकको स्वास्थ्य हरेक दिन डाक्टरहरूद्वारा जाँच गराउन आदेश दिएको छ।
अदालतले उनको बिग्रँदो स्वास्थ्यलाई ध्यानमा राख्दै कुनै उपचार आवश्यक छ भने भारत सरकारले त्यो उपलब्ध गराउनुपर्ने भनेको हो।

उच्च अदालतका मुख्य न्यायाधीश देवेन्द्रकुमार उपाध्याय र न्यायाधीश तेजस कारियाको डिभिजन बेन्चले वाङचुकको तत्काल चिकित्सा उपचारका लागि दायर गरिएको जनहित याचिकाको सुनुवाइ गर्दै उक्त आदेश दिएको हो।
लाइभ लका अनुसार दिल्ली उच्च अदालतले भनेको छ, ‘प्रत्येक नागरिकको जीवन बहुमूल्य छ र सरकारले यसको रक्षा गर्न हरसम्भव प्रयास गर्नुपर्छ।’
भारत सरकारको प्रतिनिधित्व गर्दै सलिसिटर जनरल तुषार मेहताले अदालतलाई सरकारी डाक्टर र चिकित्सा विशेषज्ञले वाङचुकको स्वास्थ्यको निरन्तर निगरानी गरिरहेको आश्वासन दिए।
उनले भने, ‘डाक्टरहरूको सल्लाहका आधारमा आवश्यक परे उपयुक्त उपचार प्रदान गरिनेछ।’
जवाफमा अदालतले भन्यो, ‘हामी सलिसिटर जनरलको अडानलाई कदर गर्छौं र वाङचुकको स्वास्थ्य डाक्टरहरूद्वारा दैनिक जाँच गर्न र आवश्यक उपचार प्रदान गर्न निर्देशन दिन्छौँ।’
वाङचुक गत जुन २८ देखि अनशनमा छन्।
वरिष्ठ जनरल फिजिसियन डा. सतीश लाम्बाले सोनम वाङचुकको स्वास्थ्य सम्बन्धमा १९औँ दिनको बुलेटिन जारी गरेका छन्।
जसमा वाङचुकले अनशनको १९औँ दिनसम्म ९ किलोग्रामभन्दा बढी तौल घटेको उल्लेख गरिएको छ।
स्वास्थ्य बुलेटिनमा भनिएको छ, ‘यद्यपि उनको शरीरमा पानीको मात्रा सामान्य छ र उनी मानसिक रूपमा सक्रिय छन्।
स्वास्थ्य बुलेटिनका अनुसार वाङचुकको रगतमा चिनीको मात्रा ८० मिलीग्राम/डीएल छ भने पल्स रेट प्रतिमिनेट ७२ छ।
यसअघि बुधबार अबेर राति भिडिओ सन्देशमा वाङचुकले आफ्नो स्वास्थ्य सामान्य रहेको बताउँदै 'चलो संसद्' अभियानअन्तर्गत संसद् भवनसम्मको शान्तिपूर्ण मार्चमा सामेल हुन जनतालाई अपिल गरेका थिए।
सामाजिक अभियन्ता सोनम वाङचुक जुन २८ देखि दिल्लीको जन्तरमन्तरमा आमरण अनशनमा छन्।
प्रतिस्पर्धात्मक परीक्षामा अनियमितताविरुद्ध जन्तरमन्तरमा ककरोच जनता पार्टी (सीजेपी) ले प्रदर्शन सुरु गरेको थियो। पछि सोनम वाङचुक पनि यसमा सामेल भएका थिए।
वाङचुकको अनशनलाई अन्ना हजारे र अरविन्द केजरीवालले २०११ मा गरेको अनशनसँग पनि तुलना गरिँदै छ।
त्यस बेला बलिउडका धेरै जना सेलेब्रिटीसहित विपक्षी नेताहरू अन्नाको अनशन स्थलमा पुगेका थिए, तर यसपटक त्यस्तो देखिएको छैन।
त्यतिबेला भारतमा भारतीय जनता पार्टी (भाजपा) विपक्षमा थियो भने मनमोहन सिंहको नेतृत्वमा कंग्रेस सरकार थियो।
तर अहिले भाजपाको सरकार छ भने लोकसभामा विपक्षी दल भारतीय कंग्रेस छ।
यसैले विपक्षी दलका नेता राहुल गान्धीलाई उनी अनशनप्रति किन ध्यान दिइरहेका छैनन् भनेर नागरिकले सोधिरहेका छन्।
Shares

प्रतिक्रिया