जर्मनीमा सत्ता पल्टाउने षड्यन्त्र रचेको आरोपमा २५ जनालाई पक्राउ गरिएको छ। दक्षिणपन्थीहरु र पूर्वसैनिकहरुको एउटा समूहले जबर्जस्ती संसद् भवन राइखस्टागमा घुसेर सत्ता कब्जा गर्ने षड्यन्त्र रचेको जर्मनीका सञ्चारमाध्यमले जनाएका छन्।
राजकुमार हेनरिक तेह्रौँ नामक कुलीन व्यक्ति यो योजनाको केन्द्रमा रहेको बताइएको छ। ती व्यक्ति षड्यन्त्रकारीका दुई मुखियामध्ये एक रहेको सरकारी वकिलहरुले जनाएका छन्।
यो षड्यन्त्रमा राइख्सबर्गर नामक अतिवादी अभियानका सदस्यहरु सहभागी भएको बताइएको छ। आफूलाई राइखको नागरिक भन्ने उनीहरु आधुनिक जर्मन राज्यलाई मान्न अस्वीकार गर्छन्।
उनीहरुलाई जर्मनीका ११ राज्यमा छापा हानी पक्राउ गरिएको हो। सो कारबाहीमा तीन हजार प्रहरी अधिकारीहरु सहभागी भएका थिए। जसले १३० स्थानमा छापा हानेका थिए। दुई जना व्यक्ति अस्ट्रिया र इटलीमा समेत पक्राउ परेका छन्।
न्यायमन्त्री मार्को बुसम्यानले एउटा ठूलो आतंकवादविरोधी कारबाही चलिरहेको जनाएका छन्।
सरकारी वकिलको कार्यालयका अनुसार यो समूहले हिंसात्मक कू मार्फत सत्ता कब्जा गर्ने योजना नोभेम्बर २०२१ देखि नै बनाएको हो। उनीहरुको केन्द्रीय परिषदको बैठक नियमित बस्ने गर्थ्यो।
जर्मनीमा कसरी शासन चलाउने भन्ने योजना पनि उनीहरुले तयार गरिसकेको जनाइएको छ। बीबीसी
Shares
प्रतिक्रिया