अमेरिकाले इरानविरुद्धको सैन्य अभियानलाई थप तीव्र बनाउँदै लगातार चौथो दिन मंगलबार पनि विभिन्न स्थानमा आक्रमण गरेको छ। साथै इरानी बन्दरगाहतर्फ आउने-जाने जहाजहरू रोक्ने उद्देश्यसहित नौसैनिक नाकाबन्दी पुनः लागु गरेपछि वासिङ्टन र तेहरानबिचको तनाव थप चुलिएको छ।
इरानी पक्षले यस कदमले युद्धविराम तथा शान्ति वार्ताका लागि भएको सहमति समाप्त भएको जनाएको छ।
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान वार्तामा नआए अर्को सातादेखि उसका विद्युत् उत्पादन केन्द्र र रणनीतिक पुलहरूलाई लक्ष्य गरी आक्रमण अझ विस्तार गरिने चेतावनी दिएका छन्।
फक्स न्युजसँगको अन्तर्वार्तामा उनले इरान वार्तामा सहमत नभएसम्म ऊर्जा पूर्वाधार र पुलहरू निष्क्रिय बनाउने अभियान जारी रहने बताएका हुन्।
यसअघि हर्मुज जलघाँटी हुँदै आवतजावत गर्ने जहाजमा २० प्रतिशत शुल्क लगाउने घोषणा भने उनले २४ घण्टा नबित्दै फिर्ता लिएका छन्।
अमेरिकी सेनाको सेन्ट्रल कमान्ड (सेन्टकम) ले पछिल्लो आक्रमणको उद्देश्य हर्मुज जलघाँटीमा व्यावसायिक जहाजमा आक्रमण गर्न प्रयोग हुने इरानी सैन्य क्षमता कमजोर पार्नु रहेको जनाएको छ।
सेन्टकमका अनुसार गत साताभित्र इरानले सातवटा व्यापारिक जहाजमा आक्रमण गर्दा चालकदलका झन्डै १२ सदस्यको मृत्यु, बेपत्ता वा घाइते भएका छन्।
निर्दोष नागरिकको ज्यान जोखिममा पार्ने गतिविधि नगर्न इरानलाई चेतावनी दिइएको सेन्टकमका प्रमुख एडमिरल ब्राड कुपरले बताए।
इरानका सरकारी सञ्चारमाध्यमले बन्दर अब्बास, हर्मुज नजिकको केसम टापु तथा अन्य स्थानमा विस्फोट भएको जनाएका छन्।
स्थानीय अधिकारीहरूका अनुसार अमेरिकाको आक्रमण बुसेहर प्रान्तका विभिन्न स्थान, त्यहाँ रहेको इरानको एकमात्र नागरिक आणविक विद्युत् केन्द्र तथा इराक र कुवेत सीमावर्ती क्षेत्रमा समेत केन्द्रित थियो।
इरानको सरकारी समाचार एजेन्सी इरनाले त्यसको प्रत्युत्तरमा इरानी सेनाले जोर्डनस्थित अमेरिकी लडाकु विमान रहेको सैन्य अड्डामा ड्रोन आक्रमण गरेको जनाएको छ।
इरानको रिभोलुसनरी गार्ड्सले बहराइनमा अमेरिकाका सैन्य सुविधा र आवासीय संरचनालाई निसाना बनाई मिसाइल र ड्रोन प्रहार गरिएको दाबी पनि गरेको छ।
यसैबिच इरानका उपविदेशमन्त्री काजेम गरिबाबादीले अमेरिकाले नाकाबन्दी पुनः लागु गरेपछि द्वन्द्व रोक्न भएको इस्लामाबाद सम्झौता अब सकिएको बताएका छन्।
यसैबिच अन्तर्राष्ट्रिय समुद्री सङ्गठनले हर्मुज जलघाँटीमा दुईवटा जहाजमा भएको आक्रमणमा चालकदलका दुई सदस्यको मृत्यु भएको जनाएको छ।
ओमानको तटनजिक अज्ञात विस्फोटका कारण नर्वेली तेल ट्यांकरमा क्षति भएको एमटीआई नेटवर्कले जनाएको छ भने कुवेतले इरानी क्षेप्यास्त्र र ड्रोन आक्रमणका क्रममा आफ्नो एउटा नौसैनिक जहाजमा प्रहार हुँदा चार सैनिक घाइते भएको जनाएको छ।
ट्रम्पले सोमबार हर्मुज हुँदै आवतजावत गर्ने जहाजसँग २० प्रतिशत शुल्क लिने भनिएकामा यो हटाएर सट्टामा खाडीका साझेदार राष्ट्रहरूसँग व्यापार तथा लगानी सम्झौता गर्ने निर्णय गरिएको बताएका छन्।
ती सम्झौतामार्फत अमेरिकी अर्थतन्त्रमा थप लगानी भित्र्याइने उनको भनाइ छ।
इरानी सञ्चारमाध्यम र सरकारी विवरणका आधारमा एएफपीले संकलन गरेको तथ्यांकअनुसार गत सातादेखि जारी अमेरिकाको आक्रमणमा इरानमा कम्तीमा २८ जनाको मृत्यु भइसकेको छ।
तनाव क्षेत्रीय रूपमा फैलिँदै जाँदा बहराइनले इरानबाट प्रहार गरिएका धेरैवटा हवाई प्रहार निष्क्रिय बनाइएको दाबी गरेको छ भने जोर्डनले पनि इरानबाट प्रहार गरिएका चारवटा क्षेप्यास्त्र खसालिएको जनाएको छ।
यता इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले इरानले आफ्नो देशमा आक्रमण गरे कडा प्रतिकार गरिने चेतावनी दिएका छन्।
दक्षिणी सहर डिमोनाबाट सम्बोधन गर्दै उनले इजरायलमा हुने कुनै पनि आक्रमणको निर्णायक जवाफ दिइने र विगतजस्तो मौन नबस्ने बताएका हुन्।
Shares

प्रतिक्रिया