युक्रेनमा रूसको आक्रमणपछि अहिलेसम्म करिब १३ हजार युक्रेनी सैनिकको ज्यान गइसकेको छ। युक्रेनका एक अधिकारीले यस कुराको पुष्टि गरेका छन्।
युक्रेनी राष्ट्रपति भोलोदिमीर जेलेन्स्कीका सलाहकार मिखाइलो पोदोल्याकका अनुसार युद्धमा अहिलेसम्म १० हजारदेखि १३ हजार सैनिक मारिएका हुन्।
रसियाले आक्रमण गरेयता यसरी युक्रेनले सैनिकहरु मारिएको सूचना विरलै दिने गरेको छ। पोदोल्याकको यस भनाइको अन्य सैन्य अधिकारीहरुले पुष्टि भने गरेका छैनन्।
उनले जुन महिनामा हरेक दिन १०० देखि २०० सैनिकको मृत्यु हुने गरेको पनि खुलाएका छन्।
गत महिना अमेरिकाका एक सर्वोच्च सैन्य अधिकारी मार्क मिलीले युद्ध शुरू भएपछि युक्रेनका करिब एक लाख र रूसका पनि त्यतिकै संख्यामा सैनिक घाइते भएको वा मारिएको बताएका थिए।
युरोपीय कमिशनकी प्रमुख उर्सुला फन देर लेयनले बुधवार एक भिडिओ सम्बोधनमा यो युद्धमा युक्रेनका करिब एक लाख सैनिक मारिएको बताएकी थिइन्।
तर त्यसपछि ईयू कमिशनका प्रवक्ताले यो गल्तीले बोलेको भन्दै बचाउ गरेका थिए। उनले खासमा घाइते र मारिनेको संख्या जोडेर यति पुगेको बताएका छन्।
युक्रेनी टिभी च्यानल २४ मा पोदोल्याकले भने, 'मारिनेको संख्याबारे खुलेर कुरा गरिरहेका छौँ। हामीले कयौँ तहमा औपचारिक रुपमा जानकारी जुटाएका छौँ। यस अनुसार मारिने सैनिक १० देखि १३ हजार पुगेका छन्।'
उनले युद्धमा मारिएका आम नागरिकको संख्या पनि धेरै हुन सक्ने बताएका छन्। बीबीसी न्युजले आफ्नो एक रिपोर्टमा जुन महिनाको मध्यसम्म करिब ३६ सय आमनागरिक मारिएको जनाएको थियो।
मिखाइल पोदोल्याकले २४ फेब्रुअरीमा युक्रेनमाथि हमला गरिएपछि रूसका पनि करिब एक लाख सैनिक मारिएको दाबी गरे। अर्कातिर एकदेखि डेढ लाख सैनिक घाइते या बेपत्ता भएका छन्। कयौँ फेरि युद्धमा नफर्किने अवस्थामा छन्।
बीबीसीको रूसी सेवाकाअनुसार युद्धमा रूसका सबै दर्जाका करिब ९ हजार ३११ सैनिक मारिएका छन्। वास्तविक संख्या १८ हजार ६०० माथि पनि पुग्न सक्ने अनुमान छ।
प्रतिक्रिया