ग्लोबल


प्रेसमा सूचना चुहाएको भन्दै सीले क्यानडाका प्रधानमन्त्रीलाई हप्काए (भिडिओ)

प्रेसमा सूचना चुहाएको भन्दै सीले क्यानडाका प्रधानमन्त्रीलाई हप्काए (भिडिओ)

नेपालखबर
कात्तिक ३०, २०७९ बुधबार २०:२५, काठमाडौँ

आफूहरुबीच भएको गोप्य कुराकानीको सूचना प्रेसमा चुहाएको भन्दै चिनियाँ राष्ट्रपति सी चिनफिङले क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोलाई हप्काएका छन्।

जी २० शिखर सम्मेलनका लागि इन्डोनेसियाको बालीमा भेला भएका उनीहरुबीच मंगलबार भेटवार्ता भएको थियो। 

सो भेटवार्तापछि क्यानडाको नेसनल पोस्ट नामक पत्रिकाले सरकारी स्रोतलाई उधृत गर्दै सीसँगको छलफलमा ट्रुडोले क्यानडाको आन्तरिक मामिलामा चिनियाँ हस्तक्षेपबारे कुरा उठाएको उल्लेख गरेको थियो।

२०१९ को आम चुनावमा चीनले हस्तक्षेप गरेको शंका क्यानडेली गुप्तचर अधिकारीहरुले गरेको भन्दै द ग्लोबल न्युज नामक पत्रिकाले नोभेम्बर ७ का दिन एक रिपोर्ट पनि प्रकाशित गरेको थियो।

सञ्चारमाध्यममा सो कुरा चुहिएपछि सीले ट्रुडोसँग कडा शब्दमा असन्तुष्टि व्यक्त गरेका हुन्।

‘हामीले छलफल गरेको सबै कुरा पत्रिकामा चुहियो। यो ठिक भएन। हाम्रो कुराकानी त्यसरी भएको थिएन नि, होइन त?’ सीले दोभाषेमार्फत ट्रुडोलाई भने।

‘तपाईं इमानदार हुनुहुन्छ भने एकअर्कासँग हामीले सम्मानपूर्वक कुरा गर्नुपर्यो। होइन भने के हुन्छ, म यसै भन्न सक्दिनँ,’ सीले थपे।

जवाफमा ट्रुडोले भने, ‘क्यानडामा हामी खुला र स्पष्ट संवादमा विश्वास गर्छौँ। र, त्यसलाई हामी निरन्तरता दिनेछौँ। हामी मिलेर रचनात्मक रुपमा काम गर्ने कोसिसमा हुनेछौँ तर हामी कयौँ विषयमा असहमत पनि हुनेछौँ।’

सीले ट्रुडोको तर्क खारेज गर्दै भने, ‘पहिले त्यो स्थिति चाहिँ तयार पारौँ न।’

त्यसपछि उनी ट्रुडोसँग हात मिलाएर छुटे।

यो दृश्य ट्रुडोको साथमा गएका पत्रकारहरुले खिचेर ट्विटरमा पोस्ट गरेका छन्।

करिब तीन वर्षपछि सी र ट्रुडोबीच भेट भएको हो। २०१८ मा अमेरिकाको आग्रहमा क्यानडाले ह्वावेकी कार्यकारी मेङ वानचाउलाई पक्राउ गरेपछि चीन र क्यानडाबीच तिक्तता बढेको थियो।

बदलामा चीनले दुई क्यानडेली नागरिकलाई जासुसीको आरोपमा समातेको थियो।

पछि क्यानडाले मेङलाई छाडेपछि ती दुई व्यक्तिलाई पनि रिहा गरिएको थियो। ब्लुमवर्ग

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad