ग्लोबल


सेनाको चर्को निन्दा गरिरहेका इमरान खानमाथि किन भयो गोली प्रहार?

गोली हान्ने व्यक्ति भन्छन् : म उनलाई मार्न चाहन्थेँ
सेनाको चर्को निन्दा गरिरहेका इमरान खानमाथि किन भयो गोली प्रहार?

नेपालखबर
कात्तिक १८, २०७९ शुक्रबार १८:४, काठमाडौँ

बिहीबार पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानमाथि गोली प्रहार भयो। उनको गोडामा गोली लागेको छ। उनको हत्याप्रयासको आरोपमा पक्राउ परेका व्यक्तिले खानले जनतालाई ‘भ्रमित तुल्याएकाले’ उनलाई मार्ने उदेश्यले आफूले गोली हानेको बयान दिएका छन्।

‘उनी जनतालाई भ्रमित तुल्याइरहेका थिए। म उनलाई मार्न चाहन्थेँ। मैले उनलाई मार्ने कोसिस गरेँ,’ उनले भनेका छन्।

प्रहरीले सार्वजनिक गरेको साबिती बयानको भिडिओमा ती व्यक्तिले यस्तो बताएका हुन्। तर, प्रहरीले कस्तो अवस्थामा उनीमाथि सोधपुछ गरेको थियो भन्ने स्पष्ट छैन।

खान भने जनता आफ्नो पक्षमा रहेको बताउँछन्। गोली लाग्दा पनि उनी राजधानी इस्लामावादसम्मको विरोध यात्राको नेतृत्व गरिरहेका थिए।

‘संस्थापन हामीविरुद्ध छ,’ उनले मंगलबार भनेका थिए।

सत्ताबाट खानलाई च्यूत गरिएपछि उनको राजनीतिक पुनरागमनले पाकिस्तानको राजनीतिलाई तरंगित तुल्याएको छ। उनको हत्याप्रयासको स्थिति कसरी आइपुग्यो त?

सेनासँगको सम्बन्धमा दरार र सत्ताच्यूत
जुलाई २०१८ मा खान प्रधानमन्त्री निर्वाचित भएका थिए। सत्तामा सेनाको हालीमुहाली चल्ने पाकिस्तान लामो समयदेखि भ्रष्टाचार र अस्थिरताको दलदलमा थियो। खानले भ्रष्टाचार समाप्त पारेर अर्थतन्त्रलाई गति दिने बाचा गरे।

उनलाई व्यापक जनसमर्थन थियो। साथै, गुप्त रुपमा सेनाको पनि समर्थन थियो, जसलाई उनले ‘संस्थापन’ भनेका थिए।

‘उनलाई बनाएकै सेनाले हो। उनलाई सत्तामा पुर्याएको उनीहरुले नै हो,’ खानको पार्टी छाडेका एक व्यक्तिले केही समयअघि भनेका थिए।

तर, पाकिस्तानमा बढ्दो मुद्रास्फिति र चुलिँदो वैदेशिक ऋणका माझमा खानप्रतिको जनसमर्थन कम हुन थाल्यो। अर्थतन्त्रलाई सम्हाल्न नसकेको आरोप उनीमाथि लाग्न थाल्यो।

त्यसपछि सेनासँगको उनको सम्बन्ध चिसिन थालेका समाचार बाहिरिए। गत वर्षको अक्टोबरमा पाकिस्तानको एक गुप्तचर निकायको नयाँ प्रमुखको नियुक्तिमा खानले हस्ताक्षर गर्न नमानेको कारण सम्बन्धमा दरार पैदा भएको चर्चा चल्यो।

विपक्षीहरुले यो मौकाको फाइदा उठाए। मार्च २०२२ मा उनको पक्षका सांसदहरु पालैपालै विपक्षीतर्फ लागे र उनले बहुमत गुमाए। विपक्षीले उनीविरुद्ध अविश्वासको प्रस्ताव ल्यायो। त्यसपछि खानले संसद् विघटन गरी निर्वाचन घोषणा गरेर विपक्षीको चाललाई असफल पार्ने प्रयास गरे। तर, सर्वोच्च अदालतले यो संविधानको उल्लंघन भएको भन्दै संसद् पुनर्स्थापना गरिदियो। गत अप्रिलमा खान अपदस्थ भए।

सेनाको चर्को आलोचना
तर, पदबाट हटेपछि उनी चुपचाप बसेनन्।

उनले सेना र सरकारविरुद्ध चर्काचर्का अभिव्यक्ति दिन थाले। तुरुन्त नयाँ चुनाव गराउनुपर्ने उनको माग छ।

जुलाईमा खानको पार्टी तहरीक ए इन्साफ (पीटीआई) ले प्रधानमन्त्री सहबाज सरिफको पार्टीलाई हराउँदै पञ्जाबको प्रान्तीय विधानसभाको चुनाव जित्यो। जसले उनका विपक्षीहरु चकित परे।

चाँडै चुनाव भए यस्तै नतिजा आउने अनुमान धेरैले गर्न थाले।

अक्टोबरमा अचानक पाकिस्तानको निर्वाचन आयोगले खानलाई सार्वजनिक पद धारण गर्न अयोग्य रहेको घोषणा गर्यो। विदेशी पाहुनाबाट प्राप्त उपहारहरुको विवरण ठिकसँग घोषणा नगरेको र त्यसलाई बेचेको आरोप आयोगले लगाएको थियो। ती उपहारहरुमा रोलेक्स घडी, औँठीजस्ता सामग्री थिए। 

आयोगको निर्णय राजनीतिक प्रतिशोध भएको भन्दै खानले आफ्ना समर्थकहरुको भेला थाले। सरकारलाई चुनावका लागि दबाब दिन उनले लङ मार्च उनले सुरु गरे। ११ नोभेम्बरका दिन सो मार्च राजधानी पुग्ने अपेक्षा गरिएको थियो।

मार्चका क्रममा उनी मोटरसाइकल र भ्यानहरुको ताँतीमा एउटा खुला ट्रकमा चढेर जम्मा भएको भीडलाई सम्बोधन गर्दै हिँडिरहेका थिए।

‘६ महिनायता म यो देशमा भइरहेको क्रान्तिको साक्षी बनेको छु,’ खानले यसैसाता ट्विटरमा लेखेका थिए, ‘प्रश्न के मात्र हो भने त्यो क्रान्ति मतपेटिकाको माध्यमबाट शान्तिपूर्वक होला कि रक्तपातका माध्यमबाट विनाशकारी रुपमा होला?’

बिहीबार उनी सवार ट्रकमै खानमाथि गोली प्रहार भयो।

कसरी भयो आक्रमण?
बिहीबार उनको मार्च वजिरावाद पुगेको थियो। जहाँ उनको भाषण सुन्न भीड जम्मा भएको थियो। उनी आफ्ना सहयोगी तथा पार्टीका अन्य सदस्यहरुको साथमा खुला ट्रकमा उभिएका थिए। त्यहीबेला गोली चल्यो।

‘अचानक गोली चल्यो। के भएको हो भनेर बुझ्न मलाई केही समय लाग्यो,’ पार्टीका एक कार्यकर्ता मुइजुद्दिनले भने। 

तर, अग्लो स्थानबाट उनीहरु आक्रमणकारीलाई देख्न सक्थे।

‘हामीले आक्रमणकारीलाई देख्यौँ। उसले एउटा पुरै म्यागेजिन खाली गरिसकेको थियो, र अर्को म्यागेजिन लोड गरेको थियो। त्यतिबेला एक युवाले उसलाई पछाडिबाट समाते,’ मुइजुद्दिनले भने।

सामाजिक सञ्जालमा भाइरल भएको भिडिओमा एक आक्रमणकारीले भीडबाट पेस्तोल ताक्दै गरेको र उसलाई खानका समर्थकहरुले तान्दै गरेको देखिन्छ।

घटनाको भिडिओ र साक्षीहरुका अनुसार ट्रकमाथिबाट सुरक्षाकर्मीले पनि गोली चलाएको देखिन्छ।

पहिलो गोली चल्नेबित्तिकै वरिपरि रहेकाहरुले खानलाई छेकेको र गोली लागेपछि पनि खान शान्त बसेको मुइजुद्दिनले बताए। खानलाई तत्काल अंगरक्षकहरुले प्राथमिक उपचार गरेर बुलेटप्रुफ कारमा लगेका थिए। त्यसपछि उनलाई लाहौरस्थित अस्पताल लगिएको थियो।

पञ्जाबका मुख्यमन्त्री परवेज इलाहीले एकभन्दा बढी आक्रमण रहेको हुनसक्ने बताए। ‘किनभने उहाँको खुट्टामा अगाडिपट्टिबाट गोली लागेको छ। जबकि पक्राउ परेको आक्रमणकारी दायँपट्टि थियो,’ उनले भनेका छन्।

दोषारोपण
गोली प्रहारलगत्तै आफूमाथिको आक्रमणमा प्रधानमन्त्री सरिफ, गृहमन्त्री र सेनाका जर्नेलहरुको हात रहेको खानको विश्वास रहेको उनका केही सहयोगीले सञ्चारमाध्यममा बताए।

खानका प्रवक्ता रउफ हसनले सरकार खानलाई शारीरिक रुपले सिध्याउन लागिपरेको बताए।

पाकिस्तानका नेताहरुले सो आरोपबारे मुख खोलेका छैनन्।

विश्वभरका नेताहरुले खानमाथिको आक्रमणको निन्दा गरेका छन्।

आर्थिक संकट र यो वर्ष भीषण बाढीपहिरो झेलेको पाकिस्तानमा विगतमा पनि पटकपटक राजनीतिक हिंसा हुने गरेका छन्। २००७ मा पूर्वप्रधानमन्त्री बेनजिर भुट्टोको हत्या भएको थियो।

लडाइँ जारी राख्ने समर्थकहरुको बाचा
खानको अवस्था अहिले स्थिर रहेको बताइएको छ। उनको दायाँ पिँडुलामा गोली लागेको छ।

खानको पछाडि उभिएका पूर्वसूचनामन्त्री फवाद चौधरीले जनाएअनुसार समर्थकहरुले आक्रमणकारीबाट बन्दुक खोस्ने प्रयास गरेका थिए। 

‘धक्कामुक्कीका बीचमा उसको निसाना चुक्यो,’ उनले भने।

प्रधानमन्त्री सरिफले तत्काल छानबिनको आदेश दिएका छन्। तर, खानका प्रवक्ता रउफ हसनले यो आक्रमणमा सरकार प्रत्यक्ष रुपमा सामेल भएको आरोप लगाएका छन्। आक्रमणकारीको साबिती बयानको भिडिओ ढाकछोपको प्रयास मात्र भएको उनको आरोप छ।

खानको पार्टी पीटीआईले शुक्रबारको नमाजपछि देशव्यापी विरोध प्रदर्शनको आह्वान गरेको छ। केही स्थानमा यसअघि नै प्रदर्शन सुरु भइसकेका छन्। डन न्युजले सैन्य अधिकारीहरुको निवासबाहिर सयौँ प्रदर्शनकारी भेला भएको भिडिओ देखाएको छ।

‘यो घटनाको स्वतन्त्र र निष्पक्ष छानबिनको माग गर्छौं। दोषी जोसुकै भए पनि उमाथि कारबाही हुनुपर्छ,’ एक प्रदर्शनकारीले भनेका छन्।

अर्का प्रदर्शनकारीले खानको यो मार्चलाई इस्लामावाद पुर्याएरै छाड्ने बताए। बीबीसी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad