बलात्कार मुद्दामा पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालत काठमाडौंको आदेशविरुद्ध क्रिकेटर सन्दीप लामिछाने उच्च अदालत जाने भएका छन्।
जिल्लाको आदेशपछि केन्द्रीय कारागार सुन्धारामा चलान भएका सन्दीपले आइतवारबाट पुनरावेदन प्रक्रिया अघि बढाउने बताएका छन्।
आइतवार जिल्लाबाट जारी आदेशको पूर्णपाठ बुझेपछि पुनरावेदनमा जाने तयारी भएको सन्दीपका एक वकिलले बताएका छन्।
'पुर्पक्षका लागि बाहिरै बसेर पाउनुपर्ने मागसहित उच्च जाने तयारी भएको छ', ती वकिलले भने, 'आइतवार आदेशको पूर्णपाठ बुझिसकेपछि प्रक्रियामा जान्छौँ।'
शुक्रबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेले सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएका थिए।
गत मंगलबारदेखि जारी निरन्तर सुनुवाइको क्रममा शुक्रबार पीडितको पक्षबाट जवाफी बहस सकिएसँगै जिल्ला न्यायाधीश माधवप्रसाद घिमिरेले सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएका हुन्।
थुनछेकको बहसका क्रममा सन्दीपका वकिलहरुले नाबालिग भनिएकी किशोरीको उमेर १८ वर्ष ३ महिना भइसकेकाले अभियोग नै गलत भएको तर्क गरे पनि अदालतले फैसला नहुन्जेल सन्दीपका लागि जेलको बाटो देखाएको हो।
Shares

प्रतिक्रिया