चिनियाँ कम्युनिस्ट पार्टीले सेनाको शीर्ष नेतृत्वमा व्यापक हेरफेर गरेको छ। जसले आउने पाँच वर्ष र त्यसपछि पनि चीनको मुख्य ध्यान ताइवानमा केन्द्रित हुने स्पष्ट संकेत गरेको छ।
सीको अध्यक्षतामा रहेको शक्तिशाली केन्द्रीय सैन्य आयोगका प्रथम उपाध्यक्ष ७२ वर्षीय जर्नेल चाङ युसिया बनेका छन्। जो भियतनाम युद्धका अनुभवी पनि हुन्।
आयोगको दोस्रो उपाध्यक्षमा जर्नेल ही वाइतङ नियुक्त भएका छन्। जसले चीनको पूर्वी सैन्य जिल्लाहरुको लामो समय नेतृत्व गरेका थिए।
सीले २०२७ लाई जनमुक्ति सेनाको आधुनिकीकरणको रणनीतिमा कोशेढुंगो मानेका छन्। अमेरिकी रक्षा मन्त्रालयले गत वर्ष आधुनिकीकरणको लक्ष्यले ‘चीनलाई ताइवानसम्बन्धी आकस्मिकतामा विश्वसनीय सैन्य विकल्प प्रदान गर्ने’ जनाएको थियो।
तर, चीनले यही वर्ष ताइवानमाथि आक्रमण गर्नसक्ने भविष्यवाणी अमेरिकी नौसेनाका प्रमुख एड्मिरल माइकल गिल्डेले गत साता गरेका थिए।
आयोगको दोस्रो उपाध्यक्ष बनेका ही एक दशकभन्दा केही लामो समयमै उच्च पदमा पुगेका हुन्। २००८ मा उनी फुचियानमा अवस्थित दुई तारे जर्नेल (मेजर जनरल) मात्र थिए। त्यसको पाँच वर्षपछि उनी चियाङसु प्रान्तको सैन्य कमान्डर बने।
२०१७ मा उनी तीन तारे जर्नेल (लेफ्टिनेन्ट जनरल) बने। २०१९ मा उनलाई चार तारे जर्नेलमा बढुवा गरियो र पूर्वी थिएटर कमान्डको जिम्मा दिइयो। सो कमान्डको जिम्मेवारीभित्रै ताइवान र पूर्वी चीन सागर पनि पर्छ।
२०१७ मा उनी केन्द्रीय समिति सदस्य पनि थिएनन्। तर, आइतबार सार्वजनिक सूचीअनुसार ही एकै पटक २४ सदस्यीय पोलिट्ब्युरोमा समेटिएका छन्।
अमेरिकी सभामुख न्यान्सी पेलोसी ताइवान भ्रमण गरेपछि त्यसको विरोधमा चीनले ताइवान घेरेर गरेको आक्रामक युद्धाभ्यासको योजनाकार ही नै भएको बताइन्छ।
फुचियानमा बलियो सम्बन्ध भएका जर्नेल हीको बढुवाले जनमुक्ति सेनाले ‘ताइवानविरुद्धको सैन्य संघर्षको तयारीलाई सुदृढ बनाइरहेको’ हङकङस्थित सैन्य विश्लेषक सोङ चोङपिनले टिप्पणी गरे।
नेसनल युनिभर्सिटी अफ सिंगापुरका अध्येता ली नान ताइवानसँग जुध्नुपर्नेलगायत कारणले हीलाई उपाध्यक्षमा बढुवा गरिएको हो।
‘ताइवान जित्नका लागि फुचियान सधैँ अग्रमोर्चाको प्रान्त रहँदै आएको छ,’ उनले भने।
ताइवानसम्बन्धी बलियो पृष्ठभूमि भएको सीएमसीका अर्का सदस्य हुन् ६६ वर्षीय एड्मिरल मियाओ हुवा। उनी १९९९ मा ३१औँ ग्रुप आर्मीका राजनीतिक निर्देशक थिए।
सीएमसीको राजनीतिक विभाग प्रमुख मियाओ २०१४ देखि २०१७ सम्म नौसेनाको राजनीतिक कमिसार थिए।
पहिलो उपाध्यक्ष बनेका ७२ वर्षीय चाङको बढुवामा परम्परा तोडिएको छ। ६८ पुगेपछि केन्द्रीय सदस्यबाट अवकाश हुने परम्परा तोड्दै उनी सेवामा कायम रहेका हुन्।
राष्ट्रपति सीले २०१५ मा सुरु गरेको सेनाको आधुनिकीकरणमा चाङको भूमिका अत्यन्त महत्वपूर्ण रहँदै आएको छ। उनी सीका निकटस्थ पनि मानिन्छन्।
‘तुलनात्मक रुपले भन्नुपर्दा उमेरबाहेक चाङ युसिया अत्यन्त योग्य हुन्,’ लीले भने।
हङकङस्थित सैन्य विश्लेषक लियाङ कुओलियाङका अनुसार चाङ युसियाले भियतनामसँगको युद्धका एक नायक जर्नेल लिउ चेन्लीलाई सीएमसीमा उत्तराधिकारी बनाउनेछन्।
लिउ चेन्ली र जर्नेल ली साङ्फु आइतबार सीएमसीमा बढुवा भएका हुन्। जहाँ मियाओ र पहिलेदेखि नै सदस्य रहेका जर्नेल चाङ सेङमिनका साथ उनीहरुले काम गर्नेछन्।
सीएमसीका पूर्वउपाध्यक्ष जर्नेल सु चिलियाङ, रक्षामन्त्री जर्नेल वेइ फेङहे र जोइन्ट स्टाफ डिपार्टमेन्ट चिफ जर्नेल ली चुओचेङले सीएमसीबाट अवकाश पाएका छन्।
नयाँ सदस्यमध्ये लिउ मात्र युद्धको अनुभव भएका जर्नेल हुन्। जसले गर्दा उनी अर्को कार्यकालमा उपाध्यक्ष बन्ने सम्भावना ज्यादा छ। ६४ वर्षका ली साङ्फु मार्चमा रक्षामन्त्री बन्ने देखिन्छ।
२०१९ मा चारतारे जर्नेल बनेका लीलाई अमेरिकाले रुसी लडाकु विमान र क्षेप्यास्त्र किनेको भन्दै प्रतिबन्ध लगाएको छ। किनभने उनी सीएमसीको औजार विकास विभागका प्रमुख थिए।
उनी रक्षामन्त्री भए अमेरिकी र चिनियाँ रक्षामन्त्रीबीच सम्बन्ध नरहने सम्भावना देखिएको विश्लेषक लियाङ बताउँछन्।
‘ली रक्षामन्त्री बने भने अमेरिकाले चीन–अमेरिका हटलाइनको फोन उठाउला? कि अमेरिकाले उनीमाथिको प्रतिबन्ध हटाउला? सीएमसीको प्रबन्ध रोचक छ,’ उनले भने।
ली नान भने ली साङ्फु रक्षामन्त्रीका लागि गतिलो उम्मेदवार भएको बताउँछन्। किनभने उनी टेक्नोक्र्याट हुन र एरोस्पेस प्रविधिमा उनको विज्ञता छ।
‘अमेरिकाले उनलाई प्रतिबन्ध लगाएको हुनसक्छ। तर, त्यसले उनलाई कूटनीतिज्ञ बन्न रोक्दैन,’ उनले भने, ‘उनलाई अमेरिका जानुपर्ने आवश्यकता पर्यो भने अमेरिकी सरकारले उनलाई अपवादका रुपमा स्वागत गर्न सक्छ।’ एससीएमपी
Shares

प्रतिक्रिया