ad ad

ग्लोबल


बेलायतको प्रधानमन्त्री बन्ने भए भारतीय मूलका करोडपति ऋषि सुनाक

बेलायतको प्रधानमन्त्री बन्ने भए भारतीय मूलका करोडपति ऋषि सुनाक

नेपालखबर
कात्तिक ७, २०७९ सोमबार १८:५०, काठमाडौँ

बेलायतमा ऋषि सुनाक प्रधानमन्त्री बन्ने निश्चित भएको छ। कन्जरभेटिव पार्टीको संसदीय दलको नेता बन्न खोजेकी सांसद पेनी मोर्डन्टले अन्तिम समयसम्म पनि आवश्यक एक सय सांसदको समर्थन जुटाउन नसकेपछि उनी पछि हटेकी छन्। उनले सुनाकलाई नै समर्थन गर्ने भएकी छन्। 

यससँगै सुनाक बेलायतको पहिलो एसियाली मूलका प्रधानमन्त्री बन्ने भएका हुन्। सात हप्ताअघि मात्र दलको चुनावमा उनी लिज ट्रससँग पराजित भएका थिए। तर, लिजको सरकार डेढ महिनामै ढलेपछि प्रधानमन्त्री बन्ने मौका दोहोर्याएर सुनाकले पाएका हुन्।

सुनाक औपचारिक रुपमा आइतबार प्रधानमन्त्री नियुक्त हुनसक्ने बताइएको छ।

को हुन् सुनाक?
सुनाक २०२० देखि जुलाई २०२२ सम्म बेलायतको अर्थमन्त्री थिए। २०१५ मा रिचमन्डबाट सांसद चुनिएपछि उनको राजनीतिक करिअरले तीव्र गतिमा उचाइ लिएको थियो। 

सुनाक १९८० मा साउथह्याम्पटनमा जन्मिएका हुन्। भारतीय मूलका उनका बुबाआमा पूर्वी अफ्रिकाबाट बेलायत सरेका थिए। उनका बुबा जनरल फिजिसियन थिए भने आमा आफ्नै फार्मेसी चलाउँथिन्।

उनले विन्चेस्टर कलेज नामक निजी बोर्डिङ स्कुलमा पढेका थिए। त्यसपछि अक्सफोर्ड युनिभर्सिटी र स्ट्यानफोर्ड युनभर्सिटी, क्यालिफोर्नियामा पनि अध्ययन गरे।

अमेरिकामै उनले पत्नी अक्षता मूर्तिलाई भेटे। जो भारतीय अर्बपति तथा आईटी टाइकुन नारायण मूर्तिकी छोरी हुन्। २००९ मा उनीहरुले बिहे गरे। हाल उनीहरुका दुई छोरी छन्।

सुनाकले आफ्नो सम्पत्ति कति छ भनेर अहिलेसम्म सार्वजनिक गरेका छैनन्। तर, राजनीतिमा आउनुअघि वित्तीय क्षेत्रमा काम गरेर उनी करोडपति बनेका थिए। 

यो वर्ष सुनाक र उनको परिवारको सम्पत्तिलाई लिएर चर्को विवाद भएको थियो। उनकी पत्नीले कर नतिरेको आरोप लागेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .