ग्लोबल


सीले यसपालि पनि तोकेनन् आफ्नो उत्तराधिकारी

शक्ति केन्द्रीकृत राख्ने जुक्ति कि अझै लामो समय शासन गर्ने सीको महत्वाकांक्षा?
सीले यसपालि पनि तोकेनन् आफ्नो उत्तराधिकारी

नेपालखबर
कात्तिक ७, २०७९ सोमबार १५:१४, काठमाडौँ

अबको पाँच वर्ष चीनको शासन चलाउने नेताहरुको नाम त आइतबार चिनियाँ कम्युनिस्ट पार्टीको स्थायी समितिसँगै सार्वजनिक भयो। तर, एउटा प्रश्न भने अझै अनुत्तरित छ– सी चिनफिङको उत्तराधिकारी को होला?

पार्टी महासचिवका रुपमा तेस्रो कार्यकाल सुरु गरेका सीले आफ्नो पहिलो कार्यकालको अन्त्यमा २०१७ मा उत्तराधिकारी तोकेका थिएनन्। 

त्यसविपरीत २००७ मा जब सीलाई स्थायी समितिमा बढुवा गरिएको थियो, तब पाँच वर्षपछि हु चिन्ताओको उत्तराधिकारी उनी नै बन्ने स्पष्टप्रायः थियो। हु पनि महासचिव बन्नुअघि दुई कार्यकाल स्थायी समिति सदस्य रहिसकेका थिए। तर, यसपटक सीले आफ्नो उत्तराधिकारी तोक्ने काम गरेका छैनन्।

‘आधिकारिक रुपमा ठोकुवा गर्न नसकिए पनि स्थायी समितिको सबैभन्दा कान्छो सदस्यलाई सम्भावित उत्तराधिकारीका रुपमा लिइने गरिन्छ,’ नेसनल युनिभर्सिटी अफ सिंगापुरस्थित इस्ट एसियन इन्स्टिच्युटका सहायक निर्देशक चेन काङ भन्छन्।

‘त्यतिबेला हुले पाँच वर्षपछि अवकाश लिनेछन् भन्ने सबैलाई थाहा थियो। तर, अहिले हामीलाई थाहा छ, सीले लामो समय शासन चलाउनेछन्। दृश्य पुरै फरक छ। तपाईं स्थायी समितिको कुनै एक सदस्यलाई सम्भावित उत्तराधिकारी मान्न सक्नुहुन्छ, तर त्यो आधिकारिक हुँदैन,’ उनले भने।

सरकारी समाचार संस्था सिन्ह्वाका अनुसार सीपछिको वरीयतामा अहिले ली चियाङ, ६३, छन्। जो मार्चमा प्रधानमन्त्री बन्ने सम्भावना छ। त्यसपछि चाओ लेची, ६५, वाङ हुनिङ, ६७, काइ ची, ६६, तिङ सुइसियाङ, ६०, र ली सी, ६६ छन्।

शक्ति बाँडफाँटलाई सीमित तुल्याउन र सीको शक्तिलाई कमजोर हुन नदिन उत्तराधिकारी नतोक्ने रणनीति अपनाइएको हुनसक्ने विश्लेषकहरु बताउँछन्। तर, यो अझै लामो समय शासन गर्ने सीको महत्वाकांक्षाको संकेत पनि हुनसक्छ।

बोस्टन युनिभर्सिटीको पार्दी स्कुलस्थित अन्तर्राष्ट्रिय सम्बन्ध तथा राजनीतिशास्त्र विषयका प्राध्यापक जोसेफ फ्युस्मिथ भन्छन्, ‘सीले पक्का पनि चार कार्यकाल ताकेका छन्।’ 

चीनमा नेतृत्व परिवर्तनको स्पष्ट नियम छैन। बरु अलिखित मान्यताहरुका आधारमा यो काम हुँदै आएको छ।

सन् २००२ मा ‘सात माथि, आठ तल’ अर्थात् ६७ वर्ष पुगेका स्थायी समिति सदस्य बढुवा हुने र ६८ पुगेकाहरुले अवकाश लिने प्रथा लागू गरिएको थियो। सीले ६९ वर्षको उमेरमा आफ्नो तेस्रो कार्यकाल सुरु गर्दैछन्।

अर्को मान्यता हो, भविष्यमा सर्वोच्च नेता बन्ने व्यक्तिले महासचिव चुनिनुअघि स्थायी समितिमा कम्तीमा एक कार्यकाल बिताएको हुनुपर्छ। 

त्यस्तै, महासचिव हु चिन्ताओ र चियाङ चेमिनले जस्तै दुई कार्यकाल मात्र पदमा बस्ने। 

२०१२ मा पार्टी महासचिव बन्नुअघि सीले पनि स्थायी समितिमा पाँच वर्ष बिताएका थिए। 

शीर्ष पदका लागि उम्मेदवार बन्न पनि उनीहरुले कम्तीमा एउटा प्रान्त चलाएको हुनुपर्छ र बेइजिङमा एउटा महत्वपूर्ण पदमा बसेको हुनुपर्छ। चियाङ, हु र सी तीनै जना यही बाटोबाट नेतृत्वमा पुगेका थिए।

यस हिसाबले नयाँ स्थायी समितिमा रहेका सबैभन्दा कान्छा सदस्य तिङ सुइसियाङको योग्यता सबैभन्दा कमजोर देखिन्छ। उनी कहिल्यै पनि पार्टीको प्रान्तीय सचिव बनेका छैनन्। उनी आगामी मार्चमा कार्यकारी उपप्रधानमन्त्री चुनिन सक्छन्।

यतिखेर सीको उत्तराधिकारीका रुपमा आफूलाई चिनाउने जोखिम कसैले पनि मोल्न नचाहेको राजनीतिशास्त्रीहरुको भनाइ छ।

‘निश्चय नै, सीको सत्तालाई चुनौती दिन कोही पनि चाहँदैन। सायद सी चौथो कार्यकाल र त्यसपछि पनि पदमा रहन चाहलान्,’ युनिभर्सिटी अफ क्यालिफोर्निया सान डिएगोमा चिनियाँ राजनीतिका विज्ञ भिक्टर सिह भन्छन्, ‘हामीले के बिर्सिनु हुँदैन भने उत्तराधिकारीका रुपमा चिनिन पार्टीका कोही पनि चाहँदैन। माओका सुरुवाती तीन उत्तराधिकारीहरु भयानक रुपले मरे र वाङ होङवेन (ग्याङ अफ फोरका सदस्य) ले जिन्दगी जेलमा गुजार्नुपर्यो। त्यस्तो नतिजा कोही पनि चाहँदैन।’

माओको मृत्युपछि छाएको अनिश्चितता फेरि आउन नआओस् भनेरै नियमित पार्टी महाधिवेशन गर्न थालिएको हो। माओका उत्तराधिकारी हुवा कुओफेङलाई तेङ स्यायोपिङ र उनका समर्थकहरुले विस्थापित गरेका थिए।

तेङ पार्टीका सर्वेसर्वा थिए। तर, नामका लागि हु याओपाङ पार्टी प्रमुख थिए। तर, विद्यार्थी आन्दोलनलाई ठिकसँग सम्हाल्न नसकेपछि उनलाई १९८६ मा हटाइयो। उनको ठाउँमा सुधारवादी चाओ चियाङ नियुक्त भए। तर, १९८९ मा तियानमेनमा भएको प्रदर्शनलाई समर्थन गरेपछि उनलाई हटाइयो र चियाङ चेमिन पदमा पुगे। 

उत्तराधिकारी नतोकिँदा तत्काल कुनै असर नपरे पनि भविष्यमा त्यसले अनिश्चितता पैदा गर्ने सिह बताउँछन्। 

‘अहिलेका लागि त्यसको असर केही हुँदैन किनभने पार्टीको प्रमुख को छ भन्ने चीनका हरेकलाई थाहा छ, तर सी बुढो हुँदै जाँदा र खासगरी उनी बिरामी भए भने अनिश्चितता बढ्न पुग्छ,’ सिहले भने। एससीएमपी 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad