अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसले युक्रेनको अस्तित्वको अधिकार नामेट पार्न खोजेको बताएका छन्। संयुक्त राष्ट्रसंघीय महासभालाई सम्बोधन गर्दै बाइडेनले यो एक व्यक्तिको रोजाइको युद्ध भएको बताएका हुन्।
‘खुलेर कुरा गरौँ। संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदको एक स्थायी समिति सदस्यले आफ्नो छिमेकीमाथि आक्रमण गर्यो। एक सार्वभौम मुलुकलाई नक्साबाटै नामेट पार्न खोज्यो,’ बाइडेनले भने, ‘रुसले निर्लज्ज तरिकाले राष्ट्रसंघीय बडापत्रको आधारहरुलाई उल्लंघन गर्यो।’
बुधबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले जगेडा सैनिकहरुलाई युद्धमा परिचालन गर्ने घोषणा गरेका थिए।
‘राष्ट्रपति पुटिनले युरोपविरुद्ध खुल्लमखुल्ला आणविक धम्की दिएका छन्। अहिले रुसले थप सैनिकलाई लडाइँमा सहभागी हुन बोलाउँदैछ र क्रेमलिनले खोसिएका युक्रेनका भूभागमा नक्कली जनमतसंग्रह गराउँदैछ। यो पनि राष्ट्रसंघीय बडापत्रको अत्यन्त महत्वपूर्ण उल्लंघन हो,’ उनले थपे।
यो युद्ध न्यायपूर्ण तरिकाले अन्त्य होस् भन्ने अमेरिकाको चाहना रहेको उनले बताए।
‘युक्रेनको अधिकार पनि हरेक सार्वभौम मुलुकको अधिकार बराबरी नै छ। हामी युक्रेनसँग ऐक्यबद्धतासाथ उभिन्छो भने रुसको आक्रमणको विरुद्धमा,’ बाइडेनले भने।
‘आणविक युद्ध कहिल्यै नहोस्’
अमेरिकी राष्ट्रपति बाइडेनले कसैले जित्न नसक्ने आणविक युद्ध कहिल्यै हुन नहुने बताएका छन्। त्यसैले आणविक निशस्त्रीकरणका उपाय अपनाउन अमेरिका तयार रहेको उनको भनाइ छ।
‘विश्वमा जेसुकै भइरहेको होस्, अमेरिका आणविक हतियार नियन्त्रणको उपाय अघि बढाउन तयार छ,’ उनले भने, ‘आणविक युद्ध कसैले जित्न सक्दैन त्यसैले यो कहिल्यै लडिनु हुँदैन।’
उनले रुसले आणविक निशस्त्रीकरणको लक्ष्य त्याग गरेको आरोप पनि लगाए।
त्यस्तै उनले रुसतिर लक्षित गर्दै कुनै पनि मुलुकले उर्जालाई हतियारका रुपमा प्रयोग गर्न नहुने तर्क गरे। एजेन्सी
Shares

प्रतिक्रिया