ग्लोबल


भारतले गहुँ निर्यातमा प्रतिबन्ध लगाउँदा अम्बानी मालामाल

भारतले गहुँ निर्यातमा प्रतिबन्ध लगाउँदा अम्बानी मालामाल

नेपालखबर
भदौ १६, २०७९ बिहिबार १८:४३, काठमाडौँ

मे १३ को साँझ भारतले अचानक गहुँ निर्यातमा प्रतिबन्ध लगायो। गहुँका क्रेता र बिक्रेता कोही पनि यसका लागि तयार थिएनन्। तर, अर्बपति मुकेश अम्बानीको रिलायन्स इन्डस्ट्रिज भने अपवाद थियो। गहुँ निर्यातमा प्रतिबन्ध लागेपछि अन्नको व्यापारमा प्रवेश गरेको सो कम्पनी यति छिटै भारतको दोस्रो ठूलो गहुँ निर्यातकर्ता बनिसकेको छ। 

गहुँ प्रतिबन्ध लगाएको दिन भारतको वित्त मन्त्रालयले सो मितिअघि बैंक ग्यारेन्टी (एलसी) भएका निर्यातकर्ताले मात्र गहुँ निर्यात गर्न पाउने सर्त राख्यो। यो असामान्य सर्तका कारण भारतका धेरै गहुँ व्यापारीहरुले निर्यात गर्न नपाउने भए। किनभने प्रायः तिनले एलसी प्रयोग गर्दैनथे।

सामान्य व्यापारका लागि एलसी प्रयोग गर्ने सीमित कम्पनीमा भारतको सबैभन्दा ठूलो गहुँ निर्यातकर्ता आईटीसी लिमिटेड थियो। तर, सो कम्पनीलाई पनि धक्का लाग्न पुग्यो। किनभने उसले भविष्यमा गर्ने निर्यातका लागि एलसी प्राप्त गरेकै थिएन।

मे १३ का दिन अर्को एउटा कम्पनीसँग भने एलसी तयार थियो। त्यो कम्पनी थियो– अम्बानीको रिलायन्स रिटेल, जसले मे १२ का दिन कम्तीमा ८ करोड ५० लाख डलर मूल्यमा करिब २ लाख ५० हजार मेट्रिक टन गहुँ किन्न पुग्ने एलसी प्राप्त गरेको थियो।

बैंक ग्यारेन्टी हातमा लिएर रिलायन्स अन्न व्यापारमा पहिलो पटक प्रवेश गर्यो।

युक्रेन युद्धका कारण विश्वमा खाद्य संकट आउन लागेको चर्चा भएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतीय भण्डारमा रहेको गहुँ विश्वलाई खुवाउने प्रस्ताव गरेका थिए। त्यसको एक महिना पनि नपुग्दै भारतको खाद्य सुरक्षा संकटमा परेको भन्दै सरकारले निर्यातमा प्रतिबन्ध लगायो। 

यो निर्णयले किसान र साना व्यापारी दुवैलाई ठूलो घाटा लाग्यो। साना व्यापारीले महंगोमा गहुँ किनेर बसेका थिए, जसलाई अन्तर्राष्ट्रिय बजारमा बेचेर नाफा कमाउने उनीहरुको दाउ थियो। किसानहरु भने अझै भाउ बढ्ने आशले केही गहुँ राखेर बसेका थिए।

तर, सरकारको एउटै निर्णयले सबैलाई ठूलो झड्का लाग्यो। आईटीसी र रिलायन्सजस्ता ठूला निर्यातकर्ताले पहिलेको दाममा गहुँ किन्न अस्वीकार गरे।

उत्तर प्रदेशको मथुरास्थित मिल सञ्चालक सन्दीप बन्सल प्रभावितमध्येका एक हुन्। शुक्रबारको प्रतिबन्धपछिको सोमबार उनले आफूबाट गहुँ किन्ने आईटीसीबाट एउटा इमेल प्राप्त गरे। जसमा सम्पूर्ण आपूर्ति रोक्न भनिएको थियो। तुरुन्तै सबै अर्डर रद्द गरियो। 

‘व्यापारीहरुले मान्नै पर्यो। गहुँ किसान र व्यापारीका लागि नगदे बाली हो। बेचेपछि मात्रै भुक्तानी पाइन्छ। व्यापारीहरु यसै बस्न सक्ने अवस्थामा छैनन्,’ उनले भने।

केही व्यापारीले मे १३ कै दिन एलसीका लागि आवेदन दिएका थिए। उनीहरुले आफूहरुलाई निर्यात गर्न दिन सरकारसँग बिन्ती गरे। तर, सरकारले उनीहरुको कुरा सुनेन।

भारतले मे २२ पछि निर्यात सुरु गर्यो। तर, मे १३ भन्दा अघि एलसी लिएकाले मात्रै निर्यात गर्न पाउने भए। 

त्यसयता अगस्ट १६ सम्म निर्यात भएको २१ लाख टन गहुँमध्ये ३ लाख ३४ हजार टन रिलायन्सले गरेको हो। आईटीसीले ७ लाख २७ हजार टन निर्यात गरेको छ।

रिलायन्सले गत वर्षदेखि नै कृषि उत्पादन निर्यात गर्ने तयारी गरेको देखिन्छ। गहुँ निर्यातमा लागेको त्यो प्रतिबन्धले रिलायन्सलाई घरेलु बजारमा प्रभाव पार्ने मौका पनि दिएको छ। 

उसले ठूलो मात्रामा खाद्यान्न किनेर आफ्नै १५ हजारभन्दा बढी पसल रहेको रिलायन्स रिटेलमार्फत बेच्छ।

रिलायन्सजस्ता ठूला खेलाडीको आगमनले बजार र आपूर्तिमा प्रभाव पार्ने विश्लेषकहरु बताउँछन्। अल जजिराबाट

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad