चीनले बिहीबार ताइवान टापुवरपर झण्डै एक दर्जन क्षेप्यास्त्र प्रहार गरेको छ। अमेरिकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणको विरोधमा चीनले सो टापुलाई घेरेर बिहीबारदेखि चार दिने सैन्य अभ्यास सुरु गरेको छ।
ताइवानको पूर्वी भागमा पर्ने समुद्रबाट अनेकौँ क्षेप्यास्त्र प्रक्षेपण गरिएको चिनियाँ सेनाको इस्टर्न थिएटर कमान्डले जनाएको छ। सबै क्षेप्यास्त्रले निसानामा प्रहार गरेको सो कमान्डको भनाइ छ।
ताइवानले भने जम्मा ११ वटा तोङफेङ ब्यालिस्टिक क्षेप्यास्त्र आफ्नो वरपर प्रहार गरिएको बताएको छ।
टापुको उत्तर, दक्षिण र पूर्वमा १:५६ देखि ४ बजेसम्ममा ती क्षेप्यास्त्र प्रहार गरिएको ताइवानले जनाएको छ।
बिहीबार नै मुख्यभूमि चीनसँग ताइवानको सबैभन्दा नजिक पर्ने पिङतान टापुमा सैन्य हेलिकोप्टर उडिरहेको दृश्य सरकारी टेलिभिजनले प्रशारण गरेका छन्।
यसअघि बुधबार चीनले २० वटा लडाकु विमान ताइवान जलसन्धिको मध्यविन्दु पार गरेर आफ्नो क्षेत्रमा पठाएको ताइवानले बताएको थियो।
उता चीनले प्रहार गरेको क्षेप्यास्त्र जापानको ‘एक्स्क्लुसिभ इकोनोमिक जोन’ मा खसेको भन्दै जापानी रक्षा मन्त्रालयले चीनको भर्त्सना गरेको छ। चीनले प्रहार गरेको पाँच वटा क्षेप्यास्त्र आफ्नो क्षेत्रमा खसेको जापानको भनाइ छ।
पेलोसीको ताइवान भ्रमण र त्यसको जवाफमा चीनले आयोजना गरेको सैन्य अभ्यासका विषयमा जापानले दिएको वक्तव्यबाट असन्तुष्ट भएपछि कम्बोडियामा चिनियाँ र जापानी विदेशमन्त्रीबीच तय भएको भेट पनि चीनले रद्ध गरिदिएको छ। एजेन्सी
Shares

प्रतिक्रिया