ग्लोबल


सिन्जो आबे : जापानी ‘जनताका राजकुमार’

सिन्जो आबे : जापानी ‘जनताका राजकुमार’

जीवन भण्डारी/रासस
असार २५, २०७९ शनिबार ८:२१, काठमाडौँ

जापानका लोकप्रिय नेता सिन्जे आबेको शुक्रबार गोली प्रहारबाट निधन भएको छ। जापानमा सबैभन्दा लामो समय प्रधानमन्त्री रहेका आबे आम नागरिकबीच निकै लोकप्रिय थिए। 

दुःखमा जनतालाई नजिकबाट साथ दिने नेताको छवि बनाएका आबेले आफ्नो कार्यकाल बाँकी रहँदै राजीनामा दिएका थिए। आफ्नो अस्वस्थताका कारण पर्याप्त काम गर्न नसकेको भन्दै उनले आफ्नो जिम्मेवारीप्रति इमान्दार हुँदै राजीनामा दिएका थिए।

जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेलाई गोली हानियो

राजनीतिमा प्रत्यक्ष भूमिकामा नदेखिने निर्णय गरेका लिवरल डेमोक्रेटिक पार्टीका नेता आबे आफ्नो पार्टीलाई विजयी गराउन चुनावी सभामा सम्बोधन गरिरहेका बेला जिन्दगीबाटै बिदा लिनु परेको छ। 

आगामी आइतबार हुने माथिल्लो सदनको निर्वाचनका लागि देशको पश्चिमी क्षेत्रमा पर्ने नारा सहरमा चुनावी सभालाई सम्बोधन गरिरहेका बेला गोली प्रहारबाट उनको निधन भएको हो। 

गोली लागेर जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबे ढलेपछि...(चार तस्बिर)

सन् १९५४ मा जन्मिएका आबेको ६७ बर्षको उमेरमा निधन भएको हो। उनले सेइकेइ विश्वविद्यालयबाट सन् १९७७ मा स्नातक गरेका थिए। त्यसपछि उनले सन् १९७९ मा जापानकै नेतृत्वदायी स्टील उद्योग ‘कोबे स्टील’मा काम गरेका थिए। 

राजनीतिमा भने उनी सन् १९८२ मा तत्कालीन विदेश मन्त्रीको सहयोगी भएर प्रवेश गरेका थिए। उनी सन् १९९३ देखि निरन्तर नौ पटक सांसद भएका थिए। 

जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेलाई गोली हान्ने को हुन्?

उनले पार्टीमा सामाजिक मामिला विभागको निर्देशक र महासचिवको जिम्मेवारी निर्वाह गरेका थिए भने सरकारी भूमिकामा मन्त्रिपरिषद्को उप प्रमुख सचिव र प्रमुख सचिव भएर काम गर्नु भएको थियो। मन्त्रिपरिषद्मा भने २००५ मा उनले पहिलो पटक सहभागी हुने मौका पाएका थिए।  

उनी पहिलोपटक सन् २००६ मा प्रधानमन्त्रीमा निर्वाचित भएका थिए। त्यतिबेला उनी जापानकै सबैभन्दा कम उमेरका प्रधानमन्त्री बनेका थिए।   अस्वस्थताका कारण त्यो कार्यकाल उनको २००७ सम्म मात्रै रह्यो।

गोली लागेर घाइते जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको निधन

आन्द्राको समस्या देखिएपछि उहाँले प्रधानमन्त्रीबाट राजीनामा दिएका थिए। त्यसपछि निको भएर फेरि राजनीतिमा फर्किएका आबे आफ्नो पार्टीलाई अत्यधिक मतका साथ विजयी गराएपछि सन् २०१२ देखि २०२० सम्म निरन्तर जापानको प्रधानमन्त्री बने।

उनले पछिल्लो पटक पनि कार्यकाल बाँकी रहेकै बेला अस्वस्थताका कारण सन् २०२० को अगस्ट २४ मा प्रधानमन्त्री पद स्वेच्छाले त्यागेका थिए। आबेले आफ्ना विश्वास पात्र तथा निकटतम सहयोगी योशिहिदे सुगालाई आफ्नो उत्तराधिकारी बनाएका थिए। 

जापानका पूर्वप्रधानमन्त्री आबेको हत्याप्रति नेपालद्वारा दुःख व्यक्त

आफ्नो मौलिक आर्थिक रणनीति र कट्टर राष्ट्रवादी नीतिका कारण उनको छुट्टै पहिचान बनेको थियो। उनको राष्ट्रवादी धारका कारण उनी चीन र दक्षिण कोरियासँग सुमधुर सम्बन्ध कायम गर्न सकेका थिएनन्। 
 
राजनीतिक विरासत बोकेको परिवारका सदस्य भई जनताका बीचमा लोकप्रिय रहेकाले उनलाई ‘जनताका राजकुमार’को उपमा पनि दिइएको थियो। उनका बुवा शिनतारो आबे जापानको विदेशमन्त्री  बनेका थिए। त्यस्तै हजुरबुवा नोबुशुके किशी प्रधानमन्त्री थिए। (विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको सहयोगमा)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .