ad ad

ग्लोबल


अमेरिकामा बारम्बार किन चल्छ गोली?

अमेरिकामा बारम्बार किन चल्छ गोली?

नेपालखबर
असार २३, २०७९ बिहिबार ९:४२, काठमाडौँ

सोमबार अमेरिकाको सिकागोनजिकै हाइल्याण्ड पार्कमा अन्धाधुन्ध गोली चल्दा ७ जनाको मृत्यु भयो। यो आक्रमणमा संलग्न रहेको आरोपमा प्रहरीले २१ वर्षीय रोबर्ट ई क्रिमोलाई पक्राउ गर्यो। उनीमाथि विभिन्न आरोपमा अदालतमा मुद्दा चलाइएको प्रहरीले बताएको छ।

अमेरिकामा पछिल्लो समय बढ्दो क्रममा रहेको गोली आक्रमणको यो पछिल्लो उदाहरण हो। समग्र विश्वमा शान्तिको पाठ सिकाउने र शान्ति स्थापनाका लागि भन्दै धेरै मुलुकमा आफ्नो सेनासमेत परिचालन गरेको अमेरिकामै पछिल्लो समय हिंसा र अशान्ति बढ्दो क्रममा देखिएको छ।

सन् २०२२ सुरु भएयता मात्र अमेरिकामा ३०९ भन्दा धेरै गोली प्रहारका घटना भइसकेका छन्। अमेरिकाका कुनै पनि राज्य गोलीकाण्डबाट अछुतो छैनन्। ती आक्रमणहरुमा परी ३३८ जनाको मृत्यु भएको गन्स भायोलेन्स आर्काइभको तथ्यांकमा उल्लेख छ।

तथ्यांकअनुसार अमेरिकाको विभिन्न राज्यमा गरी जुलाई महिनाको ४ दिनमा मात्र गोली आक्रमणमा परी १३ जनाको मृत्यु भएको छ।

फोब्र्सको तथ्यांकलाई आधार मान्ने हो भने सन् २०२१ मा पनि अमेरिकामा ६९२ वटा गोली प्रहारका घटना भएका थिए। सन् २०२० मा अमेरिकामा ६१० वटा आक्रमणका घटना भएका थिए। २०१९ मा यो संख्या ४१७ थियो।

अमेरिकामा सन् १९९९ देखि २०१९ सम्मको अवधिमा वार्षिक गोली आक्रमणका घटना स्थिरजस्तै देखिन्छ। तर, त्यसयता भने यो संख्यामा उल्लेख्य वृद्धि भएको छ।

२०१९ को तुलनामा २०२० मा गोली आक्रमणका घटना ६४ प्रतिशतले बढेको तथ्यांक छ।

अमेरिकामा कानुनीरुपमा नै बन्दुक राख्न पाइने नियम भएकाले पनि गोली प्रहारका घटना बढेको विश्लेषकहरुको तर्क छ। अहिले अमेरिकामा बन्दुक राख्न पाउने कानुन संशोधनको माग पनि उठिरहेको छ।

विशेषगरी भर्खरका युवाले बन्दुक राख्न पाउनुले पनि यस्ता घटना हुने गरेको अनुसन्धानहरुले देखाएका छन्। विशेषगरी कोरोना महामारीको समयमा अमेरिकामा गोली आक्रमणका घटना बढेका हुन्।

किन बढ्दै छ त अमेरिकामा गोली आक्रमणको घटना?

केही शोधकर्ताको अध्ययनमा मानिसहरुमा आइसोलेसन, लकडाउन तथा महामारीको चिन्ताको कारण उत्पन्न मानसिक समस्या, घरेलु हिंसा लगायतका कारणले  वर्षेनी यस्ता घटना बढ्दै गरेको पाइएको थियो। तर, अहिले भने कोभिड महामारीपछि पूर्ववत् अवस्थामा फर्किइसकेको छ। तथापि गोली प्रहारको घटना भने बढ्दो क्रममा छ।

महामारीको समयमा बढेको घृणायुक्त अभिव्यक्तिले पनि यस किसिमका आक्रमण बढाउन सहयोग गरेको केहीको भनाइ छ। विशेषगरी अमेरिकामा कोरोना महामारीको समयमा एसियाली मूलका मानिसमाथिको आक्रमण उल्लेख्य मात्रामा बढेको थियो। त्यस्तै रंगभेदी आक्रमण पनि महामारीको समयमा बढेको थियो।

विश्वभर हतियार बोक्ने आम नागरिकमध्ये ४० प्रतिशत अमेरिकामा छन्। पछिल्लो चार दशकमा अमेरिकामा १४ लाख मानिसको बन्दुकसँग सम्बन्धित घटनामा परी मृत्यु भएको छ।

अमेरिकामा गोली आक्रमणका घटना बढेसँगै गत जुनमा अमेरिकी राष्ट्रपति जो बाइडेनले बन्दुक नियन्त्रणको कानुनमा हस्ताक्षर गरेका थिए। जसको उद्देश्य युवाहरुलाई बन्दुक खरिदमा कडाइ गर्नु थियो। तर, यो कानुनले पनि अमेरिकामा गोली प्रहारका हिंसात्मक घटना भने रोक्न सकेको छैन।

विशेष गरी विद्यालयमा कलिला बालबालिका समेत गोली प्रहारको शिकार बन्ने गरेका छन्। डिपार्टमेन्ट स्टोरमा काम गर्ने नेपालीसमेत गोली प्रहारबाट मारिने गरेका खबर यदाकदा आउने गरेका छन्।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .