अमेरिकाको न्युयोर्कमा नेपाली मूलकी सराहना श्रेष्ठ डेमोक्रेटिक पार्टीको तर्फबाट प्राथमिक निर्वाचनमा विजयी भएकी छिन्।
डिस्ट्रिक १०३ स्टेट एसेम्बली प्राथमिक निर्वाचनमा श्रेष्ठले केभिन काहिललाई पराजित गरेकी हुन्। काहिलले यसअघि १३ कार्यकालदेखि यो निर्वाचनमा जित हात पार्दै आएका थिए।
आगामी नोभेम्बरमा हुने निर्वाचनमा श्रेष्ठले रिपब्लिकन पार्टीका उम्मेदवारसँग विधानसभाको लागि प्रतिस्पर्धा गर्नेछिन्। प्राथमिक निर्वाचनमा श्रेष्ठले ७ हजार ७०२ मत पाएकी थिइन् भने काहिलले ७ हजार १७३ मत पाए।
निर्वाचनमा जित हात पारेसँगै श्रेष्ठले प्रतिक्रिया दिँदै भनिन्, ‘यो त केवल सुरुवात हो।’
उनले आगामी दिनमा न्युयोर्कका मात्र नभई समग्र मुलुकको हकहितका लागि लड्ने बताएकी छिन्। काहिलले पनि आफ्नो हार स्वीकार गर्दै श्रेष्ठलाई बधाई दिएका छन्।
नेपाली मूलकी श्रेष्ठ सन् २०१९ मा अमेरिकी नागरिक बनेकी थिइन्।
Shares
प्रतिक्रिया