अमेरिकी सैन्य गठबन्धन नेटोको सदस्य टर्की स्वीडेन र फिनल्याण्डलाई गठबन्धनमा सामेल गर्न सहमत भएको छ।
सुरुमा टर्कीले यी दुई मुलुक नेटोमा जोडिने प्रस्तावको विरोध गरेको थियो। टर्कीले सुरुमा यी दुई मुलुकले कुर्दिस लडाकुलाई आश्रय दिएको भन्दै उनीहरुलाई नेटोमा सामेल गराउन नहुने बताएको थियो।
टर्कीको समर्थन विना यी दुई मुलुक नेटोमा सामेल हुन सक्दैनन्।
रुसले पनि फिनल्याण्ड र स्वीडेन नेटोमा सामेल हुने प्रस्तावको विरोध गर्दै आएको छ। गत फेब्रुअरीमा रुसले युक्रेनमाथि आक्रमण सुरु गरेसँगै यी दुई मुलुकले नेटोमा जोडिने हतारो देखाएका हुन्।
नेटोमा जोडियो प्रस्तावको विषयमा टर्की, स्वीडेन र फिनल्याण्डका विदेशमन्त्रीहरुको बीचमा सहमति जुटेको छ। जसमा टर्कीको सुरक्षा चासोलाई दुई मुलुकले सम्बोधन गर्ने भएका छन्।
नेटोका प्रमुख जेन्स स्टोटेन्बर्गका अनुसार स्वीडेनले शंकास्पद चरमपन्थीको मामिलामा टर्कीको सुपुर्दगी आग्रह स्वीकार गर्नेछ। साथै यी दुई मुलुकले टर्कीलाई हतियार बेच्नमा लगाएको प्रतिबन्ध पनि फुकुवा गर्नेछन्।
स्वीडेनकी प्रधानमन्त्री मग्डालेना एन्ड्रेसनल यो नेटोको लागि निकै महत्वपूर्ण कदम भएको बताएकी छिन्। टर्कीका राष्ट्रपति रिसेप तैयप एर्दोगानले टर्कीले स्वीडेन र फिनल्याण्डबाट चाहेको जस्तै समर्थन पाएको बताए।
गत मेमा स्वीडेन फिनल्याण्डले नेटोमा जोडिने घोषणा गरेका थिए।
Shares
प्रतिक्रिया