भारतमा एक अर्ब डोज कोभिड–१९ विरुद्धको खोप लगाइएको छ। भारतीय विदेशमन्त्री एस जयशंकरले सामाजिक सञ्जाल ट्वीटरमार्फत भारतमा एक अर्ब डोज कोरोना खोप लगाइएको बताएका छन्।
उनले यो महत्वपूर्ण कोशेढुङ्गा पार गर्न निस्वार्थ भावनाले सहयोग गर्ने डाक्टर र स्वास्थ्यकर्मीप्रति आभार पनि व्यक्त गरेका छन्।
यद्यपि पछिल्लो समय भारतमा कोरोना खोप अभियान केही सुस्त देखिएको छ। भारतले सन् २०२१ को अन्तिमसम्ममा सबै वयस्क मानिसलाई कोरोना खोप दिने लक्ष्य राखेको छ।
भारतको स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म भारतका समग्र वयस्क नागरिकमध्ये करिब ७५ प्रतिशतले कम्तीमा एक डोज कोरोना खोप लगाइसकेका छन्।
भारतमा लगाएइको एक अर्ब डोजमध्ये करिब ९० प्रतिशत खोप सेरम इन्स्टिच्युट अफ इन्डियाले आन्तरिक रुपमा उत्पादन गरेको हो। सेरमले अक्सफोर्ड–एस्ट्राजेनेकाले विकास गरेको खोप उत्पादन गरिरहेको छ ।
अहिलेसम्म भारतमा कोरोनाका तीन करोड ४१ लाख संक्रमित फेला परिसकेका छन् भने चार लाख ५२ हजारभन्दा धेरैको कोरोना संक्रमणको कारण मृत्यु भएको छ।
Shares

प्रतिक्रिया