चिनियाँ शीर्ष नेताहरुको प्रमुख बैठक आगामी महिना चीनको बेइजिङमा हुने भएको छ। उक्त बैठकले चिनियाँ कम्युनिष्ट पार्टीको पछिल्लो एक सय वर्षको उपलब्धिको प्रस्ताव अनुमोदन हुने अपेक्षा छ। सोमबार बसेको पोलिट्ब्युरो बैठकले १९ औं केन्द्रीय कमिटीको छैटौं प्लेनरी सेसन नोभेम्बर ८ देखि ११ सम्म गर्ने निर्णय गरेको हो।
यो बैठकमा पार्टीको ‘प्रमुख उपलब्धि र ऐतिहासिक अनुभव’को प्रस्तावबारे छलफल तथा पुनरवलोकन हुन सक्ने अपेक्षा छ। कम्युनिष्ट पार्टी स्थापना भएपछिको एक वर्षमा ठूलो प्रगति भएको र यो लयलाई यो शताब्दीसम्मको ‘राष्ट्रिय कायाकल्प’को लक्ष्य प्राप्तिको लागि कायम राख्नुपर्ने निष्कर्ष नेताहरुले निकालेका छन्।
नोभेम्बरमा हुने बैठक चिनियाँ राष्ट्रपति सि चिनफिङको लागि पनि निकै महत्वपूर्ण रहेको साउथ चाइना मर्निङ पोस्टले उल्लेख गरेको छ। आगामी वर्ष एक दशकमा दुईपटक मात्र हुने राष्ट्रिय कंग्रेसको बैठक हुन गइरहेको छ।
त्यसैले पार्टीको शासनको आधिकारिक व्याख्या र आफ्नो नेतृत्व साबित गर्न चिनफिङको लागि यो बैठक महत्वपूर्ण मानिएको हो। आगामी वर्ष हुने कंग्रेसको बैठकबाट ठूलो परिवर्तन हुन सक्ने अपेक्षा छ।
नोभेम्बरमा हुने बैठकमा पेश हुने प्रस्ताव महत्वपूर्ण राजनीतिक दस्तावेज बन्ने र यसले चिनियाँ कम्युनिष्ट पार्टीको अबको केही दशकको दिशा तय गर्ने पर्यवेक्षकहरुले बताएका छन्।
चिनियाँ कम्युनिष्ट पार्टीको इतिहासमा पहिलोपटक सन् १९४५ मा माओ त्सेतुङको पालामा यस्तो प्रस्ताव ल्याइएको थियो। माओ त्सेतुङले आफ्नो विपक्षीको प्रस्ताव अस्वीकृत गर्दै त्यसपछि भएको पार्टी कंग्रेसमा आफ्नो नेतृत्व स्थापित गरेका थिए।
Shares

प्रतिक्रिया