ad ad

ग्लोबल


‘ओकस’प्रति उत्तर कोरिया पनि आक्रोशित, अमेरिकालाई दियो चेतावनी

‘ओकस’प्रति उत्तर कोरिया पनि आक्रोशित, अमेरिकालाई दियो चेतावनी

फाइल तस्बिर : उत्तर कोरियाका शासक किम जोङ उन र अमेरिकाका राष्ट्रपति जो बाइडेन।


नेपालखबर
असोज ४, २०७८ सोमबार ९:४९, काठमाडौँ

बेलायत, अमेरिका र अस्ट्रेलियाबीच भएको सुरक्षा सम्झौता ‘ओकस’प्रति चीन र फ्रान्स आक्रोशित भइरहेका बेला उत्तर कोरियाले पनि अमेरिकालाई चेतावनी दिएको छ। 

बीबीसीका अनुसार उत्तर कोरियाले अमेरिकाको आलोचना गर्दै भनेको छ, ‘यदि यसले उत्तर कोरियाको सुरक्षामा असर पार्यो भने यसविरुद्ध कुनै उपाय खोजिनेछ।’

उत्तर कोरियाको सरकारी सञ्चारमाध्यमले विदेश मन्त्रालयका नाम नखुलाइएका एक अधिकारीलाई उद्धृत गर्दै सोमबार यस विषयमा विज्ञप्ति जारी गरेको हो। 

जसमा भनिएको छ– अमेरिका, बेलायत र अस्ट्रेलियाबीचको यो सम्झौता ‘निकै खतरनाक कार्य’ हो, जसले एसिया–प्रशान्त क्षेत्रमा सुरक्षा सन्तुलन बिगार्नेछ र ‘हतिया प्रतिस्पर्धा’ बढाउनेछ। 

ती अधिकारीले उत्तर कोरियाले उक्त सम्झौतालाई नजिकबाट निगरानी गरिरहेको उल्लेख गर्दै ‘यदि यसले आफ्नो देशको सुरक्षामा सानो पनि नकारात्मक असर पार्यो भने यसविरुद्ध कारबाही गर्ने’ बताएका छन्। 

अमेरिकाका राष्ट्रपति जो बाइडेनले गत शुक्रबार अस्ट्रेलिया र बेलायतसँग एक सुरक्षा सम्झौता घोषणा गरेका छन्, जसलाई ‘ओकस’ भनिन्छ। यसअन्तर्गत अमेरिकाले अस्ट्रेलियालाई कम्तीमा आठवटा परमाणु ऊर्जाद्वारा सञ्चालित पनडुब्बी उपलब्ध गराउनेछ। 

उक्त सम्झौता इन्डो–प्यासिफिक क्षेत्रमा चीनको बढ्दो प्रभाव घटाउन चालिएको कदमका रूपमा देखिएको छ, जसविरुद्ध पहिलेदेखि चीन क्रुद्ध छ। यो सम्झौतासँगै फ्रान्सले अस्ट्रेलियासँग यसअघि भएको सम्झौता पनि समाप्त भएको छ। जसका कारण फ्रान्स अमेरिका र अस्ट्रेलियासँग रिसाएको छ। 

उत्तर कोरियाका अधिकारीले फ्रान्सका विषयमा अमेरिकालाई आफ्ना सहयोगीको पिठ्यूँमा छुरा रोपेको आरोप लगाएका छन्। 

यो पनि : ​‘ओकस’को असर : अस्ट्रेलियासँग रिसायो फ्रान्स, फिर्ता बोलायो राजदूत

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .