ad ad

ग्लोबल


तालिबान र इस्लामिक स्टेटबीच समानता र भिन्नता के छन्?

तालिबान र इस्लामिक स्टेटबीच समानता र भिन्नता के छन्?

तालिबानका नेता हेबतुल्ला अखुन्डजाडा (बायाँ) र इस्लामिक स्टेटका नेता अबु इब्राहिम अल–हासिमी अल–क़ुरैसी।


नेपालखबर
असोज २, २०७८ शनिबार १२:२१, काठमाडौँ

तालिबानले अफगानिस्तानको सत्ता कब्जा गरेपछि त्यहाँको राजधानी काबुलमा रहेको अन्तर्राष्ट्रिय विमानस्थलमा देश छाड्ने यात्रुहरूको भीड लागिरहेको थियो। यसै क्रममा गत अगस्ट २६ का दिन विमानस्थलनजिक आत्मघाती बम आक्रमण भयो। त्यस क्रममा १३ जना अमेरिकी सैनिकसहित सयभन्दा धेरै जनाको मृत्यु भयो। 

यो पनि : १० सर्वसाधारणको हत्याः भोलिपल्ट अफगानिस्तान छाड्दै थिए, अमेरिकी ड्रोन हमलामा मारिए

केही समयपछि नै त्यो हमला आफूले गरेको भनेर  आतंकवादी संगठन इस्लामिक स्टेट (आईएसआईएस) को स्थानीय शाखा ‘खुरासान समूह’ले जिम्मेवारी लियो।  

यसपछि चर्चा चल्न थाल्याे- तालिबानभन्दा आईएसआईएस बढी खतरनाक र क्रूर संगठन हाे।

सँगसँगै याे प्रश्न उठ्याे- दुई संगठन एकअर्काका विरोधी त होइनन्? 

आखिर यी दुई संगठनबीच समानता र भिन्नता के छन्?

यही प्रश्नलाई बीबीसीको रिपोर्टका आधारमा यहाँ विश्लेषण गर्ने प्रयास गरिएको छ।  

यो पनि : तालिबानसँग सहमति भइसकेको थियो, राष्ट्रपति गनी भागेर बर्बाद भयोः खलिलजाद

दुवैको जन्म
तालिबान आन्दोलन र ‘इस्लामिक स्टेट’ दुवै पहिलेका ‘सलाफी–जिहादी’ संगठनहरूबाट पैदा भएका हुन्। तालिबानको उदय नब्बेको  दशकको सुरुवातमा भएको थियो र अफगानिस्तानबाट सोभियत संघका सेना फिर्तापछि सन् १९४४ मा उत्तरी पाकिस्तानमा यो उदायो। 

पाकिस्तानले भने तालिबान जन्मिनुमा आफ्नो संलग्नता निरन्तर अस्वीकार गरिरहेको छ। तर मानिस के मान्छन् भने यो (तालिबान) आन्दोलन सबैभन्दा पहिला पाकिस्तानका रूढिवादी धार्मिक संगठनहरूमा देखिएको थियो। जसलाई आर्थिक सहयोग प्रमुख रूपमा विदेशबाट प्राप्त हुने अनधिकृत धनबाट भइरह्यो। 

सन् १९९० को दशकको मध्यतिर तालिबान जब अफगानिस्तानको सत्तामा आयो तब उसको सरकारलाई जम्मा ३ देशले मात्र मान्यता दिए– पाकिस्तान, साउदी अरब र संयुक्त अबर इमिरेट्स। जतिबेला तालिबानको नेतृत्व मुल्ला ओमारको हातामा थियो। 

मुल्ला ओमार सन् २०१३ मा मारिएपछि तालिबान संगठनको नेतृत्व मुल्ला मन्सुरले सम्हाले। सन् २०१६ मा अमेरिकी हमलामा मन्सुरको मृत्यु भयो। यसपछि उनका सहायक हेबतुल्लाह अखुन्डजाडाले तालिबान संगठनको नेतृत्व गरे। भनिन्छ– उनी कट्टर विचारधाराका थिए। 

कार्नेगी एन्डाउमेन्टको एक अध्ययनअनुसार, केही विज्ञ इस्लामिक स्टेटको उदय हुनाका पछाडि धेरै कारण जिम्मेवार रहेको ठान्छन्। यसमा सन् २००३ मा इराकमा भएको अमेरिकी हमला, सिया मिलिसिया संगठनलाई इरानको समर्थन र यस क्षेत्रमा इस्लामको राजनीतिक अस्तित्वलाई ‘आईएसआईएस’ को कट्टरताको ‘इन्क्युबेटर’ मानिन्छ। 

यस क्षेत्रमा आईएसआईएसको तीव्र विकास र विस्तारमा सिरियाको गृहयुद्धले एक उर्वर वातावरण बनाइदियो। सामान्यतया इस्लामिक स्टेट र  तालिबान दुवै आफूलाई इस्लामका सच्चा प्रतिनिधि भएकाे दाबी गर्छन्। दुवै संगठन के स्वीकार गर्छन् भने यसको सुरुवात आफ्ना पुर्खा मुसलमानले गरेका थिए।

आफ्ना हिंस्रक व्यवहारलाई सही ठहर्याउन दुवै संगठन इब्न तैमियाहजस्ता अतिवादी मौलवीहरूका किताब र सन्दर्भसँगै इस्लामी इतिहासको प्रारम्भिक पुस्तक हदिसको सहारा लिन्छन्। 

पश्चिमी संस्कृतिविराेधी नीति 
यी दुवै संगठन हिंसा र व्यवस्थापनको क्रूर शैलीमा विश्वास गर्छन्। ‘नजिता महत्त्वपूर्ण छ र त्यहाँसम्म पुग्ने एक मात्र बाटो युद्ध हो’ भन्ने उनीरूको मान्यता छ। 

दुवै संगठन ‘अल्लाहको पुस्तक र उनको पैगम्बरको सुन्नत’मा भनिएका कुरा लागू गरेर आफूहरूले सही काम गरेको विश्वास गर्छन्। यसकारण उनीहरूको कुनै पनि विरोध अल्लाह र उनको पैगम्बरको विरोध गर्नु बराबर ठान्छन्। यस आधारमा उनीहरू आफ्ना विरोधी सिध्याउन वा दबाउन सबै किसिमका उपाय अपनाउनु आफ्नो अधिकार सम्झिन्छन्। हत्या गर्नेलाई सार्वजनिक स्थानमा फाँसी, व्यभिचार गर्नेलाई ढुंगाले हानेर मार्ने र चोरी गर्नेलाई हात काटिदिने सजाय दिने यसका उदाहरण हुन्। 

उनीहरू दुवै पश्चिमी मुलुकका लोकतान्त्रिक सिद्धान्त, जस्तो :  पुरुष–महिलाबीच समानता, बहुलवाद, मानव अधिकार, अभिव्यक्ति स्वतन्त्रता र अन्य आधुनिक अवधारणाका विरोधी हुन्। साथै आफ्नाविरुद्ध हुने कुनै पनि किसिमका विरोध वा विद्रोहलाई सुरुमै दबाउन कडा कदम चाल्छन्। 

तालिबान र आईएस, दुवै आफूहरू पाखण्डीविरुद्ध लडिरहेको दाबी गर्छन् र यसका लागि धार्मिक पुस्तक र सन्दर्भमा आधारित व्यवहार गर्नुमा विश्वास गर्छन्। 

धेरैवटा समानता भए पनि तालिबान र इस्लामिक स्टेटबीच गम्भीर भिन्नता पनि छन्। 

सामाजिक जीवन र महिला
दुवै संगठन बच्चा पाउनु तिनको हेरचाह गर्नु तथा घरका कामकाज मात्र महिलाको काम हो भन्ने ठान्छन्। दुवै संगठन महिलालाई तलदेखि माथिसम्म शरीरका सबै अंग ढाक्ने पोसाक (बुर्का/नकाब) लगाउन बाध्य पार्छन् र पुरुषले दाह्री पाल्नुपर्छ भन्छन्। 

तालिबान र आईएस दुवैले मानिसलाई टीभी कार्यक्रम, संगीत र फिल्मजस्ता मनोरञ्जन दिने कुरा हेर्न/सुन्न प्रतिबन्ध लगाएका छन्।

यी दुवै संगठनले पसल सञ्चालकहरूलाई महिलाको फेसन प्रदर्शन गर्ने र ध्यानाकर्षण राखिएका पुतलीहरूको मुख छोप्न बाध्य पारे। तालिबानले १० वर्षभन्दा माथिका केटीलाई स्कुल जान रोक लगाएका थिए। 

तर महिलाप्रति तालिबानको नीतिविपरीत इस्लामिक स्टेटले संगठनको सेवाका लागि महिला र उनीहरूको क्षमताको राम्रो शोषण कसरी गर्नुपर्छ भन्ने कुरा राम्रोसँग बुझेको थियो। यसर्थ उसले आफ्नो प्रचारका लागि केटीलाई प्रशिक्षणसमेत दियो। महिलालाई डाक्टर, नर्स, शिक्षक र कर्मचारीका रूपमा काम गर्न अनुमति दियाे। केही महिलाले मानिसको निगरानी गर्ने काम पनि गरेका थिए।

इराकको मोसुल र सिरियाको रक्क सहरमा आफ्नो नियन्त्रण बढाएपछि आईएसले त महिला प्रहरी बटालियन नै स्थापना गरेको थियो। जसको नाम ‘अल–ख़ानसा ब्रिगेड’ राखिएको थियो।

उनीहरूका दुश्मन एकै हुन्?
हाेइन। आईएसआईएस एक विस्तारवादी संगठन हो, जाे कुनै क्षेत्रमा सीमित छैन। तर तालिबान एक क्षेत्रीय आन्दोलन हो, जो पश्तुन क्षेत्रभन्दा बाहिर सक्रिय छैन। यसका अधिकतर सदस्य पनि पश्तुन नै छन्।

इस्लामिक स्टेट इस्लामका सबैभन्दा ठूला शत्रु यही धर्मभित्रै छन्, बाहिर होइन भन्ने ठान्छन्। अनि भित्री दुश्मनलाई आक्रमण गरेर बाहिरी शत्रुलाई तर्साउन सकिन्छ भन्ने साेच राख्छन्। उनीहरू पश्चिमी मुलुकसँग सम्बन्ध राख्ने मुस्लिम देशका सरकार र इस्लामका अन्य सम्प्रदायलाई पनि शत्रु ठान्छन्। यसैकारण सिरिया र इराकमा त्यत्राे युद्ध भयाे। ​

वास्तवमा ​आईएस पूरै विश्वलाई दुश्मन ठान्छ, किनकि ऊ अरू सबै आफ्नो धार्मिक विश्वास ‘अल्लाहको किताबभन्दा फरक हुन् भन्ने साेच्छ। ​

अमेरिका र युरोपेली देशहरु आईएसआईएसलाई ‘आतंकवादी समूह’ ठान्छन्, तर तालिबानलाई ‘आतंकवादी आन्दोलन’ ठान्दैनन्।

तालिबानी पाकिस्तान र अफगानिस्तानजस्ता विशेष क्षेत्रमा मात्र सक्रिय छन्। स्थापनाकालदेखि नै यसको आदिवासी संस्कृति छ।

तर तालिबानको उल्टो आईएसआईएसले सुरुदेखि नै विश्वभरका विभिन्न जाति र राष्ट्रियतालाई आफूसँग आबद्ध हुन आह्वान गरेको छ। उसले अरब, कुर्द, टर्की, चेचेन, उज्बेक, कजाख, ताजिक, उइगर समुदायका मानिसलाई आफूसँग जोडेकाे छ। 

आईएसआईएसका नेताहरूले आदिवासी संस्कृतिप्रति प्रतिबद्ध रहने अलकायदाको प्रायः आलोचना गर्ने गरेका छन्। आईएसआईएसले सीमाभन्दा बाहिर पनि आफ्नो विचारधाराको दाबी गर्ने क्रम जारी राखेको छ। 

स्कुल र शिक्षा
तालिबान यसअघिको आफ्नो शासनकालमा आधुनिक शिक्षाको कट्टरविरोधी थियो। उसले धेरै ठाउँका स्कुल खारेज गरेको थियो, स्थानीयले कडा विरोध जनाएपछि मात्र उसले स्कुल सञ्चालनको अनुमति दिएको थियो। उसले भौतिक, रसायनजस्ता विज्ञानसम्बन्धी विषय कम गरेर धार्मिक विषय जस्तो : न्यायशास्त्र, हदिस आदि पढाउन सुरु गराएको थियो। 

तर इस्लामिक स्टेटले आधुनिक शिक्षाको विरोध वा उन्मूलन गरेन, बरु उसले केही विषयलाई हटायो जुन संगीतजस्तै आफ्नो विचारसँग मिल्दैनन्। उसले विज्ञान, भाषाजस्ता आवश्यक विषय कायम राखी पाठ्यक्रममा धेरै धार्मिक विषय घुसाए।  

उनीहरूले सहयोग कसरी पाउँछन्? 
केही क्षेत्रीय वा अन्तर्राष्ट्रिय शक्तिले आधिकारिक रूपमा वा खुलेर आईएसआईएसको समर्थन गर्दैनन्। तर उसलाई प्राप्त हुने सहयोगको सवाल निकै जटिल छ। 

आईएसआईएसले इराक र सिरियामा जितेका क्षेत्रमा हुने तेलको  व्यापार नियन्त्रणमा लियो। यस क्रममा उसले धेरै नै अमेरिकी र युरोपियन सैन्य उपकरण पनि जफत गर्यो। 

उता अफगानिस्तानका अधिकतर प्रान्तमा गरिने अफिम खेतीसँगै तालिबानको सम्बन्ध सुरुदेखि नै पाकिस्तानसँग रहेको स्पष्ट भएको छ। पाकिस्तानका पूर्व गृहमन्त्री नसिरुल्लाह बाबर र पाकिस्तानी गुप्तचर प्रमुख असर दुर्रानीको वक्तव्यले पनि यही संकेत गरिरहेका छन्। 

इस्लामिक स्टेट तालिबानका लागि खतरा हो? 
इस्लामिक स्टेटको प्रभाव इराक र सिरियामा अन्त्य भइसकेको किन नहोस्, अफगानिस्तानको ‘खुरासान प्रान्त’मा यो अहिले पनि सक्रिय छ।

यो सन् २०१५ मा पाकिस्तानी तालिबान (वा पन्जाब तालिबान) र अफगान तालिबान दुवै संगठनबाट बाहिरिएका अतिवादीहरुले बनाएका हुन्। 

आईएसआईएसको साहित्यमा ‘खुरासान प्रान्त’को अर्थ- अफगानिस्तान, पाकिस्तानका केही भाग, इरान, उज्बेकिस्तान, कजाकिस्तान, किर्गिस्तान, ताजिकिस्तान र तुर्कमेनिस्तानका पूरै क्षेत्र हो। तर यो अफगानिस्तानमा अहिले पनि आईएसआईएसकै नामले चिनिन्छ। 

तालिबानका नेतासँग मतभेद भएपछि धेरै जना यसमा प्रवेश गरेका छन्। उनीहरूको आरोप छ– तालिबान पाकिस्तानी गुप्तचर एजेन्सीको एजेन्ट बनेको छ।  यस संगठनको उद्देश्य ‘खुरासान प्रान्त’ मा सक्रिय सबै सशस्त्र आन्दोलन चाहे तालिबान होस् वा अलकायदा सरकारसँग लड्नु हो।​

ईएसआईएसले अफगानिस्तानमा धेरैवटा हमला गरेको छ, जसमा अहिलेसम्म सयौं मानिसले ज्यान गुमाइसकेका छन्। 

‘खुरासान प्रान्त’ले त्यहाँ तालिबान र आफ्ना प्रतिद्वन्द्वी अन्य सशस्त्र समूहविरुद्ध आक्रामक बन्न आफ्ना लडाकुलाई निर्दशन दिएको छ। 

यतिबेला सबैभन्दा महत्त्वपूर्ण प्रश्न उठेको छ– अफगानिस्तानबाट सबै विदेशी सेना बिदा भएपछि दुई संगठनबीच फेरि हिंसात्मक लडाइँ सुरु होला? 

इस्लामिक स्टेटले फेरि आफ्नो शिर उठाउनेछ? अथवा, दुई संगठनले एकअर्कालाई साथ देलान्? 

यो पनि : अफगानिस्तानको सुरक्षाका लागि नयाँ सेना तयार पार्दै तालिबान

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .