चीनको राजधानी सहर बेइजिङस्थित वेनचांग ग्यालरी अफ समर प्यालेसमा आजदेखि ‘सुन्दर नेपाल’ फोटो प्रदर्शनी सुरु भएको छ। फोटो प्रदर्शनीमा नेपाली प्राकृतिक सौन्दर्य, संस्कृति र ऐतिहासिक सम्पदाहरुको विविध पक्षसम्बन्धी तस्बिरहरु रहनेछन्।
आगामी वर्ष नेपालले मनाउनलागेको भ्रमण वर्ष २०२० को तयारीस्वरुप नेपालको पर्यटन क्षेत्रलाई प्रवर्द्धन गर्ने उद्देश्यले उक्त फोटो प्रदर्शनी सुरु गरिएको हो। चीनस्थित नेपाली दूतावास र बीपीएएफएफसीको संयुक्त आयोजनामा उक्त प्रदर्शनी सुरु भएको हो।

कार्यक्रमको उद्घादन समारोहमा नेपाली नियोगका उपप्रमुख सुशील कुमार लम्साल, बेइजिङ पिपल्स एसोसिएसन फर फ्रेन्डशिप विथ फरेन कन्ट्रिज (बीपीएएफएफसी)का उपप्रमुख सु बेनशेंगको सहभागिता रहेको थियो।
उपप्रमुख लम्सालले आगन्तुकलाई सम्बोधन गर्दै नेपाल र चीनबीच जनस्तरको सम्बन्धबारे चर्चा गर्दै यो प्रदर्शनीले चिनियाँ नागरिकलाई नेपाली पर्यटनले आकर्षण गर्न मद्दत गर्ने बताएका थिए। त्यस्तै सु बेनशेंगले पनि मिलेर कार्यक्रम आयोजना गर्न पाएकोमा खुसी व्यक्त गर्दै यसले चिनियाँ जनतालाई नेपालबारे बुझ्न धेरै मद्दत गर्ने बताए।

नोभेम्बर ७ सम्म चल्ने प्रदर्शनी कार्यक्रमलाई बेइजिङ पार्क मेनेजमेन्ट सेन्टर र समर प्यालेसको समेत सहयोग रहेको छ। समर प्यालेस बेइजिङको महत्वपूर्ण पर्यटकीय आकर्षण हो। हरेक वर्ष दशौँ लाख मानिस यहाँ पुग्ने गरेका छन्। चीनको क्विङ डाइनाष्टी (१६४४–१९११)को शासन हुँदा त्यहाँ तालतलैया, बगैँचा र महलहरु बनेका थिए।

Shares

प्रतिक्रिया