ad ad

ग्लोबल


बरादरको विडम्बना: प्रधानमन्त्री हुने चर्चा थियाे, बनाइए उपप्रधानमन्त्री, लगत्तै भए ‘बेपत्ता’

बरादरको विडम्बना: प्रधानमन्त्री हुने चर्चा थियाे, बनाइए उपप्रधानमन्त्री, लगत्तै भए ‘बेपत्ता’

फाइल तस्बिर : तालिबान सरकारका उपप्रधानमन्त्री मुल्ला अब्दुल गनी बरादर।


नेपालखबर
भदौ २९, २०७८ मंगलबार १५:२४, काठमाडौँ

दोहास्थित तालिबानको राजनीतिक कार्यालयका प्रवक्ता डाक्टर मोहम्मद नइमले सोमबार तालिबान सरकारका उपप्रधानमन्त्री एवं राजनीतिक कार्यालयका प्रमुख मुल्ला अब्दुल गनी बरादर बेपत्ता भएको विषयमा ह्वाट्सएप अडिओ सन्देश जारी गरे। 

अडिओ सन्देशमा मुल्ला अब्दुल गनी बरादरले भनेका छन्, ‘धेरै दिनदेखि सामाजिक सञ्जालमा यस्तो (आफू घाइते भएको/मारिएको) खबर फैलिरहेको छ, म यी दिनमा यात्रामा थिएँ र कहीँ गएको थिएँ। अलहम्दुलिल्लाह...म र हाम्रा सबै साथी ठीक छौं। तर धेरैजसो सञ्चारमाध्यमले हाम्राविरुद्ध यस्तो लाजमर्दाे झुट बोलिरहेका छन्।’

यसअघि यही सेप्टेम्बर १२ का दिन मुल्ला अब्दुल गनी बरादरका एक प्रवक्ता मुसा कलिमको एउटा पत्र सार्वजनिक भएको थियो, जसमा भनिएको थियो– जसरी ह्वाट्सएप र फेसबुकमा तालिबानका दुई पक्षबीच भएको गोेलाबारीमा अब्दुल गनी बरादर गम्भीर घाइते भएको र यसका कारण मृत्यु भएको भन्ने अफवाह फैलिरहेको छ, यो सबै झुट हो।

यो खबरले त्यतिबेला व्यापक रूप लियो, जतिबेला आइतबार राष्ट्रपति भवनबाट जारी भिडिओमा कतारका विदेशमन्त्रीसँग तालिबानका शीर्ष नेताले गरिरहेको भेटमा मुल्ला अब्दुल गनी बरादर देखिएनन्। ​

‘मुल्ला बरादर घाइते छैनन्, बरु रिसाएका छन्’
तालिबानका तर्फबाट भनिएको छ– मुल्ला अब्दुल गनी बरादर कन्दहारमा छन्, जहाँ उनी तालिबानका नेता मुल्ला हेब्तुल्लाह अखुन्दजादासँग भेटवार्ता गरिरहेका छन्। तालिबानका अनुसार उनी चाँडै काबुल आउनेछन्।

तर दोहा र काबुलका दुई तालिबान स्रोतले बीबीसीसँग भनेका छन्– ‘गत बिहीबार वा शुक्रबार राति अर्गमा अब्दुल गनी बरादर र हक्कानी नेटवर्कका एक मन्त्री खलिल उर रहमानबीच विवाद भएको थियो र विवादले उग्र रूप लिएपछि दुई पक्षबीच झगडा पर्यो। त्यसपछि अब्दुल गनी बरादर नयाँ तालिबान सरकारसँग रिसाएर कन्दहार गए।’

स्रोतका अनुसार जाने बेला बरादरले सरकारलाई भने– ‘हामीले यस्तो सरकार चाहेका थिएनौं।’ 

तर बीबीसीले यो कुरालाई स्वतन्त्र रूपमा पुष्टि गर्न सकेको छैन। ​

कस्तो सरकार चाहन्छन् बरादर?
स्रोतका अनुसार हक्कानी नेटवर्क र कन्दहारी तालिबानबीच पहिलेदेखि ठूलो मतभेद छ र त्यो मतभेद काबुल कब्जापछि झन् बढेको छ।

तालिबान आन्दोलनको अर्काे एउटा स्रोतका अनुसार हक्कानी नेटवर्क र कन्दहारी वा उमरी तालिबानबीच लामो समयदेखि मतभेद थियो। तर अहिले उमरी वा कन्दहारी तालिबानभित्रै पनि मुल्ला मोहम्मद याकुब र  मुल्ला अब्दुल गनी बरादरका अलग अलग समूह बनेका छन् र दुवैले तालिबान आन्दोलन नेतृत्वको दाबी गर्छन्।

यी स्रोतका अनुसार ‘अर्कातर्फ हक्कानी नेटवर्क भन्छ– इस्लामी एमिरेट आफ्नो मेहनतका कारण दोस्रोपटक स्थापित भएको हो, यसैले सरकारमा हक्कानी नेटवर्ककै हक बढी हुन्छ।’ 

दोहा र काबुलस्थित स्रोत भन्छन्, ‘मुल्ला अब्दुल गनी बरादरले नयाँ सरकार बनेपछि भनेका थिए– हामीले यस्तो सरकार चाहेका थिएनौं। जसमा मौलवी र तालिबान मात्र सहभागी होउन्।’

स्रोतका अनुसार मुल्ला बरादरले भनेका थिए– मैले २० वर्षमा धेरै अनुभव प्राप्त गरेको छु र कतारस्थित राजनीतिक कार्यालयमा अन्तर्राष्ट्रिय समूहसँग वाचा गरेको थिएँ– एउटा यस्तो सरकार बनाइनेछ, जसमा सबै समुदायका प्रतिनिधिसँगै महिला र अल्पसंख्यकलाई पनि स्थान दिइनेछ।’

काबुलस्थित तालिबानको अर्का स्रोतले पनि भन्याे– सरकार बन्नुअघिदेखि नै यस्तो मतभेद थियाे, तर उनीहरूको नेतृत्वले मन्त्रिमण्डलका लागि जुन नामहरू प्रस्तुत गर्‍याे, त्यसमा सबैले सहमति जनाए।

​​त्यसाे त सुरुमा बरादर नै तालिबान सरकारको प्रधानमन्त्री बन्ने व्यापक चर्चा थियो। तर घोषणका बेला उनलाई उपप्रधानमन्त्री बनाइयो। ​

यो पनि : ​एकाएक बरादर किन खसालिए उपप्रधानमन्त्रीमा?

तालिबान सरकारको अवस्था
काबुलमा रहेका पत्रकारहरूका अनुसार मन्त्रिमण्डलको घोषणा भइसकेको भए तापनि धेरै मन्त्रालयमा काम भइरहेको छैन र अहिलेसम्म जम्मा एक मन्त्रीले आफ्नो नीति सार्वजनिक गरेका छन्। 

तालिबानका तर्फबाट भने सबै मन्त्रालयले काम सुरु गरिसकेको दाबी गरिएको छ। तर पनि सरकारी शिक्षण संस्थादेखि अन्य धेरै कार्यालय बन्द छन्। खुलेका कार्यालयमा पनि मानिसको उपस्थिति एकदमै कम छ।  

काबुलमा रहेका पाकिस्तानी पत्रकार ताहिर खानका अनुसार मन्त्रीहरूले काम सुरु गरेका छन्, तर नीति वक्तव्य भने शिक्षामन्त्री अब्दुल बाकी हक्कानीले मात्र जारी गरेका छन्। बाँकी कुनै मन्त्रीले अहिलेसम्म आफ्ना नीति सार्वजनिक गरेका छैन्।  

काबुलको अवस्था 
काबुलमा रहेका बीबीसीका प्रतिनिधि मलिक मुदस्सिरका अनुसार सहमा बैंक अहिलेसम्म बन्द नै छन। केही स्थानमा एटीएम खुला छन्। तर त्यहाँबाट पनि सीमित मात्र पैसा निकाल्न सकिन्छ। 

विमानस्थल सञ्चालन भएको उल्लेख गर्दै मलिक मुदस्सिर भन्छन्, ‘विमानस्थलमा सबैभन्दा बढी कतारका अधिकारी देखिएका छन् र कतारकै सरकारले काबुल विमानस्थलको जीर्णाेद्धारमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ।’ 

काबुलका केही निजी विश्वविद्यालयमा पढाइ सुरु भएको छ। तर सरकारी विश्वविद्यालय, कलेज र उच्च माध्यमिक विद्यालयहरू अझै बन्द छन्। 

मलिक मुदस्सिरका अनुसार धेरैजसाे शिक्षकले २ महिनादेखि तलब पनि पाइरहेका छैनन्।  

यो पनि :

हाम्रा उपप्रधानमन्त्री बरादर मारिएको खबर झुटो : तालिबान

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .