ग्लोबल


देश जितिसकेको तालिबानलाई पन्जसिर बन्यो पहिलेजस्तै कठिन, के छ त्यहाँको अवस्था?

देश जितिसकेको तालिबानलाई पन्जसिर बन्यो पहिलेजस्तै कठिन, के छ त्यहाँको अवस्था?

फाइल तस्बिर


नेपालखबर
भदौ २०, २०७८ आइतबार ९:२२, काठमाडौँ

अफगानिस्तानको राजधानी काबुलको उत्तरमा पर्ने पन्जसिर उपत्यका अफगानिस्तानको सबैभन्दा सानो प्रान्त हो र जुन एक मात्र यस्तो प्रान्त हो, जसलाई देश कब्जा गरिसकेको तालिबानले अझै आफ्नो नियन्त्रणमा लिन सकेको छैन। 

पन्जसिर आफ्नो पकडमा लिन तालिबान र त्यहाँका विद्रोही लडाकुबीच युद्ध चलिरहेको छ। शनिबारसम्म पनि भीषण युद्ध जारी छ। 

दुवै पक्षले पन्जसिर आफूले कब्जा गरिसकेको दाबी गरिरहेका छन्, तर अहिलेसम्म यसको वास्तविक स्थिति स्पष्ट हुन सकेको छैन। 

पन्जसिरको अवस्था अस्पष्ट 
अमेरिकी सेनाको स्वदेश फिर्तीसँगै तालिबानले पूरै अफगानिस्तान आफ्नो नियन्त्रणमा लिएको छ। तर पन्जसिर एउटा मात्र त्यस्तो प्रान्त हो, जुन आफ्नो कब्जामा पार्न तालिबानले अझै संघर्ष गर्नुपरिरहेको छ। तर यो नयाँ कुरा होइन। किनकि यसअघि सन् ्१९९६ देखि २००१ सम्म शासन गर्दा पनि तालिबानले यो प्रान्त आफ्नो बनाउन सकेको थिएन। 

तर तालिबानका प्रवक्ता बिलाल करिमीले यसपटक पन्जसिर प्रान्तका ७ जिल्लामध्ये ४ जिल्ला आफूहरूले नियन्त्रणमा लिइसकेको दाबी गरेका छन्। 

उनले ट्विटरमार्फत यो जानकारी दिँदै भनेका छन्, ‘मुजाहिदिन (तालिबान लडाकु) केन्द्र (प्रान्तको) तर्फ अगाडि बढिरहेका छन्।’

तर अफगानिस्तानको राष्ट्रिय प्रतिरोध मोर्चा (एनआरएफ) का स्थानीय नेता अहमद मसुदका साथमा रहेका सेनाले ख्वाक दर्रेमा ‘हजारौं अतिवादी’ लाई घेराबन्दीमा पारिएको दाबी गरेका छन्। उनीहरूको दाबी छ– तालिबानले दश्ते रेवाक क्षेत्रमा कब्जामा लिएका सवारीसाधन र अन्य चिज छाडेका छन्। 

एनआरएफका प्रवक्ता फहिम दश्तीले तालिबानसँग युद्ध जारी रहेको बताएका छन्। फेसबुकमा उनले लेखेका छन्, ‘पन्जसिर दृढताका साथ उभिइरहेनछ।’

काबुल र हेरातमा महिलाले गरेको विरोध प्रदर्शनको उदाहरण दिँदै उनले यसले अफगान नागरिकले आफ्नो न्यायको लडाइँ नछाडेको र डरलाई जितेर अघि बढिरहेको स्टाटसमा लेखेका छन्। 

यो पनि : अफगानिस्तानमा आफूविरुद्ध प्रदर्शन गर्ने महिलालाई तालिबानले बन्दुकको कुन्दाले हाने (भिडिओ)

गृहयुद्धको आशंका
ज्वाइन्ट चिफ्स अफ स्टाफका अध्यक्ष अमेरिकी जनरल मार्क मिलेले अफगानिस्तानमा गम्भीर अवस्था आउन सक्ने चेतावनी दिएका छन्। 

मार्क मिलेले भनेका छन्, ‘मलाई लाग्छ, अफगानिस्तानमा जुन किसिमको परिस्थिति देखिएको छ, त्यो गृहयुद्धमा परिणत हुने ठूलो आशंका छ। मलाई थाहा छैन, तालिबान आफ्नो सत्ता बलियो पार्न र शासन चलाउन सक्षम छ वा छैन?’

फक्स न्युजसँग कुरा गर्दै मिलेले तालिबान बलियो र स्थिर शासन कायम गर्न असफल भयो भने आगामी ३ वर्षमै अलकायदा पुनर्गठन वा आईएसआईएस वा यस्तै खालका कुनै अतिवादी संगठन विकास हुने दाबी गरे। 

यतिबेला पन्जसिरमा के भइरहेको छ, स्वतन्त्र पुष्टि गर्न सम्भव छैन। ​

पन्जसिर कब्जाको उत्सव
न्युज एजेन्सी रोयटर्सका अनुसार शुक्रबार तालिबानले पन्जसिर उपत्यका आफूले कब्जा गरेको दाबी गर्दै राजधानी काबुलमा हवाई फायरिङ गर्दै खुसियाली मनाएका छन्। त्यस क्रममा गोली लागेर १० जनाभन्दा बढीको मृत्यु र ४ जनाभन्दा बढी घाइते भएको रोयटर्सले जनाएको छ।

यसैबीच पाकिस्तानका गुप्तचर एजेन्सी आईएसआईएसका प्रमुख लेफ्टिनेन्ट जनरल फैज हमिद शनिबार काबुल पुगेका छन्।

यो पनि : ​तालिबानसँग वार्ता गर्न काबुल पुगे पाकिस्तानका गुप्तचर प्रमुख

यो पनि :​ सोभियत संघसमेत हारेको अफगानिस्तानको पन्जसिर प्रान्तः यस्तो छ भौगोलिक अवस्था र कथा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .