पञ्चवर्षीय योजना कुनै समय विश्वमा अत्यन्त्य लोकप्रिय थियो।
कम्युनिस्ट शासन भएको देश रुस भन्दछ– पाँच वर्षमा जस्तोसुकै अर्थव्यवस्थालाई सुधार गर्न सकिन्छ।
तर, रुसका राष्ट्रपति भ्लादमिर पुटिनले यस विचारलाई अझ अगाडि बढाए। बितेको पाँच वर्षमा रुसले अर्थव्यवस्थालाई विस्तार नगरेर उसले आफ्नो भू–राजनीतिक प्रभुत्व बढाइरहेको छ।
सन् २०१४ मा फकाैँ।
क्रिमियालाई नियन्त्रणमा लिएपछि र पूर्वी युरोपमा सैन्य हस्तक्षेप सुरुवात गरेपछि रुसले पश्चिमा राष्ट्रको प्रतिबन्ध झेलिरहेको थियो। रुस एक्लो र हेपिएको जस्तो थियो।
पश्चिमा मूलुकले एक स्वरमा रुसी राष्ट्रपति भ्लादमिर पुटिनको विरोध गर्दथे। उनीहरु सोच्थे विरोधको रणनीतिले पुटिनको व्यवहारमा परिवर्तन हुनेछ।
अमेरिकी राष्ट्रपति बाराक ओबामाले रुसलाई विश्वशक्ति नभएको बताउँदै एक ‘क्षेत्रीय शक्ति’मात्र भएको बताएका थिए। कुनै समय विश्व महाशक्तिका रुपमा रहेको रुसको लागि यो हेपाहा प्रवृत्ति लज्जाको विषय थियो।
अब सन् २०१९ को कुरा गरौं।
आज रुस विश्वभर प्रभुत्व बढाउने काम गरिरहेको छ। अमेरिकी अनुसन्धान विभागका अनुसार रुसले डोनाल्ड ट्रम्पमार्फत् अमेरिकी राष्ट्रपतीय निर्वाचन प्रभावित गर्ने कोशिस गरेको थियो।
रुस अफ्रिका र दक्षिण अमेरिकामा आफ्नो भूमिका बढाइरहेको छ भने युरोपेली देशको मतभेदको फाइदा उठाइरहेको छ।
मध्य पूर्वमा मध्यस्थता
मध्य पूर्वमा भइरहेका हरेक गतिविधिमा रुसको भूमिका स्पष्ट देखिएको छ। सिरियामा आफ्नो सैनिक अभियान सुरू गरेको चार वर्षपछि रूसले अमेरिकालाई त्यस क्षेत्रमा मुख्य खेलाडीको रूपमा प्रतिस्थापित गरिरहेको छ।

केही समय अगाडिमात्र पुटिनले टर्कीका राष्ट्रपति रेसेप ताइप एर्दोआनसँग टेलिफोनमा वार्ता गर्दै रुस भ्रमणको निम्तो दिएका थिए।
उनले हालै इजरायली प्रधानमन्त्रीसँग सुरक्षाको विषयमा कुराकानी गरेर साउदी अरब र युएइको भ्रमण गरे।
यो मध्य पूर्वमा रुसको बढ्दो सक्रिय भूमिकाको संकेत हो।
रुसको चर्चित अखबार मोस्कोव्सकी कोम्सोमोलेट्स यस बदलाब बारे लेख्छ,‘मध्य पूर्वको वर्तमान अवस्था अमेरिकी पूर्व विदेशमन्त्री हेनरी किसिंगर र उनको वैश्विक भू राजनीतिक चाल थियो। जुन चाल पूरा हुन सकेन। अमेरिका नामको दानब उज्यालोमै हराइरहेको छ। रुसी कुटनीति निकै आगाडि बढेको छ।’
‘रुसले विश्वमा मध्यस्थता र राजनीतिक बिचौलियाको भूमिका निर्वाह गरिरहेको छ। कुनै क्षेत्रीय शक्तिले त्यसलाई नजरअन्दाज गर्न सक्दैन।’
सिरिया–टर्कीको सिमानाबाट सेना फिर्ता गर्ने अमेरिकाको निर्णयले रुसमा बसिरहेका विज्ञहरु आश्चर्यमा परेका छन्।
रुसी सरकारसँग नजिक तथा विदेश नीतिका विश्लेषक फ्योदोर लुक्यानोव भन्छन्,‘यहाँ यो विश्वास गरिन्छ कि अमेरिकीहरू चतुर छन्। जब उनीहरू मूर्खतापूर्ण काम गर्छन् भने यो होइन कि तिनीहरू मुर्ख छन् तर हामी उनीहरूको उद्देश्य पूर्ण रूपमा बुझ्दैनौं। अमेरिकाका पनि अनौठो निर्णयहरू छन् भन्ने विश्वास गर्न यहाँका धेरै मानिसहरूलाई गाह्रो छ।
तर, यस्तो देखिन्छ कि उनीहरूले गल्ती गर्न सक्दछन्।’
सिरियामा कसरी भयो रुसको जित?
उत्तर पूर्वी सिरियाको वर्तमान अवस्थाबाट रुसले कयौं फाइदा लिनसक्छ।
–रुस सिरियाका राष्ट्रपति बसर अल असदका मुख्य राजनीतिक र सैन्य सहयोगी हो। सिरियाको नियन्त्रण जति बढी जमिनमा हुन्छ, रुसको लागि त्यो त्यति नै फाइदाजनक छ।
–कुर्द लडाकुको साथ छाडेपछि त्यस क्षेत्रमा अमेरिकाको विश्वसनीयता गिरेको छ। यो रुसको लागि अवसर हो। उसले मध्यपूर्वमा सबै पक्षलाई मध्यस्थता गरेर शान्ति स्थापना गर्नसक्छ। हाल टर्की र कुर्दिस लडाकुबीचको आक्रमणमा टर्कीका सेना र सिरियाली सेनाबीच युद्ध नहोस् भनेर रुसले यतिबेला गस्ती जारी राखेको छ। यसको अर्थ यदी मध्यपूर्वमा कसैलाई शान्ति चाहिन्छ भने उसले रुसको सहयोग माग्नुपर्छ।
–हालैको वर्षमा रुस पश्चिमा देशको गठबन्धन नेटो र युरोपेली संघको मतभेदको कमजोरीको फाइदा उठाउने कोशिसमा लागेको छ। टर्की नेटोको सदस्य राष्ट्र हो। हाल नेटोमा आवद्ध देशकै विवाद टर्कीसँग छ। यसबाट रुसले फाइदा लिनसक्छ। अमेरिका पहिल्यैबाट टर्कीसँग रुष्ट छ। किनभने उसले रुसबाट एक–४०० हवाई सुरक्षा प्रणालीको सम्झौता गरेको छ।
सन् २०१५ मा रुसले सिरियामा आफ्नो सैन्य अभियान अन्तर्राष्ट्रिय आतंकवादलाई हटाउ भन्दै सुरुवात गरेको थियो। तर, यतिबेला रुसले मध्यपूर्वी क्षेत्रमा आफ्नो प्रभाव बढाउँदै गएको छ।

सिरियाको पश्चिमी समुन्द्री तट तारतुमा रुसी नौसेनाको अड्डा बनेको छ। जसबाट रुस पुरा महासागरमा आफ्नो शक्तिको दाबेदारी प्रस्तुत गर्नसक्छ।
सत्ता परिवर्तनको सन्तुलन
संयोग यो छ कि विश्वमा रुसको सक्रियता यस्तो समयमा बढेको छ जुनबेला पश्चिममा राजनीतिक आत्मनिरीक्षाको समय चलिरहेको छ।
फ्योदोर लुक्यानोव भन्छन्,‘रुसका प्रतिद्वन्द्वीहरुले रुसलाई एक्लोपनमा धकेल्न खोजेका थिए। तर मध्यपूर्वमा बाह्य दबाबको वातावरणमा रुसले ठूलो लचिलोपन र कौशलता देखायो।’
तर, तीव्र गतिमा मजबुत हुँदै गएको रुसको अगाडि केही कठिनाइ भने अवश्य छ।
रुस कुनै आर्थिक महाशक्ति होइन। रुसको अर्थव्यवस्था कमजोर छ र सधैँ यस्तै रहिरहे मस्कोको वैश्विक महत्वाकांक्षालाई झट्का लाग्नसक्छ।
मध्यपूर्र्व एक जटिल क्षेत्र हो। त्यहाँ विभाजन छ, अविश्वास र घृणा छ। रुस त्यहाँ मध्यस्थताको भूमिकामा देखा परेको छ तर यदी उसले आफ्नो प्रभाव प्रयोग गरेर शान्ति ल्याउन खोजे त्यसले एक कठिन कुटनीतिक सन्तुलनको सामना गर्नुपर्ने हुन्छ।
बीबीसी हिन्दीबाट

प्रतिक्रिया