ग्लोबल


एनआरएनए चुनाव आज : नेतृत्वका लागि प्यानलसहित भिड्दै पन्त र आचार्य

एनआरएनए चुनाव आज : नेतृत्वका लागि प्यानलसहित भिड्दै पन्त र आचार्य

नेपालखबर
असोज २९, २०७६ बुधबार ३:०,

गैरआवासीय नेपाली संघ (एनआरएनए) को नयाँ नेतृत्व चयनका लागि आज काठमाडौंमा चुनाव हुँदै छ।

एनआरएनएको नवौं विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनअन्तर्गत ४२ पदका लागि आज मतदान हुने भएको हो। मतदान काठमाडौंस्थित हायात होटलमा हुँदै छ।

त्यसका लागि मनोनय दर्ता मध्याह्न १२ बजेसम्मका लागि खुला गरिएको एनआएरनए प्रतिनिधिले बताएका छन्।

साँझ ५ बजे देखि राति १० सम्म एनआरएनए महाधिवेशन प्रतिनिधिहरूले विद्युतीय मतदान गर्नेछन्। मतदान सकिएको १ घण्टाभित्रै नतिजा सार्वजनिक हुने बताइएको छ।

संघको नयाँ नेतृत्वका लागि वर्तमान उपाध्यक्षद्वय कुमार पन्त र कुल आचार्य प्यानलसहित चुनावी मैदानमा छन्।

अध्यक्ष पदका उम्मेद्वार आचार्य पश्चिम नेपाल पर्वतका हुन् भने पन्त गोर्खाका हुन्। दुवै रोजगारीका क्रममा करिब दुई दशक अघि बाहिरिएका थिए।

आचार्यको बेलायत तथा पोर्चुगलमा चेन रेष्टुराको व्यवसाय छ भने पन्त जर्मनीको आर्थिक राजधानी फ्रैंकफर्टलाई आधार बनाएर होटल तथा रेष्टुरा व्यवसाय सञ्चालन गर्छन्।

पन्त प्यानल
नेकपा निकट मानिने पन्त समूहबाट ५ उपाध्यक्षका लागि डा. बद्री केसी (रसिया), हिक्मत थापा (अफ्रिका), सोनाम लामा (अमेरिका), अर्जुनकुमार श्रेष्ठ (बेल्जियम) र धर्मराज अधिकारी (अस्ट्रलिया) उम्मेदवार बन्ने भएका छन्।

महिला उपाध्यक्षमा पन्त समूहबाट रसिया निवासी सपिलाराज भण्डारीले उम्मेदवारी दिने भएकी छन्।

यस्तै महासचिवमा बेलायत निवासी प्राध्यापक डा। हेमराज शर्मालाई उम्मेदवार बनाउने पन्त समूहको तयारी छ।

सचिवमा अमेरिका निवासी गौरी जोशीबारे निर्णय गरेको भए पनि शिवकुमार बरुवाल (बेल्जियम) र मध्यपूर्वका राजेन्द्र कुमार शर्मा (आरके) मध्ये एकलाई उम्मेदवार बनाउने पन्त समूहले छलफल गरिरहेको छ।

यसैगरी पन्त समूहबाट कोषाध्यक्षमा जापानका महेशकुमार श्रेष्ठले उमेद्वारी घोषणा गरेका छन् भने सह-कोषाध्यक्षमा लोकप्रसाद दाहाल (बेल्जियम), गोविन्दप्रसाद गौतम (रसिया) र एसी शेर्पा (अमेरिका)ले दाबी गरेका छन् ।

आचार्य प्यानल
कांग्रेस निकट ठानिने कुल आचार्यको प्यानलमा पाँच उपाध्यक्षका लागि डा. केशव पौडेल (अमेरिका), मन केसी (अस्ट्रेलिया), नरेन्द्र भाट (मध्यपूर्व) र रविना थापा (अमेरिका)लाई उम्मेदवार बनाउने तयारी छ।

यस्तै महासचिवमा बेल्जियम निवासी व्यवसायी जानकी गुरुङ, कोषाध्यक्षमा सोम सापकोटाले उम्मेदवारी दिने भएका छन्।

म, मेरो एनआर एन ए र मेरो नेपाल’ मूल नारा रहेको विश्व सम्मलेन नेपाल सरकार, नेपाल उद्योग वाणिज्य महासंघ र गैरआवासीय नेपाली संघको संयुक्त आयोजनामा भइरहेको हो।

विदेशमा छरिएर रहेका गैरआवासीय नेपालीलाई संघले गोलबन्द गर्दै नेपालीका लागि नेपाली अभियान अघि बढाउन सहयोग गरिरहेको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad