पोखरा १२ मा पर्ने लालीगुराँस टोलको नामबाटै जन्मिएको हो–लालीगुराँस एसोसियसन। लालीगुराँसमा रहेका युवाहरूले २०६९ साल वैशाखमा एलजी एसोसियसन गठन गरेका थिए।
युवाहरूलाई रचनात्मक कार्यमा लगाउने अभियानअन्तर्गत एसोसियसनले फुटबल क्लब गठन गर्यो। पोखरा र आसपासमा आयोजना हुने प्रतियोगितामा सहभागिता जनाउँदै गर्दा क्लबले फुटबलमा औधि राम्रोमात्र गरेन, आफूलाई देशकै सशक्त फुटबल क्लबमा दर्ज गर्यो।
स्थापनाको १२ वर्षमा चाहिँ एसोसियसनले साँच्चै राम्रो गर्यो। कास्की जिल्लास्तरीय लिग विजेता बनेको एलजीले प्रदेशमा पनि आफूलाई अब्बल साबित गर्यो। प्रदेश विजेता बन्दै एन्फा प्रेसिडेन्ट्स लिग फुटबल प्रतियोगितामा छानियो। १९ कात्तिकदेखि २ मंसिरसम्म भएको सो प्रतियोगितामा एलजी अपराजित रह्यो।
हेटौंडाको गौरीटार रंगशालामा मंगलबार फाइनलमा लालीगुराँसले काठमाडौंको चित्लाङ एफसीलाई टाइब्रेकरमा ३–१ गोलले हराएर उपाधिमात्र हात पारेन, राष्ट्रिय लिग खेल्ने निश्चित गर्यो। राष्ट्रिय लिगमा प्रेसिडेन्ट्स कपका सेमीफाइनल पुग्ने ४ र ६ वटा ए डिभिजन क्लबबीच प्रतिस्पर्धा हुनेछ।
एलजीले चित्लाङलाई समूह चरणमा ३–० गोल अन्तरले हराएको थियो। तर, फाइनल भने प्रतिस्पर्धात्मक रह्यो। खेलको ५१ औं मिनेटमा चित्लाङका कृष्ण रानाभाटले रातो कार्ड पाए पनि १० खेलाडीको भरमा चित्लाङले एलजीलाई रोक्यो।

निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि खेल टाइबे्रकरमा धकेलियो। आत्मविश्वासी एलजीका टाइब्रेकरमा लालीगुराँसका आशिष गुरुङ, लछु थापा र सरोज गुरुङले गोल गरे। चित्लाङका शिशिर लेखीको प्रहार मात्र गोल भयो।
चित्लाङका लागि पहिलो प्रहार गरेको जय गुरुङको प्रहार पोस्टमा ठोक्किएर फर्केको थियो भने गौरव श्रेष्ठले गरेको दोस्रो प्रहार लालीगुराँसका गोलरक्षक एन्जल श्रेष्ठले रोकेका थिए। मदन स्याङ्तानको प्रहार पनि बाहिरिएपछि एलजी विजेता बनेको थियो। लालीगुराँसका गोलरक्षक एन्जल श्रेष्ठ म्यान अफ दी म्याच घोषित भए।
उपाधिसँगै लालीगुराँसले १० लाख र उपविजेता चित्लाङले ५ लाख रुपैयाँ पुरस्कार पाए। चित्लाङका शिशिर लेखी घोषित हुँदा सर्वाधिक गोलकर्ता लालीगुराँसका आशिष गुरुङको नाममा रह्यो।
उत्कृष्ट गोलरक्षकको पुरस्कार पनि लालीगुराँसका एन्जलले नै प्राप्त गरे। लालीगुराँसले सेमिफाइनलमा सुर्खेतको काँक्रेबिहार र चित्लाङले बाराको नवजागृतिलाई हराएर फाइनलमा प्रवेश गरेको थियो। सेमिफाइनल प्रवेश गरेको ४ वटै टिम राष्ट्रिय लिगका लागि छनोट भएको छ।
लालीगुराँस एसोसियसनका अध्यक्ष डम्बरजंग गुरुङले पोखरेली फुटलब टिमले पाएको यो सफलता सवैको भएको बताए। उनले एन्फा लिगमा सहभागिता हुँदै गर्दा टिमलाई अझ सशक्त र जुझारु बनाउने उद्घोष पनि गरे।
‘यो सफलताले हामीलाई अझ हौस्याएको छ। लिगमा अझ राम्रो नतिजा ल्याउनका निम्ति तयारी सुरु भइसकेको छ,’उनले भने, ‘हामीलाई अहिले हौसलाको खाँचो छ।’
Shares

प्रतिक्रिया