राजनीति


नेकपा र जसपाबीच एकताका लागि १० बुँदे सहमति पत्रको मस्यौदा तयार, भोलि टुंग्याइने

नेकपा र जसपाबीच एकताका लागि १०  बुँदे सहमति पत्रको मस्यौदा तयार, भोलि टुंग्याइने

नेपालखबर
मंसिर ४, २०८२ बिहिबार २०:२०, काठमाडौँ

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)बीच एकता हुने निश्चित जस्तै भएको छ। 

बिहीबार नेकपाको केन्द्रीय कार्यालयमा दुवै पार्टीका वार्ता समितिबीच भएको बैठकमा सहमतिका लागि १० बुँदे मस्यौदा पत्र तयार पारिएको छ। यसअघि शनिबार र बुधबार बसेको वार्ता समितिको बैठकले दुई पार्टीबीचका सहमति र असहमतिका विषय पहिल्याएको थियो। 

आजको वार्तामा सहभागी नेकपा नेता प्रकाश ज्वालाले १० बुँदे सहमति पत्रको मस्यौदा तयार भएको र भोलि अन्तिम रुप दिइने बताए। 

‘१० बुँदे प्रस्ताव तयार भएको छ,’ उनले नेपालखबरसँग भने, ‘त्यसमा भोलि राजेन्द्र श्रेष्ठ र म बसेर अन्तिमरुप दिने कुरा भएको छ।’

मस्यौदामा आज वार्ता समितिका सबै सदस्यले सुझाव दिएका थिए। ती सुझावलाई समेटेर भोलि अन्तिम रुप दिइने छ। त्यसपछि वार्ता समितिसहित नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सहसंयोजक माधवकुमार नेपाल र जसपा अध्यक्ष अशोक राई बसेर अन्तिम टुंगो लाइने छ। सम्भवतः भोलि नै उक्त सहमति पत्रमा हस्ताक्षर गरिने छ। 

दुई पार्टीबीच नेपाली विशेषताको समाजवादलाई आगामी क्रान्तिको कार्यदिशा बनाउने सहमति भएको छ। त्यस्तै मागर्दशक सिद्धान्तका रुपमा माक्र्सवाद र लेनिनवादलाई मान्न जसपा तयार भएको छ। 

त्यस्तै पार्टी संगठन सञ्चालनको सिद्धान्त जनवादी केन्द्रीयता हुने कुरामा पनि दुवै पार्टी सहमत भएका छन्। 

अनि तत्कालीन नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) लगायतका विभिन्न दर्जन कम्युनिस्ट घटकबीच नेपाली कम्युनिस्ट पार्टी बनाउन भएको १८ बुँदे सहमतिलाई अनुमोदन गरिने छ।

यसरी मिलाइयो असहमतिका विषय
नेकपाले अगंगालेका धेरै विषयमा सहमत भइसकेको जसपाले समावेशिता र पहिचानको मुद्धामा थप स्पष्ट पानुुपर्ने माग गरेको थियो।

पहिचान र समावेशिता आफूहरुको मुख्य मुद्धा भएको बताएको जसपाले नेकपाको राजनीतिक दस्ताबेजमा ती विषय पछि सहमतिका आधारमा राख्न सहमति जनाएको छ। 

‘राजनीतिक प्रस्ताव, कार्यक्रम लगायतका बाँकी दस्ताबेजहरू आपसी सहमतिका आधारमा तयार गरिने भन्ने कुरा भएको छ,’ ज्वालाले भने।

त्यस्तै संगठनतर्फ जसपाका सबै केन्द्रीय सदस्य स्वतः नेकपाको केन्द्रीय सदस्य बन्ने छन्।

संगठनात्मक संरचना अन्य विषयमा अहिले धेरै छलफल नगर्ने र पछि आपसी सहमतिमा टुंगो लगाउने दुवै दलबीच सहमति भएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad