गण्डकी


लमजुङको मंगला मावि : प्रअ बास्तोलाको नेतृत्वमा यसरी बन्यो जिल्लाकै नमुना स्कुल

राजा वीरेन्द्रले छानो दिए, राष्ट्रपति पौडेलले गर्दैछन् हीरक स्तम्भको अनावरण
लमजुङको मंगला मावि : प्रअ बास्तोलाको नेतृत्वमा यसरी बन्यो जिल्लाकै नमुना स्कुल

विपेन्द्र घिमिरे
माघ ५, २०८१ शनिबार १७:५१, काठमाडौँ

लमजुङको मंगला उच्च माध्यमिक विद्यालय यतिखेर हीरक जयन्तीको चटारोमा छ।

मध्यनेपाल नगरपालिका-३, सोतिपसलमा अवस्थित यस स्कुल २०१९ सालमा स्थापना भएको हो। स्थानीय सोतिबेसी, बर्लाँची, सूर्यपाल, तान्द्राङ टक्सारलगायतका जुझारु व्यक्तिहरूको अग्रसरतामा सामान्य टहरो निर्माण गरी प्राथमिक तहसम्म पढाइ हुनेगरी स्थापना गरिएको स्कुलको अभिलेखमा भेटिन्छ।

संस्थापनकालीन व्यक्तित्वहरूका भनाइअनुसार २०१५/१६ सालतिर सोतिपसलको जमुनाथान चौतारा परिसरमा मंगलादेवी आई बसेको विश्वासले त्यहाँ मन्दिर स्थापना गरिएको थियो र उनै देवीको नामबाट स्कुलको नामकरण मंगला गरियो।

नेपाल संस्कृत विश्वविद्यालयको राष्ट्रिय सांस्कृतिक अध्ययन केन्द्रद्वारा प्रकाशित पुस्तक ‘नेपाली राष्ट्रियताको परिवेशमा दुरा समुदायको सांस्कृतिक जीवन’ मा पनि मंगलादेवीको नामबाट स्कुलको नाम मंगला रहन गएको उल्लेख छ।

यस पुस्तकका लेखक मुक्तिनाथ घिमिरे हुन्। जो यस स्कुलका पूर्वशिक्षक पनि हुन्। घिमिरेले मंगलामा २०४९ देखि २०५७ सालसम्म अध्यापन गरेका थिए।

घिमिरेको स्मरणमा १९ सालमा प्राविसम्म पढाइ हुनेगरी स्थापना भएको मंगला हाल मंगलादेवीको मन्दिर भएको गह्रामा थियो। जहाँ ढुङ्गामाटाको गाह्रोमा खरले छाएको सानो टहरामा पढाइ हुन्थ्यो।

यस्तै, २०२२ देखि २०२४ सम्म प्रधानाध्यापक रहेका वामदेव घिमिरेका अनुसार देवी उत्पन्न भएको ठाउँ पवित्र हो, यहीँ विद्यालय स्थापना गरौँ भनी केही स्थानीय जुरमुराए। १८/२० हातको कटेरो बनाई खरले छाइयो र एक जना गाउँलेलाई गुरु बन्न आग्रह गरेर पढाउन सुरु भयो।

‘धुरीपिच्छे १/२ रुपैयाँ चन्दा उठाई खर्चको व्यवस्था गरिएको थियो,’ संस्थापनकालीन प्रअ घिमिरे भन्छन्, ‘पछि सरकारबाट वार्षिक एकमुष्ट रकम प्राप्त हुन थालेपछि दुई जना शिक्षक राख्न थालिएको थियो।’

आफू प्रअ हुँदा अर्का एक जना रामनाथ ओझा पनि शिक्षक रहेको घिमिरे बताउँछन्। कटेरोभित्र फलेक ओछ्याएर विद्यार्थी पढाउने गरेको अनुभव घिमिरेसँग छ।

२०३० सालमा राष्ट्रिय शिक्षा पद्धतिको योजनासँगै स्कुल निमाविमा स्तरोन्नति भयो। त्यसपछि विद्यालय भवनलाई हाल रहेको स्थानमा सारिएको थियो।

यसपछि २०३५ साल पुसमा मावि तहसम्मको पठनपाठन सुरुआत गरिएको १ वर्षभित्रै २०३६ सालमा स्कुलले माविको स्थायी स्वीकृति पायो।

स्कुलले मावि तहसम्मको स्वीकृति पनि पायो। पठनपाठन पनि चलिरहेकै थियो। तर, भौतिक संरचना कमजोर थियो।

‘२०३६/३७ सालमा राजा वीरेन्द्रको पश्चिमाञ्चल भ्रमण थियो। तान्द्राङ टक्सार गाउँपञ्चायतका प्रधानपञ्च डिल्लीराम गिरीले टिनको छाना पाऊँ भनी पोखरामा राजासमक्ष निवेदन दिन गए,’ पूर्वशिक्षक मुक्तिनाथ सुनाउँछन्, ‘उनको निवेदनउपर सुनुवाई भई राजाको हुकुमबाट विद्यालयले टिनको छाना पाएको थियो।’

मावि बनेको १४ वर्षपछि अर्थात् २०४९ सालमा दश जोड दुईको समेत पढाइ हुनेगरी उच्च माविसम्म पुग्यो। पूर्वराष्ट्रिय पञ्चायत सदस्य स्व. लेखनाथ अधिकारीको नेतृत्वमा विद्यालयमा दश जोड दुई सञ्चालन सुरु भएको थियो।

स्कुललाई आर्थिक जोहो गर्नुथियो। शैक्षिक विकासका साथै भवन निर्माणका काम बाँकी नै थिए। २०५६ सालमा पण्डित नारायणप्रसाद पोखरेलको प्रमुख वाचनमा स्कुल परिसरमा श्रीमद्भागवत महापुराण (सप्ताह) लगाइयो। विद्यालयको अभिलेखमा भेटिएअनुसार त्यतिबेला सप्ताहबाट १३/१४ लाख रुपैयाँ संकलन भएको थियो। यसले विद्यालयको शैक्षिक एवं भौतिक स्तरोन्नतिलाई अरू बढावा दियो।

त्यस्तै, २०५६ सालमै तत्कालीन लायन्स क्लब अफ पोखराको संयोजकत्वमा सेरागुन कलेज सिङ्गापुरका विद्यार्थीको कोषबाट जीर्ण विद्यालय भवन मर्मत गरियो। उक्त कार्य विद्यालयका पूर्वविद्यार्थी तीर्थलाल श्रेष्ठको अग्रसरतामा भएको थियो।स्कुलले यसरी भौतिक संरचनामा आफूलाई परिष्कृत गर्दै लग्यो। यसका साथै शैक्षिक गतिविधिमा पनि अघि बढ्दै गयो।

हाल मंगलामा झन्डै ५० कोठासहितका विद्यालय भवन छन्। पुस्तकालय र विषयगत प्रयोगशालाहरू छन्। 

विद्यालयको रेकर्डमा भेटिएअनुसार हालसम्म यहाँबाट २१ सय बढी विद्यार्थी एसएलसी/एसईई उत्तीर्ण भएका छन् भने १ हजार ६६ जनाले १२ कक्षा पास गरेका छन्।

देशका अधिकांश सामुदायिक विद्यालय विद्यार्थी अभावका कारण अन्यत्र गाभिएका र गाभिने अवस्थामा पुगेका बेला मंगलामा भने अद्यापि विद्यार्थीको संख्या उल्लेख्य छ। हाल यहाँ आठ सयको हाराहारीमा विद्यार्थी अध्ययनरत छन्।

मंगलामा हाल ८ सयको हाराहारीमा विद्यार्थी अध्ययनरत छन्

यसरी बन्यो नमुना स्कुल
समथर जमिनमा अवस्थित, स्कुलसम्मै पक्की सडक, उल्लेख्य विद्यार्थी संख्या, जुझारु अभिभावक, कर्मशील शिक्षक अनि प्रअको कुशल नेतृत्वले मंगला मावि हाल लमजुङको नमुना स्कुलको रूपमा छ।

नमुना विद्यालय विकास एवं सञ्चालन निर्देशिका २०७४ (पहिलो संशोधन २०७५) को छनोटभित्र मंगला २०७४ मै परेको हो।

निर्देशिकाअनुरुप संघीय सरकारले पहिलो पटक २०७४ सालमा देशभरका २२२ वटा विद्यालयलाई नमुना स्कुलका रूपमा छनोट गरेको थियो।

यो छनोटमा लमजुङका दुई विद्यालय परेका थिए। जसमा मंगलाले पनि स्थान सुरक्षित गर्‍यो। निर्वाचन क्षेत्रको बाँडफाटका आधारमा लमजुङमा ‘क’ र ‘ख’ गरी दुई वटा क्षेत्र छन्। जसमध्ये क्षेत्र ‘ख’मा पर्ने मंगला संघीय सरकारले गरेको घोषणामा यस क्षेत्रको एक मात्र नमुना स्कुल हो।

यसपछि हालसम्म झन्डै दुई सयको हाराहारीमा संघीय तवरबाट नमुना स्कुल घोषणा गरिएका छन्। जसमा लमजुङका अरू स्कुल परेका छैनन्।

मंगलाका शिक्षक

निर्देशिकाले नमुना स्कुलका लागि माध्यमिक विद्यालय हुनुपर्ने, पर्याप्त जग्गा, सुरक्षित स्थानमा अवस्थित, विद्यार्थी संख्या लगायतका मापदण्ड तोकेको छ।

जसअन्तर्गत पर्याप्त जग्गा भन्नाले तराईमा भए न्युनतम दुई बिघा र हिमाल, पहाड तथा उपत्यकामा भए न्युनतम १० रोपनी जग्गा हुनुपर्ने भनी उल्लेख छ। त्यस्तै, सुरक्षित स्थानमा अवस्थित भन्नाले बाढी, पहिरो, भूक्षय लगायतका प्राकृतिक प्रकोपका दृष्टिले जोखिमपूर्ण स्थानमा नरहेको हुनुपर्ने भनिएको छ।

विद्यार्थी संख्याको हकमा शिक्षा नियमावलीले तोकेबमोजिमको कक्षागत न्युनतम विद्यार्थी संख्याको कुल योग पुगेको हुनुपर्ने भनिएको छ।

यस्तै, शिक्षण सिकाइ प्रक्रिया अपनाउँदा आधुनिक शिक्षण विधि र प्रविधिसहितको शिक्षण सिकाइ क्रियाकलाप सञ्चालन हुनुपर्ने, विशेष आवश्यकता भएका बालबालिकालाई समेत मध्यनजर गरी शिक्षण सिकाइका लागि आवश्यक पर्ने उपयुक्त र पर्याप्त सिकाइ सामग्रीको व्यवस्था गर्नुपर्ने निर्देशिकामा उल्लेख छ।

यसका साथै, माध्यमिक तहमा विज्ञान विषयका लागि पर्याप्त सामग्रीसहितको प्रयोगशाला भएको हुनुपर्ने र सबै नमुना विद्यालयले योजना अवधिभित्र कक्षा ११ र १२ मा विज्ञान विषय सञ्चालन गर्नुपर्ने भनिएको छ।

बालमैत्री, अपाङ्गमैत्री, विपद् प्रतिरोधात्मक कक्षाकोठा, प्रअ, शिक्षक एवं कर्मचारीको लागि छुट्टै प्रशासनिक भवन, आवासीय सुविधा, पुस्तकालय, प्रयोगशाला, सङ्ग्रहालय, प्राथमिक उपचार तथा परामर्श कक्ष, व्यावसायिक कार्यशाला कक्ष, खानेपानी तथा सरसफाइ, चमेना गृह, अडिटोरियम हल, घेराबारा तथा बगैँचा, खेलमैदान, वैकल्पिक विद्युतीय व्यवस्था आदि पनि नमुना स्कुलका मापदण्ड हुन्।

झुपडीबाट सुरु भएको मंगलाले विभिन्न कालखण्ड पार गर्दै निर्देशिकाको यी मापदण्ड पूरा गरी आफूलाई जिल्लाकै नमुना स्कुलमा दर्‍याइरहेको छ।

विद्यालयको यो सफलतामा कुशल नेतृत्व लिए प्रधानाध्यापक विष्णुहरि बास्तोलाले। जो २४ वर्षदेखि निरन्तर प्रअको भूमिकामा छन्।

शिक्षणमा ३१ वसन्त बिताएका बास्तोला मंगला छिरेको २९ वर्ष भयो। यहाँ आएको ५ वर्षपछि नेतृत्व सम्हालेका उनले जागिर १०-४ को हो भन्ने सोचेनन्। साँझ-बिहान भनेनन्। बिदामा पनि चुप लागेर बसेनन्।

१२ घण्टासम्म स्कुलकै काममा खटे। आफू मात्र खटेनन्, मातहतका शिक्षक/कर्मचारीलाई पनि आफ्नो पछाडि लामबद्ध गराए। विद्यालयको शैक्षिक गुणस्तर उकास्न हामी आफैँ जाग्नुपर्छ भनेर कन्भिन्स गराए।

विद्यालयको औपचारिक सञ्चालन समय बिहान पौने १० बाट बेलुका सवा ४ बजेसम्म बन्यो।

‘कहिले त बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म पनि स्कुलकै काममा खटिइयो,’ प्रअ बास्तोला भन्छन्, ‘म प्रअ हुँदाताका स्कुलको अवस्था अलि कमजोर थियो। यसरी हुँदैन सुधार गर्नुपर्छ भन्ने भयो।’

निजी स्कुल सञ्चालकको समेत अनुभव बटुलिसकेका बास्तोलाले बारम्बार अभिभावक भेला गराउन थाले। अभिभावकको सुझावहरू लिने काम भयो।

विद्यालयको सभाहल

देश सशस्त्र द्वन्द्वको चपेटामा थियो। लमजुङ प्रभावित क्षेत्रभित्रै पर्दथ्यो। माओवादीले निजी स्कुल बन्द गराउने नीति लिएको थियो।

६२/६३ को जनआन्दोलन र विस्तृत शान्ति सम्झौतापछि देशले नयाँ मोड लियो। बन्द भएका निजी स्कुल कति पुन: सञ्चालनमा आए। कुनै उठ्न सकेनन्।

मंगलामा अंग्रेजी माध्यमबाट पढाउने कुरा चल्यो। आफैँ पनि अंग्रेजी शिक्षक त्यसमाथि निजी स्कुल चलाएको अनुभव। जसले शैक्षिक स्तर उकास्न सक्छु भन्ने आत्मविश्वास प्रअ बास्तोलालाई दियो। उनले यो मौका गुमाउन चाहेनन्। स्कुल अंग्रेजी माध्यममा गयो।

यसका लागि एउटा समिति बनाएर अभिभावकको प्रत्यक्ष निगरानीमा काम सुरु भयो। पाठ्यपुस्तक पनि निजी स्कुलकै शैलीमा लागू भयो।

‘निजी स्कुलप्रति आम अभिभावकमा अंग्रेजीको जुन विश्वास छ, त्यो विश्वासमा पुग्न सामुदायिक स्कुल पनि सक्छन् भन्ने भरोसा अभिभावकलाई दिलाउनुथियो,’ बास्तोला भन्छन्, ‘दार्जिलिङबाट शिक्षक ल्याएर पनि राखियो। ५/७ जना दार्जिलिङबाट आउनुभएका शिक्षकले १०/१२ वर्ष नै स्कुलमा योगदान गर्नु भयो।’

शिक्षक तालिममा विद्यालयले ध्यान केन्द्रित गर्‍यो। शिक्षकहरूलाई कम्प्युटर/सूचना प्रविधि (आईसीटी)मा अभ्यस्त बनाउने काम तालिम लगायतका क्रियाकलापबाट भए।

प्रअ बास्तोलाको अनुभवमा ६२ सालपछि विद्यालयको शैक्षिकस्तर सुधार हुँदै गयो। यसबीचमा छात्रावास पनि सञ्चालन भयो। जिल्लास्तरीय परीक्षामा पटक-पटक पहिलो स्थान हासिल गर्‍यो।

पालिकास्तरीय मूल्यांकनमा अघिल्लो साल पहिलो भयो भने यो साल दोस्रो भयो। यो वर्षको एसईईमा उच्च अंक ल्याउने विद्यार्थीको जीपीए ३.९५ छ।

‘एसएलसी (हाल एसईई)मा शतप्रतिशत नतिजा पनि धेरै पटक ल्याइसकेको छ,’ बास्तोला खुसी व्यक्त गर्छन्, ‘साविक पश्चिमाञ्चल विकास क्षेत्रमा लगातार ४ वर्षसम्म चौथो स्थान हासिल गरिसकेको छ।’

सुधारको काम एक्लैले हुँदैन। नेतृत्वको कुशल अभिभावकत्वमा टिमले काम गर्ने हो। चुनौती त जुनसुकै क्षेत्रमा आउँछन्। त्यसलाई कुशलतापूर्वक पन्छाउन सक्नु नेतृत्वको क्षमताभित्र पर्दछ।

स्कुल सुधारमा लागिपर्दा अटेर गर्ने शिक्षकलाई दरबन्दी नै काटेर अन्त पठाइदिएको अनुभव प्रअ बास्तोलासँग छ। स्कुलमा स्थायी दरबन्दीमा रहेका तर बाहिर निजी स्कुलमा पनि लगानी भएका शिक्षकप्रति प्रअ बास्तोला चुप बसेनन्। ल्याकत राम्रो नदेखिएका शिक्षकप्रति उनी कठोर रूपमा प्रस्तुत भए।

‘प्रअ भएपछि धेरै शिक्षक आफैँले नियुक्ति गरेँ। पहिले स्थायी शिक्षक कम नै हुन्थे। स्कुलमा कोटा खाली भएपछि आफैँले अस्थायी शिक्षकहरू नियुक्ति गरेँ,’ बास्तोलाको कथन छ, ‘आफैँले नियुक्ति गरेका शिक्षक भएपछि प्रअप्रति बढी उत्तरदायी हुनेभए। त्यसमाथि आफूलाई कस्तो शिक्षक चाहिएको हो भनेर छनोट गर्ने सुविधा रह्यो। यसले गर्दा आफ्नो मिसनमा अघि बढ्न सजिलो भयो।’

मावि प्रथम श्रेणीका बास्तोला आफू अब्बल शिक्षक हुन्। अध्यापनमा कमजोर देखिएका शिक्षक उनको किनारामा परे।

‘बुढाभन्दा युवा शिक्षकको संख्या बढी भएपछि कामको रफ्तार मिल्यो,’ युवामै प्रअको बागडोर सम्हालेका बास्तोला भन्छन्, ‘समस्यै नआएका/नआउने त होइनन् तर कमजोरहरू आफैँ पाखा लाग्दै जाने परिस्थिति बन्यो र मेरो विद्यालय सुधारको लक्ष्यले गति लियो।’

शिक्षक सेवामा मावि प्रथम श्रेणी शिक्षकहरूका लागि उच्च पद हो। जुन निजामती सेवाको सहसचिव सरह हुन्छ।

नेपालको संविधानमा आधारभूत तह (कक्षा ८) सम्म अनिवार्य एवं निःशुल्क र माध्यमिक तह (कक्षा १२) सम्मको शिक्षा निःशुल्क हुने भनिएको छ। 

यही अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयनका लागि अनिवार्य तथा निःशुल्क शिक्षासम्बन्धी ऐन, २०७५ र अनिवार्य तथा निःशुल्क शिक्षासम्बन्धी नियमावली, २०७७ जारी छन्।

यी कानुन र नियमावलीअनुसार हेर्ने हो भने सार्वजनिक विद्यालयले माध्यमिक तहसम्मका विद्यार्थीसँग भर्ना शुल्क, मासिक शुल्क, परीक्षा शुल्क आदि शीर्षकमा शुल्क लिन पाउँदैनन्।

तर, स्कुलहरूले सहयोग या विभिन्न शीर्षकमा शुल्क लिन छोडेका छैनन्। यसमा मंगला पनि अछुतो छैन। अछुतो मात्र होइन, फन्दामा पनि पर्‍यो। 

एकातिर अंग्रेजी माध्यमको सुरुआतपछि निजी तवरले राखिएका शिक्षक पाल्नुपर्ने बाध्यता अर्कोतिर स्कुलले शुल्क लियो भनेर मुद्दा पर्‍यो।

यस विषयमा अभिभावकहरूको सुझबुझपूर्ण व्यवहारले नै सहज बनाएको प्रअ बास्तोला बताउँछन्। नि:शुल्क भनिदिएर मात्र स्कुल चलाउन नसकिने उनको धारणा छ।

‘अंग्रेजी माध्यममा गइसकेपछि कतिपय शिक्षक निजी स्रोतबाट राख्नुपर्ने बाध्यता हुन्छ,’ बास्तोला प्रश्न गर्छन्, ‘निजी शिक्षकलाई तलब खुवाउने पैसा त चाहियो होला नि?’

अहिले पनि विद्यालयले सहयोग शुल्कस्वरुप कक्षाअनुसार निश्चित रकम संकलन गर्छ। निजी शिक्षकहरूलाई पाल्न पुग्ने बराबरको सहयोग लिने गरेको छ।

जसका लागि अंग्रेजी माध्यम सञ्चालन समिति गठन छ। आन्तरिक रूपमा गठित यो समितिले अभिभावकलाई हिसाबकिताब बुझाउँछ। कुनै अभिभावकलाई कुनै जिज्ञासा रहेमा यही समितिसँग छलफल हुन्छ। पारदर्शी ढंगले काम गरेपछि गुनासो नै नआउने उनी बताउँछन्।

‘नाफा कमाउने उद्देश्य राखी गरिएको क्रियाकलापमा अभिभावकको असन्तुष्टि हुने हो,’ बास्तोला निर्धक्क हुन्छन्, ‘आफ्नै छोराछोरीको गुणस्तरीय पढाइका खातिर भएको खर्चमा उहाँहरू सन्तुष्ट हुनुहुन्छ। उहाँहरूकै म्यान्डेटमा विद्यालयले सहयोग शुल्क लिन्छ।’

नेपालखबरसँगको कुराकानीमा बास्तोला थप्छन्, ‘विद्यालयको गुणस्तर सुधार्न सकेमा यसकै लागि गरिएको लगानीका लागि अभिभावकको साथ रहन्छ भन्ने उदाहरण पनि हो यो।’

मंगलाको शैक्षिक स्तर सुध्रिँदै गएपछि अभिभावकहरूले निजी स्कुलबाट छोराछोरी झिकेर यहाँ भर्ना गर्ने क्रम अद्यापि छ। पहिले निजी स्कुलसँग प्रतिस्पर्धा गर्नुपर्थ्यो अहिले निजी स्कुलले मंगलासँग प्रतिस्पर्धा गर्नुपर्ने स्थिति आएको बास्तोला बताउँछन्।

सानै उमेरमा शिक्षण पेसा छिरी युवावस्थामै प्रअको बागडोर सम्हालेर स्कुललाई उचाइमा पुर्‍याएका बास्तोलासँग उमेरहद पुग्न अझै ७ वर्ष बाँकी छ। तर, उनी अब जिम्मेवारी हस्तान्तरण गर्ने सोचाइमा छन्।

आफूले यो अवस्थामा ल्याएको स्कुलको स्तर घट्न नदिन तथा अझ राम्रो बनाउन अब आउने प्रअलाई केही सुझाव पनि छन् उनीसँग।

स्कुलको लागि चाहिने भौतिक संरचना सम्पन्न भइसकेकोले अब आउने प्रअले प्रविधिको क्षेत्रमा अगाडि बढ्दा हुने उनको राय छ। आईसीटी लगायत विद्यार्थी केन्द्रित विधिमा ध्यान केन्द्रित गर्न उनी सुझाउँछन्।

‘पछिल्लो समय आर्टिफिसियल इन्टलिजेन्स (एआई) का कुरा आइरहेका छन्,’ उनको सुझाव छ, ‘विद्यार्थीलाई यसमा अभ्यस्त बनाउँदै लैजानुपर्ने देखिन्छ।’

नेपाल शिक्षक संघ, लमजुङको २०६१ देखि ६९ सम्म दुई कार्यकाल अध्यक्ष भइसकेका बास्तोलाले निकट भविष्यमै शिक्षण पेसाबाट बिदा लिई समाजसेवामा लाग्ने योजना सुनाए।

स्कुलले मनाउँदैछ हीरक जयन्ती
आफूले गरेको त्याग र मेहनतले स्कुल यहाँसम्म आइपुग्दा खुसी तुल्याएको बताउने उनी आफ्नै पालामा हीरक जयन्ती पनि मनाउन पाउँदा निकै हर्षित छन्।

जयन्तीकै दिन स्कुलको स्मारिका विमोचन गर्ने तयारी रहेको उनले सुनाए। जसमा स्कुललाई सुरुआतको कालखण्डदेखि योगदान गरेका, सुरुको परिस्थितिदेखि आजसम्म स्कुलसँग परिचित विभिन्न व्यक्तित्वका लेख रचना प्रकाशित हुनेछन्।

यसबाट अग्रजको सम्मान र इतिहासको संरक्षण हुने उनको बुझाइ छ। जसमा छरिएर रहेका अभिलेख स्मारिकामार्फत एकीकृत हुनेछन्। जयन्तीमा अहिलेसम्मका पूर्वप्रअ र व्यवस्थापन समितिका अध्यक्षहरूलाई एकसाथ सम्मान गर्ने योजनामा कार्यक्रमको मूल समिति छ।

हीरक जयन्तीका लागि स्कूलको पूर्वविद्यार्थी समूह पनि उत्साहित भएर अघि बढेको छ। पूर्वविद्यार्थीको समूहले माघ १ गते काठमाडौँमा विशेष भेटघाटको कार्यक्रम आयोजना गरेको थियो।

उक्त कार्यक्रममा समूहको निम्ता स्वीकार्दै काठमाडौँ आइपुगेका प्रअ बास्तोलाले हीरक जयन्ती मनाउनको लागि १ करोड रुपैयाँ उठाउने लक्ष्य राखिएको बताए।

माघ १ मा काठमाडौँमा आयोजित कार्यक्रममा मन्तव्य राख्दै प्रअ बास्तोला

हीरक जयन्तीका लागि ४० देखि ५० लाख रुपैयाँको अनुमानित बजेट आँकलन गरिएको र यदि लक्ष्यअनुसार रकम उठेर पैसा बाँकी रह्यो भने एउटा कोष खडा गरी विद्यार्थी र अस्थायी शिक्षक/कर्मचारीको हितमा खर्च गर्न सकिने उनको कथन थियो।

‘हाम्रो लक्ष्य १ करोड रुपैयाँ उठाउने हो। हीरक जयन्तीका लागि अनुमानित बजेट ४० देखि ५० लाख रुपैयाँ आँकलन गरिएको छ,’ कार्यक्रममा बोल्दै बास्तोलाले भने, ‘यदि लक्ष्यअनुसार पैसा उठ्यो र पैसा बाँकी रह्यो भने विद्यार्थी कोष खडा गरेर राख्ने। विद्यार्थी गतिविधिमा खर्च गर्ने। शैक्षिक गतिविधिलाई बढावा दिने काममा खर्च गर्ने।’

उनले अगाडि थपे, ‘हाम्रो विद्यालयमा धेरै शिक्षक निजी स्रोतबाट हुनुहुन्छ। विद्यालय सहयोगीहरू अस्थायी हुनुहुन्छ। उहाँहरूको न पेन्सन हुन्छ न केही हुन्छ। लामो समय काम गर्नुभएको छ। यो पैसाले यस्ता कर्मचारी, शिक्षकको हितमा पनि काम गर्न सकिन्छ। भविष्यको केही जोहो गरिदिन सकिन्छ कि भन्ने सोचका साथ समिति अघि बढिरहेको छ।’

बास्तोलाका अनुसार हालसम्म ५० लाख रुपैयाँ संकलन भइसकेको छ।

यस्तो छ कार्यक्रम तालिका
स्कुलले सार्वजनिक गरेको तालिकाअनुसार हीरक जयन्ती माघ १६ गते हुनेछ। जसको उद्‌घाटन राष्ट्रपति रामचन्द्र पौडेलले गर्नेछन्। यस दिन राष्ट्रपति पौडेलले हीरक स्तम्भको अनावरण समेत गर्ने कार्यक्रम छ।

स्मारिका विमोचन र नवनिर्मित भवनको उद्‌घाटन पनि हुने यस दिन गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलगायत अन्य मन्त्री तथा सांसदको समेत उपस्थिति रहनेछ।

साताव्यापी रूपमा मनाइने जयन्तीमा फरक-फरक दिन पालिका प्रमुख, प्रदेश मन्त्रीहरू, संघीय पूर्वमन्त्री, संघीय बहालवाला मन्त्रीसम्मले कार्यक्रममा उपस्थिति जनाउनेछन्।

जसअनुसार, ११ गतेको कार्यक्रममा संघीय सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङ, १२ गते मध्यनेपाल नगरपालिकाका प्रमुख रमेशकुमार पाण्डे, १३ गते गण्डकी प्रदेश सरकारका वन तथा वातावरणमन्त्री भेषबहादुर पौडेल, १४ गते नेकपा (माओवादी केन्द्र)का नेता एवं पूर्वमन्त्री देवप्रसाद गुरुङ र १५ गते गण्डकी प्रदेश सरकारका आर्थिक मामिला मन्त्री टकराज गुरुङको उपस्थिति रहनेछ। हरेक दिनका कार्यक्रम सोही दिन समापन हुनेछन्।

यसैगरी, राष्ट्रियस्तरका साहित्यकारहरूको उपस्थितिमा साहित्यिक सम्मेलन, राष्ट्रिय ख्यातिप्राप्त कलाकारहरूको उपस्थितिमा सांगीतिक प्रस्तुति, स्थानीय गुरुङ, मगर, नेवार लगायतका समुदायको आ-आफ्नो संस्कृति झल्किने झाँकी प्रदर्शन, अन्तरविद्यालय हिज्जे, लोकनृत्य प्रतियोगिता आदि सप्ताहव्यापी कार्यक्रमका अन्य आकर्षण रहनेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad