गण्डकी


कुश्मामा पर्यटकको घुइँचो, दैनिक सय बढीले गर्छन् बञ्जी

कुश्मामा पर्यटकको घुइँचो, दैनिक सय बढीले गर्छन् बञ्जी

नेपालखबर
असोज २९, २०८१ मंगलबार ११:५८, पर्वत

पर्यटकीय पूर्वाधार निर्माण भएसँगै पर्वतका विभिन्न पर्यटकीयस्थलहरूमा दसैँका बेला आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लागेको छ।

दसैँ मनाउनेसँगै बिदामा घुम्न आउने पर्यटकको सङ्ख्यामा वृद्धि भएको हो। सदरमुकाम कुश्मा विभिन्न सङ्घसंस्थाहरुका अवलोकन भ्रमण गर्ने गन्तव्यसमेत बन्दै गएको छ।

यहाँस्थित बञ्जीजम्प, लामो सुपरम्यान शैलीको जिपलाइन, मुलुककै अग्ला र लामा झोलुङ्गेपुलले आन्तरिक पर्यटक आकर्षित गरेको हो।

हिउँदयाम सुरु भएसँगै अहिले पर्वत सदरमुकाममा दैनिक एक हजार बढी सङ्ख्यामा आन्तरिक पर्यटक भित्रिने गरेका छन्।

विस्तारै कुश्माका पर्यटकीयस्थलमा बाह्य पर्यटक पनि आउन थालेको स्थानीय होटल व्यवसायी सुरेश केसीले जानकारी दिए। पर्यटकको आगमनले कुश्मा बजारका होटलहरू भरिभराउ छन्।

कुश्मामा सुविधासम्पन्न होटल थपिएका छन्। मुस्ताङ घुम्न जाने आन्तरिक तथा बाह्य पर्यटकका कारण पनि पर्वत सदरमुकाममा चहलहपल बढ्न थालेको पर्यटन व्यावसायी कृष्णप्रसाद श्रेष्ठले बताए। मुस्ताङ जाने पर्यटकहरू जाने र फर्किने बेलामा बास बस्न यहाँ आउने गरेको श्रेष्ठको भनाइ छ। 

उनका अनुसार चितवन, विराटनगर, हेटौँडा, दोलखा, नेपालगन्ज, बर्दिया, दाङ, बुटबल, कपिलवस्तुलगायत क्षेत्रबाट शैक्षिक तथा अवलोकन भ्रमणका लागि यहाँ धेरै आउने गरेका छन्।

बञ्जी जम्प र जिपलाइनमा समेत एक साता अघिदेखि ‘टिकट बुकिङ’ भएको सञ्चालकको भनाइ छ। अन्य दिनभन्दा शुक्रबार र शनिबार पर्यटकको चाप बढी हुने गरेकामा दसैँमा धेरै दिन बिदा हुने भएकाले भीडभाड भएको द एडभेञ्चर रिसोर्टका सञ्चालक सुनिलसिंह बाँनियाले जानकारी दिए।

यस वर्षदेखि बाह्य पर्यटकसमेत उल्लेख्य मात्रामा आउन थालेको द क्लिफका सञ्चालक राजु कार्कीले बताए। 

दैनिक एक सयभन्दा बढीले बञ्जी तथा स्विङ गर्ने गरेको, त्यसकै हाराहारीमा पिङ, रक क्लाइम्बिङ र साइक्लिङ गर्ने गरेको उनले जानकारी दिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad