गण्डकी


शशांकले टिकट नपाउँदा नवलपुरमा रास्वपा उत्साही, एमाले पनि छैन कमजोर

शशांकले टिकट नपाउँदा नवलपुरमा रास्वपा उत्साही, एमाले पनि छैन कमजोर

वाशुदेव मिश्र
माघ १६, २०८२ शुक्रबार ८:४७, पोखरा

२०१२ सालमा अमेरिकी सहयोगमा सञ्चालित ‘राप्ती दुन विकास योजना’ले धेरै पहाडियालाई चितवनको लालपुर्जा थमायो।

आदिवासी थारुहरूको बस्तीमा पहाडियाहरू मिसिएपछि चितवनले नयाँ रूप पायो।

लमजुङदेखि बागलुङ, पर्वत, धादिङलगायतका जिल्लाका पहाडिया चितवन झरे।

राम्रै हैसियत भएका लप्टन बखानसिंह गुरुङहरू पहिलो छिमलमा चितवन मात्र झरेनन्, नयाँ बस्ती विकासलाई पनि सघाए। चितवन फैलिँदै गयो।

मधेस झर्नेको लर्को नरोकिएसँगै गैँडाकोट हुँदै ठोरीसम्म पनि पहाडियाहरूले झुप्रो ठड्याउन थाले। तत्कालीन नवलपरासी क्षेत्रतिर पहाडिया बस्ती फैलनुमा पूर्वपश्चिम राजमार्ग पनि सहायक बन्यो।

हो, त्यही क्रममा गैँडाकोटले छिटो काँचुली फेर्‍यो।

देवचुली, कावासोती पनि बिस्तारै विकसित बने। पाल्पा, पर्वत, स्याङ्जातिरबाट झरेकाहरूले माथिल्लो भाग अर्थात् बुलिङटार क्षेत्रलाई हराभरा बनाए।

नवलपरासीको पूर्वी क्षेत्र साँच्चै पहाडियाहरूको घना बस्तीमा बदलियो। तर रैथाने थारुहरूको उपस्थिति कायमै रह्यो।

त्यसैको प्रमाण त हो- २०४८ सालको चुनावमा सो क्षेत्रबाट जातीय सन्तुलनसहित एमालेले मझीलाल थारु र कांग्रेसले सूर्यभक्त अधिकारीलाई उम्मेदवार बनायो। दुवैले जिते पनि। 

सो क्षेत्रबाट कांग्रेसले जित हात पार्नुमा चाहिँ पुरानो विरासतले काम गरेको थियो।

२००७ सालको क्रान्तिमा नेपाली कांग्रेसको जनमुक्ति सेनाले विराटनगरपछि ठोरी कब्जा गरेको थियो।

२०१७ सालमा राजा महेन्द्रले ‘कु’ गरेपछि कांग्रेसले सुरु गरेको सशस्त्र विद्रोहको क्रममा लालध्वज गुरुङ,  बुद्धिसागर रानामगर, जगतप्रकाशजंग शाह, कमल राई, शमशेरबहादुर राई नेतृत्वको जनमुक्ति सेनाले २०१८ माघ २३ गते ठोरी नै कब्जा गरेको थियो। सो टोलीले माघ २६ गते चितवन कब्जा गर्‍यो तर टोली पञ्चायती शासकको प्रत्याक्रमणमा पर्‍यो। धेरैजना सहिद भए।

उम्किएकाहरूलाई नवलपुरमै रहेका कांग्रेसीहरूले जोगाए। कालान्तरमा त्यो पहाडबाट विस्थापितहरू तत्कालीन पञ्चायतको भाषामा ‘अत’ (अराष्ट्रिय तत्त्व) को आश्रयस्थल बन्यो।

गण्डकीका पूर्वमुख्यमन्त्री कृष्णचन्द्र नेपालीका पिता गोवर्द्धन शर्माहरू त्यही क्रममा तनहुँबाट नवलपुर पुगेका हुन्।

कांग्रेसको गढ मानिने नवलपरासीमा २०५१ मा पनि कांग्रेसकै उम्मेदवार महेन्द्रध्वज जिसी र मझिलाल थारु विजयी भए।

२०५६ सालमा भने ४ क्षेत्रमध्ये २ क्षेत्र कांग्रेसले गुमायो। क्षेत्र नम्बर १ बाट दामोदर बस्ताकोटी र ४ बाट देवेन्द्रराज कँडेल विजयी हुँदा सद्‌भावना पार्टीबाट ३ मा हृदयेश त्रिपाठीले बाजी मारे भने २ बाट एमालेका चन्द्रमणि खरेलको प्रवेश भयो।

क्षेत्र नम्बर २ अर्थात् पहाडियाहरूको बस्ती रहेको क्षेत्रमा कांग्रेस कमजार देखिएको परिप्रेक्ष्य एकातिर थियो भने अर्कोतिर सभापति गिरिजाप्रसाद कोइराला कांग्रेसको राजनीतिमा संस्थापक नेता बीपी कोइराला पुत्र डा. शशांक कोइरालालाई स्थापित गराउने ध्याउन्नमा थिए।

२०६४ सालको संविधानसभा चुनावमा माओवादी लहर थियो।

नवलपरासीमा रहेका बीपीभक्त सूर्यभक्त अधिकारी र तिलकप्रसाद सापकोटाहरूले ‘कमजोरी टार्न’ शशांकलाई नवलपरासीको पूर्वी क्षेत्रबाट उम्मेदवार बनाउनुपर्ने प्रस्ताव गिरिजाबाबुकहाँ लगे। गिरिजाले शशांकलाई नवलपरासी पठाए।

शशांकलाई नवलपरासीमा निम्त्याएपछि उनीहरूले भनेका थिए रे, ‘देख्यौ, मैले यहाँ बीपीका छोरालाई बोलाएर ल्याएँ।’

तर, शशांकको आगमन अवसर खोज्नेहरूका लागि ‘भारी’बन्यो।

शशांक लगातार ४ पटक कांग्रेसको उम्मेदवार बन्दा अन्य कांग्रेसीहरू अवसरबाट बञ्चित भए।

देश संघीयतामा जानुपूर्व नवलपरासीको यो पूर्वी क्षेत्र अहिले नवलपुरको नामले चिनिन्छ।

यद्यपि सरकारी कामकाजको भाषामा भने यसलाई नवलपरासी (बर्दघाट-सुस्तापूर्व) भनिन्छ।

हो, पहाडका विभिन्न जिल्लाबाट बसाइँ सरेकाहरूको ठाउँ नलपुरको क्षेत्र नम्बर १ मा योपटक चाहिँ शशांक उम्मेदवार छैनन्।

नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट सभापति चुनिएका गगन थापाले उनलाई योपटक टिकटबाट बञ्चित गरेका हुन्।

शशांकले टिकट नपाएकोमा उनका दाजु शेखर कोइरालाले गुनासो गरेका छन् तर योपटक सो क्षेत्रमा कांग्रेसले कावासोती नगरपालिकाका ५२ वर्षीय बालकृष्ण घिमिरेलाई उम्मेदवारको रूपमा अगाडि सारेको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सो क्षेत्रबाट राजन गौतमलाई दोहोर्‍याएको छ।

यस्तै एमालेबाट भागिरथ सापकोटा, नेपाली कम्युनिस्ट पार्टीबाट लोकप्रसाद भुर्तेल, राप्रपाबाट दीपकचन्द्र बस्ताकोटी, राष्ट्रिय जनमोर्चाबाट चन्द्रदत्त सापकोटा यहाँ उम्मेदवार छन्। 

यसैगरी मंगोल नेसनल अर्गनाइजेसनबाट राजु गुरुङ, नेसनल रिपब्लिक नेपालबाट विष्णुमान विक, हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीबाट भीमचन्द्र गुरुङ, नेपाल कम्युनिस्ट पार्टी माओवादीबाट बेलबहादुर सारु, राष्ट्रिय जनमुक्ति पार्टीबाट शत्रुधन थापा, उज्यालो नेपाल पार्टीबाट पार्वती गुरुङ, जनता समाजवादीबाट छविलाल मगर अनि स्वतन्त्र उम्मेदवारका रूपमा अविनाश सुनार, गोकुल शर्मा र विन्दु केसीले पनि उम्मेदवारी दर्ता गराएको निर्वाचन आयोगको कार्यालय नवलपुरले जनाएको छ।

शशांक मैदानमा नहुँदा नवलपुरमा सबैभन्दा उत्साही र खुसी भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देखिएको छ। 

यसका केही कारण छन्

पहिलो : रास्वपाले गएको निर्वाचनमा सबैभन्दा कम मतान्तरले हार बेहोरेको गण्डकीको पहिलो निर्वाचन क्षेत्र नै नवलपुर १ हो।

बीपीपुत्र तथा नेपाली कांग्रेसका महामन्त्रीसमेत रहेका शशांकले २७ हजार १२६ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी एमालेका कृष्ण पौडेलले २५ हजार ४४ मत प्राप्त गरेका थिए भने तेस्रो स्थानमा रहेका राजन गौतमले २३ हजार ३०५ मत प्राप्त गरेका थिए।

हिसाब गर्ने हो भने राजन जीतबाट ३ हजार ८ सय ३० मतलेमात्र पछि थिए।

राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट यसपटक पनि अघिल्लो निर्वाचनका उम्मेदवार नै चुनावी मैदानमा उत्रिएका छन्।

रास्वपा उम्मेदवार राजन गौतमले अघिल्लो निर्वाचनमा २४ हजार ३ सय ५ मत प्राप्त गरेका थिए। 

समानुपातिकतर्फ भने रास्वपाले पहिलो दल बन्दै २५ हजार ७ सय ७४ मत प्राप्त गरेको थियो।

समानुपातिकतर्फ त रास्वपाले अन्य दललाई पछि नै पारिदियो। रास्वपाले २५ हजार ७ सय ७४ मत ल्याउँदा कांग्रेसले २३ हजार ४१ र एमालेले २२ हजार १ मत पाएको थियो। त्यहाँ राप्रपाले ५ हजार १ सय र माओवादी केन्द्रले ३ हजार ६ सय मत पाएका थिए।

गौतम त्यो बेला चुनावी मैदानमा ओर्लिएका कान्छा उम्मेदवार थिए।

स्थानीय निर्वाचनपछि माओवादी केन्द्र त्यागेर रवि लामिछाने समर्थक बनेका गौतमले चुनावमा मिहिनेत मात्र गरेका थिएनन्, आफ्नो उम्मेदवारी परिवर्तनका लागि भन्ने सन्देश पनि प्रवाह गरेका थिए।

तर, आफ्नो पुरानो दल माओवादीको समेत समर्थन पाएका शशांकसँग भिड्दा परिणाम हात लागेन।

अहिले राजन रास्वपा गण्डकीको सभापति छन्। दोहोरिएर र विवादरहित ढंगले टिकट पाउने नेतामध्ये उनको पनि नाम आउँछ।

वैचारिक रूपले प्रस्ट रहेका उनलाई शशांक उम्मेदवार नबन्दा झन् फाइदा पुगेको छ। अहिले कांग्रेसलाई माओवादी र एकीकृत समाजवादीको साथ छैन।

एमाले एक्लै छ भने हिजोको माओवादी केन्द्र र एकीकृत समाजवादीले समानुपातिकमा पाएको मत रास्वपासँग प्रतिस्पर्धा गर्न काफी छैन।

दोस्रो : चितवनको हावा र रविको प्रभाव। रास्वपा अध्यक्ष रवि लामिछानेको चुनावी क्षेत्रसँग नवलपुर १ जोडिन्छ। नारायणी वारि रविको वाहवाही हुँदा वा रवि चुनावी प्रचारमा जाँदा त्यसको प्रभाव स्वतः गैँडाकोटलगायतका क्षेत्रमा परिहाल्छ।

देशको मुख्य राजमार्ग नवपुरलाई छिचोलेर जाने भएकाले चुनावी दौडाहामा रहने नेताहरू नवलपुर झर्ने र प्रचारमा जुट्ने पनि भइहाल्छ। त्यसले पनि रास्वपा योपटक सो क्षेत्रमा बलियो देखिएको छ।

त्यसो त यहाँ योपटक कांग्रेसलाई विरासत जोगाउने मात्र होइन, नयाँ नेता जन्माउने अवसर पनि प्राप्त भएको छ।

कांग्रेसले सुरुमा त्यहाँ यसअघिको चुनावमा गैंडाकोटको मेयरमा प्रतिस्पर्धा गरेका गजेन्द्रबहादुर आलेलाई उम्मेदवार बनाएको थियो।

मनोनयनको दिन माघ ६ गते महासमिति सदस्य गजेन्द्र र कांग्रेस नवलपुरका उपसभापति बालकृष्ण घिमिरे दुबै सभापति गगन थापाको हस्ताक्षरसहितको टिकट लिएर जिल्ला निर्वाचन कार्यालय पुगे। दुवैले मनोनयन दर्ता गरे।

निर्वाचन आयोगले पहिलो दर्ता भएको भन्दै बालकृष्णलाई आधिकारिक उम्मेदवार घोषणा गर्‍यो।

कांग्रेस संसदीय बोर्डले पनि उनलाई नै आधिकारिक उम्मेदवार मानेपछि आलेले उम्मेदवारी फिर्ता लिए। आले र घिमिरे दुवै स्थानीय हुन्।

शशांकले पटकपटक अवसर पाउँदा कांग्रेसमा नयाँ पुस्ताले अवसर नपाएको गुनासो सुनिँदै आएको थियो। कांग्रेससँग योपटक अवसर छ।

बुलिङटारमा जन्मेका र कावासोती बस्दै आएका घिमिरे स्थानीयस्तरमा भिजेका नेता हुन्। कांग्रेसमा सुरुदेखि नै विशेष महाधिवेशन पक्षधर उनी योपटक गगनलाई भावी प्रधानमन्त्रीमा प्रक्षेपण गर्दै कांग्रेस सुधारिएर आएको नारासहित उम्मेदवारकहाँ गइरहेका छन्।

मध्यबिन्दु प्रादेशिक अस्पतालका अध्यक्ष, लुम्बिनी कलेजका प्राध्यापक तथा विभिन्न सामाजिक संघसंस्थामा रहेका घिमिरेलाई जन्मथलो बुलिङटार र मधेस भनिने भागबाट पनि राम्रै सहयोग मिल्ने कांग्रेसको विश्वास छ।

‘सुरुमा टिकटले केही अन्योल बनायो तर अहिले सबै मिलिसक्यो,’ नेपाली कांग्रेस गण्डकीका महामन्त्री विष्णु लामिछाने भन्छन्, ‘यो चेतनाको बीउ छरिएको ठाउँ हो। राणादेखि पञ्चायत फाल्न हाम्रा पुर्खाले रगत बगाएको ठाउँ हो। त्यही विरासतमा हामी सजिलै जित्छौँ । हाम्रा उम्मेदवारलाई पहाडले चिनेको छ,समथर भागले बुझेको छ।’

पहाडियाको बस्ती भएको नवलपुर १ मा विभिन्न ठाउँबाट बसाइँ सरेकाहरूको अघोषित प्रतिस्पर्धा पनि हुन्छ।

यस्तो प्रतिस्पर्धा खासगरी गैँडाकोट क्षेत्रमा देखिन्छ। त्यहाँ बागलुङ, गोर्खालगायतका जिल्लाबाट आएकाहरूले आफ्नो भेगको नेता खोज्छन्।

त्यसले चुनावमा केही असर गर्ने भए पनि कांग्रेसलाई चाहिँ फरक नपार्ने महामन्त्री लामिछानेको जिकिर छ।

एमालेका उम्मेदवार भागिरथ सापकोटा व्यवसायी हुन्।

कावासोतीका यी चर्चित व्यवसायीको धरातल पनि कमजोर चाहिँ छैन। पर्यटन उद्योगमा आबद्ध उनी काठमाडौँमा बसेर व्यापार गर्छन्।

सापकोटाको साइनो गुल्मबाट २०३३ सालमा नवलपुर झरेका हुन्। उनी लामो समय नवलपुर अखिलमा काम गरेका थिए। उनी एमालेनिकट नेपाल राष्ट्रिय उद्योग वाणिज्य संघका अध्यक्ष पनि हुन्।

एमालेका अगुवा नेता कृष्ण पौडेलहरूको समर्थन रहेका उनी पार्टीभित्र मध्यमार्गी नेताका रूपमा चिनिन्छन्।

‘राजनीति र व्यवसायलाई सँगै लैजान मानिसलाई उद्यममा ल्याउनुपर्छ भन्ने मेरो नारा हो,’ उनले नेपालखबरसँग भने, ‘नेपालको सेन्टरमा भएको जिल्लाको समुचित विकास हुन सकेन।

जनप्रतिनिधिहरूले यसलाई ध्यान दिनुभएन। चितवन र नवलपरासीलाई एउटा करिडोरका रूपमा विकास गर्ने मेरो उद्देश्य छ।’

लोकप्रसाद भुर्तेलचाहिँ १ ‘ख’बाट २०७९ सालमा प्रदेशसभा उम्मेदवार थिए। त्यो बेला उनले १४ हजार १ सय १६ मत प्राप्त गर्दै नतिजा एमालेका रोशन गाहा मगरलाई सुम्पेका थिए।

गाहाले त्यो बेला १७ हजार ८ सय २३ मत ल्याएका थिए।

कांग्रेससँगको गठबन्धनबाट उम्मेदवार बनेका भुर्तेल जनयुद्धकालदेखि नै माओवादीमा जोडिएका नेता हुन्।

समानुपातिकमा सम्मानजनक मत ल्याएको राप्रपा,नयाँ उदाएको उज्यालो नेपाल, पूर्वमा तहल्का मच्चाएका हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले पनि पहाड र तराई जोड्ने यो भूगोलबाट माया खोजेका छन्।

चुनावमा जनता जनार्दन हुन्, जनताको मत अन्तिम हुन्छ। जनलहर आउँदा वा ल्याउन सक्दा अघिल्ला चुनावी अंकगणित निकम्मा साबित हुन पनि सक्छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad