गण्डकी


पोखरेलीलाई झस्काइ रहने वैशाख २३ को सेतीको बाढी

पोखरेलीलाई झस्काइ रहने वैशाख २३ को सेतीको बाढी

नेपालखबर
बैशाख २४, २०८३ बिहिबार १४:५७, गण्डकी

स्थानीय सेती नदीमा १४ वर्षअघि अर्थात् २०६९ वैशाख २३ गत शनिबार बिहान आएको विनाशकारी बाढी सम्झेर स्थानीय जनता अहिले पनि त्रसित देखिन्छन्।

माछापुच्छ्रे र अन्नपूर्ण हिमश्रृङ्खलाबाट खसेको हिमपहिरो र साना हिमताल फुट्दा उत्पन्न भएको विपद्लाई मार्मिक र दर्दनाक घटनाका रुपमा पोखरेली जनताले लिने गरेका छन्।

सेती नदीमा आएको वेमौसमी बाढीको चर्तिकला र त्यसले पुर्‍याएको धनजनको क्षतिबाट प्रभावित जनतामा त्रासको अवस्था सिर्जना भएको हो। बिहानपख अचानक आएको सेती नदीको बाढीले क्षणभरमै मानव जीवनलाई तहसनहस बनाएको थियो।  

हिमाल र आसपासको क्षेत्रबाट झरेका विशाल तीन वटा ढुङ्गाले सेतीको खोचमा बाँध बनाएको र माथिल्लो भागबाट लगातार झरेको माटो, ढुङ्गा र गेग्रानले नदीमा अस्थायी बाँध बनायो, जसले त्यहीँ सानो तालको रुप लियो। अस्थायी प्रकृतिको तालमा पानी र माटो, बालुवा–ढु्ङ्गाको गेग्रान थपिदै जाँदा भार थेग्न नसकी तल्लो तटीय क्षेत्रतर्फ फुटी क्षणभरमै ५८ जनाको ज्यान गएको थियो। 

सेतीनदी किनारमा सामान्य जस्तै थियो। खारपानी र सार्दीखोलाका बासिन्दा आफ्नै दैनिकीमा व्यस्त थिए भने बाहिरबाट  गएकाहरूमध्ये केही स्थानीय तातोपानी कुण्डमा आनन्द लिइरहेका थिए भने कतिपय नदी किनारामा वनभोजमा रमाइरहेका थिए। यसैबीच त्यहाँ कसैले पनि कल्पना समेत गरेका थिएनन् केही मिनेटमै त्यही शान्त सेतीनदी मृत्युको भेल बनेर आउनेछ भनेर।

पीडादायी सो घटनालाई जीवन्त र स्मरणीय बनाउने उद्देश्यले बाढीमा ज्यान गुमाउनेको स्मृतिमा रेडियो अन्नपूर्णद्वारा गठित राहतकोषको आर्थिक सहयोग र सार्दीखोला पोखरा सम्पर्क समाजको व्यवस्थापनमा निर्मित सेतीबाढी स्मृति पार्कमा निर्माण गरिएको स्तम्भमा उल्लेख गरिएको छ। स्तम्भमा लेखिए अनुसार कूल ५८ जनाको ज्यान गएकामा तीन जना विदेशीसहित ३१ जना बेपत्ताको सूचीमा रहेका छन्।

तीन वटा ढुङ्गा विस्तारै सँगसँगै बगेको कारण जति तल आयो त्यती बाढीले झन् उग्ररुप लिएको र उक्त ढुङ्गा मान्द्रो बेरेको चालमा विस्तारै  बगेको माछापुच्छ्रे गाउँपालिका वडा नं ३ चिप्लेटी निवासी घटनाका प्रत्यक्षदर्शी रामजी भण्डारी बताउँछन्।

सोही स्थानमा व्यापार व्यवसाय गर्दै आएका भण्डारीले भने,‘घर नजिक सेती नदीको किनारस्थित खरको कटेज छाउँदै गर्नुभएको अवस्थामा बुबाले चिच्याउँदै बाढी आयो सबै जना भाग भन्नासाथ भागेर  ज्यान जोगाउन सकिएको हो, नत्र अहिले १४औँ स्मृति दिवस सम्पन्न भइसक्थ्यो।’

सेतीनदीको दायाँबायाँ दुवैतर्फ बितन्डा मच्चाउने तीन वटा ढुङ्गा यही नजिक चिप्लेटीमा थन्किएको देख्न सकिन्छ। ‘बाढी आउँदा जमिन नै भूकम्प गएजस्तो भएको थियो’ भण्डारी सम्झनुहुन्छ, ‘वास्तवमा ५८ जनाको ज्यानखाने त तीनै ढुङ्गा हो वा होइन थप अनुसन्धानको बिषय बनेको छ।’

सेतीनदीभन्दा करिब २० मिटरमाथि रहेका ती तीन वटा ढुङ्गा बाढीपछि मात्र सो स्थानमा देखिएका हुन्। जुन ढुंङ्गा किनारामा लागेपछि सेतीनदीले पहिल्यकै सामान्य रुप लिएको उनी बताउँछन्।

‘उक्त स्थानमा देखिएका ती ढुंङ्गा नयाँ हुन् बाढीभन्दा अघि थिएनन् बाढीसँगै आएका हुन्’ उनले भने,‘हामीले पुस्तौँदेखि घाँस काट्ने, गाई भैँसी चराउने, मकै– कोदो रोप्ने र भट्टमास छर्ने सो ठाउँमा अहिले पनि तीन वटै ढुङ्गा सँगै रहेका छन्।’

भन्डारी भन्छन्, ‘सेतीबाढीका बारेमा धेरै अनुसन्धान भए, सतर्कताको यन्त्र पनि जडान गरिए तर सेतीनै थुन्ने र बाढीको प्रमुख भूमिका खेल्ने शान्त, तर इतिहास बोकेका तीनवटा ढुङ्गाको बारेमा कसैको पनि चासो र ध्यान पुगेको देखिँदैन। यदी ती ढुङ्गा उक्त स्थानमा नरोकिएको भए सेतीले थप उग्ररुप लिने र अझ बढी क्षेती पुर्‍याउने थियो। ’

उक्त स्थानलाई पार्कका रुपमा विकास गर्दै बाढीमा ज्यान गुमाएकाहरूको तीनै ढुङ्गामा शालिक बनाउन सक्ने हो भने धार्मिक, सांस्कृतिक, र पुरातात्विक महत्वले आन्तरिक एवं बाह्य पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने माछापुच्छ्रे गाउँपालिका वडा नं २ का वडाध्यक्षका गणेश आचार्यको भनाइ छ। उनले ती ढुङ्गाका बारेमा आफू जानकार नभए पनि पुरातात्विक महत्वको सो क्षेत्रको स्थलगत अध्ययन गरेर सम्भावनाका बारेमा आवश्यक पहलसहित पर्यटन प्रवर्द्धनमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।  

यसअघि बाढीग्रस्त क्षेत्रसहित तातोपानी कुण्डलाई समेटेर पर्यटन प्रवर्द्धन गर्ने लक्ष्यका साथ रु २२ लाखको गुरुयोजना निर्माण भएपनि सम्बन्धित निकायबाट बजेटको व्यवस्था हुन नसकेकोमा उनको दुखेसो थियो।  

माछापुच्छ्रे गाउँपालिका वडा नं १ को सादल, कपुते, भराभरीलगायतका स्थान हुँदै सेती नदी थुनिएको स्थानसम्म पुग्नका लागि झण्डै २० देखि ३० किलोमिटरको दुरी पार गर्नुपर्ने उनी बताउँछन्। सेतीको बाढीले केवल मानवजीवन मात्र होइन, संरचना पनि तहसनहस बनायो। पुल, सडक, घर, खानेपानी र बिजुलीका संरचना क्षतिग्रस्त भए। पोखरा उपत्यकासम्म यसको असर देखिएको थियो।

प्रकृति संरक्षण कोष अन्नपूर्ण संरक्षण आयोजना (एक्याप) पोखराका प्रमुख डा रविन कडरियाका अनुसार सेतीमा आएको बेमौसमी बाढीले जनधनको क्षतिसहित पर्यटन प्रवर्द्धनमा समेत असर परेको बताउँदै माछापुच्छ्रेको वडा नं १ मा रहेको तातोपानी कुण्डलाई थप व्यवस्थित गर्न लागिएको छ।

प्रकृतिको सुन्दरता जत्तिकै यसको शक्ति भयावह हुन सक्दछ भन्ने यथार्थ सेतीको यो बाढीले सधैँ सम्भाइरहने छ। बाढीले केवल संरचना मात्र होइन परिवारका आधारस्तम्भहरू पनि खोस्यो जसका कारण धेरैले आफन्त गुमाए भने कैयौँ बालबालिका अभिभावकविहीन हुन पुगे। सो घटनाको सम्झनामा यस क्षेत्रका स्थानीयको सहभागितामा विभिन्न कार्यक्रम हुँदै आएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad