पोखरामा बुधबार साँझ खुकुरीले हानेर महिलाको हत्या गरिएको छ।
प्रहरीका अनुसार बुधबार साँझ ७ बजेर ८ मिनेटतिर मुख्य बजार क्षेत्र पोखरा ८ शिवालय चोकनेर पोखरा-५, मालेपाटनकी ४२ वर्षीया सिर्जना पौडेल केसीलाई अपरिचित समूहले एक्कासि खुकुरी प्रहार गरेको हो।
खुकुरी प्रहारबाट गम्भीर घाइते उनलाई नजिकको अस्पताल पुर्याइए पनि बचाउन नसकिएको प्रहरीले जनाएको छ।
यो घटनापछि पोखरा पुनः त्रसित बनेको छ। घटनामा संलग्नहरू फरार छन्।
सामाजिक सञ्जालतिर ती युवतीले हत्या हुनुअघि अर्की महिलासँग कुरा गरेको भिडिओ छ्यासछ्यास्ती भएको छ। तर हत्यारा को हो भन्ने पत्ता लाग्न सकेको छैन।
जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डीएसपी हरिबहादुर बस्नेतका अनुसार प्रहरी घटनाको अनुसन्धानमा जुटेको छ।
त्यो घटना किन र कसले गरायो भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहँदा ‘पर्यटकीय नगरी’ पोखराको अर्को सुरक्षा कमजोरी बाहिरिएको छ।
प्रहरीले वरपरका घरमा रहेका र सार्वजनिक भएका सीसी क्यामेराबाट खिचिएको भिडिओ अध्ययन गरिरहेको छ।
तर ती भिडिओ प्रस्ट छैनन्।
कास्की प्रहरी प्रवक्ता डीएसपी बस्नेतले भने,‘नगरलाई सुरक्षित राख्न र प्रमाणहरू संकलनका लागि सीसी क्यामेरा महत्त्वपूर्ण हुन्छन्। तर पोखरामा रहेका अधिकांश सीसी क्यामेरा काम लाग्ने अवस्थामा छैनन् र अनुसन्धानका लागि गाडीको नम्बर प्लेटमा रहेको नम्बर पनि पहिचाना हुने ३६० डिग्री भ्युजका क्यामेरा चाहिन्छन्। त्यो नहुँदा अनुसन्धानमा कठिनाइ भएको छ।’
पोखरा महानगरपालिकाले चालु आर्थिक वर्ष २०८२/८३ को बजेटमा सहरमा सीसी क्यामेरा राख्न २ करोड रुपैयाँ विनियोजन गरेको थियो।
प्रहरीसँगको सहकार्यमा सीसी क्यामेरा जडान गर्ने तथा सहरमा सडक बत्तीका निम्ति भन्दै विनियोजित २५ लाख रुपैयाँ कहाँ खर्च भयो?
प्रहरीलाई जानकारी छैन।
योजनाअनुसार काम भएको भए, अन्तिम चौमासिकमा सीसी क्यामेराका लागि ६० लाख रुपैयाँ विनियोजन हुनुपर्थ्यो।
असुरक्षित पोखरा
२०३८ सालको जेठको अन्तिम साता पोखरामा भएको एउटा निर्मम हत्याले सिंगो देश नै स्तब्ध बन्यो। काठमाडौँबाट घुम्न आएका दुई किशोरीको बलात्कारपछि गरिएको त्यो हत्याको प्रसंग सुन्दा पनि आङ नै सिरिङ्ग हुन्छ।
जेठ २९ गते पोखराको पृथ्वीनारायण क्याम्पसमुनिको खोचमा अर्धनग्न फेला परेको शव र शवसँगै रहेको लेडिज ब्यागमा भेटिएको परिचयपत्रले ती किशोरी नमिता भएको खुल्यो। छोरी खोज्न आएका पिता माधवराज भण्डारीले हत्याको प्रत्यक्षदर्शी वन कार्यालयका पाले चूडामणि अधिकारी भएको पत्तो लगाए। उनलाई वन कार्यालयमै गएर भेटे तर त्यही बेला आएको प्रहरीले दुवैलाई जिल्ला प्रहरी कार्यालय लग्यो।
हिरासतमा राख्यो र भोलिपल्ट १० बजेको तारेख दिएर छाड्यो। तर असार ५ गते घरबाट प्रहरी कार्यालय जान हिँडेका चूडामणि त्यसपछि कहिल्यै घर फर्केनन्।
यता चुडामणि हराए उता असार ६ गते माधवकी कान्छी छोरी सुनिताको शव पनि सेती बगरमै भेटियो। नमिता–सुनितासँगै घुम्न निस्केकी निरा पराजुली अहिलेसम्म बेपत्ताकै सूचीमा छन्।
देश नै हल्लाउने त्यो नमिता–सुनिता हत्याकाण्डको रहस्य कहिल्यै सुल्झिएन। बरु शाही शासनकालमा त्यो फाइल गोप्य रूपले बन्द गरियो।
नमिता–सुनिताको विभत्स हत्याले पोखरा देशकै असुरक्षित सहरका रूपमा कलंकित बन्यो। खोच नै खोच भएको पोखरामा मान्छे आउन डराउन थाले। कतिसम्म भने घुम्न आएका पर्यटक पनि साँझ पर्नुपूर्व नै सुरक्षित ठाउँमा पुग्ने अवस्था सिर्जना भयो।
लाहुरेको सहर पोखरा! बिस्तारै आधुनिकतातर्फ लम्कँदै थियो। सहरीकरण बढ्नु भनेको अपराधमा बढोत्तरी हुनु पनि हो। हिप्पीकालीन संस्कृतिसँग लसपस गरेको पोखरामा लागुऔषध सेवनको समस्या पनि उस्तै थियो।
लेकसाइडका गल्लीहरुमा हिँड्ने दुर्व्यसनीहरूका कारण पनि पोखरा असुरक्षित सहरमा दर्ज भयो। सानातिना झैझगडा र टोले गुन्डाहरूको कारण पनि पोखरा बेलाबेलामा चर्चामै रह्यो। तर, बिस्तारै समय फेरियो। सहर घना हुँदै गयो। हिजो एक्लै हिँड्न डराउनुपर्ने ठाउँमा पनि घर बने।
मान्छेहरूले केही सुरक्षित महसुस गर्न थाले। नेपालकै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा स्थापित पोखराको मुख्य सहरी क्षेत्रमा रातभर नै मान्छे निर्धक्क हिँड्ने वातावरण पनि बन्यो।
देवीकुमारी बरालले ‘गृह प्रशासन सुधार कार्ययोजना २०७४ को बुँदा नं. २५ मा ठमेल, दरबारमार्ग, पोखराको लेकसाइडजस्ता पर्यटकको आवागमन बढी हुने क्षेत्रहरूमा २४ घण्टा बजार खुला रहने गरी आवश्यक सुरक्षाको प्रबन्ध गरिनेछ भन्ने व्यवस्था’लाई आधार बनाउँदै पोखरालाई २४ सै घण्टा खुला राख्न उच्च अदालत पोखरा गुहारिन्।
जिल्ला प्रशासन कार्यालय कास्कीलाई विपक्षी बनाएर दिइएको सो निवेदनका आधारमा २०८० कात्तिक २२ गते उच्च अदालत कास्कीले पोखरा २४ सै घण्टा खोल्ने आदेश दियो।
पोखरालाई २४सै घण्टा खुला राख्नुपर्ने आवाज चर्को बन्दै गएका बेला व्यवसाय २४सै घण्टा खोल्न दिन उच्च अदालत पोखराले आदेश दिएको छ।
मुख्य न्यायाधीश राजनप्रसाद भट्टराईको एकल इजालासले अन्तिम निर्णय नहुन्जेलसम्मका लागि कानुनविपरीतको कार्य भएको अवस्थामा बाहेक निवेदकलाई कानुनबमोजिम व्यापार व्यवसाय गर्न रोक्ने, रोक्न लगाउने कार्य नगर्न/नगराउन जिल्ला प्रशासन कार्यालय कास्कीको नाममा आदेश दिएको थियो।
पोखराको मुख्य पर्यटकीय क्षेत्र लेकसाइड २४सै घण्टा खुल्ला रहने भनिए पनि केही सीमित क्लब,रेस्टुराँ र होटलबाहेक अन्यको हकमा भने अहिले त्या नियम लागु भएको छैन।
प्रहरीले सुरक्षा प्रबन्धमा आउने जटिलता, आवश्यक जनशक्तिको अभाव तथा सुुरक्षा प्रबन्धका लागि आवश्यक पर्ने भौतिक पूर्वाधार अभावको कारण देखाउँदै सामान्यतया राति १२ बजेपछि धेरैजसो व्यवसाय बन्द गराउँदै आएको छ।
यो पनि: सेती खोँचका यी दुखान्तहरू
Shares

प्रतिक्रिया