गण्डकी


पोखराका पूर्वमेयर थापा: ढल्नुअघि भनेका थिए- पार्टीले व्यहोरेको क्षतिको जिम्मा म लिन्छु

पोखराका पूर्वमेयर थापा: ढल्नुअघि भनेका थिए- पार्टीले व्यहोरेको क्षतिको जिम्मा म लिन्छु

वाशुदेव मिश्र
फागुन २८, २०८२ बिहिबार २०:२२, पोखरा

गण्डकी प्रदेशसभाका पूर्वसदस्य, पोखराका पूर्वमेयर तथा नेकपा एमाले केन्द्रीय सदस्य कृष्ण थापा बिहीबार एमाले कास्की क्षेत्र नम्बर १ को चुनावी समीक्षा बैठकमा बोल्दै थिए। 

फागुन २१ गते सम्पन्न चुनावमा कास्कीको क्षेत्र नम्बर १ मात्र नभएर तीनवटै क्षेत्रमा एमाले नराम्ररी पराजित भएको थियो। २०७९ को चुनावमा तीनवटै क्षेत्रमा विजयी बनेको एमालेले किन हार व्यहोर्‍यो भन्नेबारे बैठकमा चर्कै कुरा भएका थिए। नेतृत्वको कमजोरीका कुरा पनि उठाइएका थिए। कास्की क्षेत्र नम्बर १ एमाले सचिव तथा गण्डकी प्रदेशमा एमाले संसदीय दलका नेता खगराज अधिकारीको जन्मथलो पनि हो। 

इन्चार्जको रुपमा कृष्ण थापाले करिब १० मिनेट लगाएर जवाफ दिए। एमाले कास्की अध्यक्ष तथा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा उम्मेदवार रहेका बैनबहादुर अधिकारी क्षेत्रीका अनुसार मन्तव्यपछि उनी कुर्सीमा बसे र आफूलाई असजिलो भएको बताए। यो दिउसो २ः४५ बजेको कुरा हो । लगत्तै उनलाई हृदयघात भयो। हतार–हतार मणिपाल शिक्षण अस्पतालमा पु¥याउँदा पनि थापा ब्यूँतिएनन्। डाक्टरले उनलाई मृत घोषित गरे। 

को हुन् कृष्ण थापा?
२०१६ साल चैत गते पोखराको बाटुलेचौरम जन्मेका कृष्ण थापा सानैदेखि वामपन्थीको संगतमा परे। एमालेका पुराना नेता सोमनाथ अधिकारी ‘प्यासी’,रामचन्द्र अधिकारीहरुको संगठनले उनीमा वामपन्थी चेत भरियो। पोखराको पृथ्वीनारायण क्याम्पस पढ्दा उनी एमालेको भातृ संगठन अखिलको राजनीतिमा होमिएका थापा २०३७ सालमा पृथ्वीनारायण क्याम्पसको स्ववियुमा सदस्य निर्वाचित भएका थिए। २०३९ देखि एक वर्ष चिकित्सा शास्त्र अध्ययन संस्थान, सुर्खेतको स्ववियु सहसचिव भएका थिए।

२०४१ सालको भदौ २९ गते उनले तत्कालीन नेकपा (माले) को सदस्यता लिएका थिए। २०४१ सालमा अनेरास्ववियु कास्कीको छैठौँ जिल्ला कमिटी अध्यक्ष बनेका उनी २०४३ को जनपक्षीय चुनाव परिचालन कमिटीको संयोजकको जिम्मा सम्हालेका थिए। त्यो चुनावमा सोमनाथ अधिकारी ‘प्यासी’ भारी मतले विजयी बनेका थिए। 

थापा स्वास्थ्यकर्मी पनि हुन्। उनले चिकित्साशास्त्र विज्ञान संस्थान, सुर्खेतबाट सीएमए (कम्युनिटी मेडिकल असिस्टेन्ट) पढाइ पूरा गरेका थिए भने शिक्षा विषयमा स्नातक पनि गरेका थिए। 

२०४६ सालको जनआन्दोलनमा वाममोर्चा गण्डकीको सदस्यको रुपमा उनी आन्दोलनमा सक्रिय थिए। २०४६ सालदेखि दुई वर्ष अनेरास्ववियु केन्द्रीय कमिटी सदस्य बने। २०४९ सालमा नेकपा एमाले जिल्ला कमिटी कास्कीको सचिवालय सदस्य बनेका उनी २०५२ सालमा एमालेको प्रथम नगर अधिवेशनबाट सचिव निर्वाचित भएका थिए। 

२०६५ सालमा एमाले कास्कीको सचिव भएका थापा २०७० सालमा नवौँ कास्की जिल्ला कमिटीको अधिवेशनबाट अध्यक्ष निर्वाचित भए। थापा २०५१ सालमा उपत्यका नगर विकासको अध्यक्ष, २०५४ सालको स्थानीय चुनावमा उनी तत्कालीन पोखरा महानगरपालिकाको मेयरमा निर्वाचित भएका थिए। 

मेयर हुँदा उनले पोखरालाई शिक्षा, स्वास्थ्य र पर्यटनको सहर बनाउने अभियान सुरु गरेका थिए। गीतकारसमेत रहेका उनले पोखरासँग जोडिएको ‘श्रम सीप जुटाऔं, पोखरालाई उठाऔं’ भन्ने गीतमात्र लेखेनन्,त्यो अभियान पनि चलाए। उनकै कार्यकालमा पोखराले जापानको कोमागाने नगरसँग भगिनी सम्बन्ध स्थापित गरेको थियो। कोमागाने नगरको सहयोगमा पोखरा–६ लेकसाइडमा कोमागाने पार्क र पोखरा–१६ बाटुलेचौरमा कोमागाने अस्पताल निर्माणमा उनको योगदान छ।

थापा मेयर हुँदा पोखराको विकासको लागि गुरुयोजना बनेको थियो भने पोखरा १४ बाच्छेबुडुवामा ल्याण्डफिल साइटसमेत निर्माण भएको हो। लामो समय जनप्रतिनिधिविहीन हुँदाको अवस्थामा उनले नै राजनीतिक दलहरुको संयन्त्रमार्फत् पोखरा महानगरपालिका संचालन पनि गरे। उनी २०५५–०७३ सम्म नेपाल नगरपालिका संघको केन्द्रीय सचिवालय सदस्य थिए। 

२०७० सालमा एमालेले उनलाई संविधानसभा सदस्यको उम्मेदवार बनायो। कास्की क्षेत्र नम्बर २‘क’बाट उम्मेदवारी दिए पनि उनी सफल भएनन्। तर, हारले उनको राजनीतिक यात्रा भने रोकिएन। एमालेभित्र अध्यक्ष केपी ओली, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र हालका सचिव खगराज अधिकारीसँग निकट सम्बन्ध राख्ने थापाले २०७४ सालमा पुन: कास्की २ (क) बाट प्रदेशसभा सदस्यको टिकट पाए। त्यो बेला उनी मन्त्री बन्न चाहन्थे तर तत्कालीन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उनलाई मन्त्री बनाएनन्। 

सांसदको कार्यकाल सकिएपछि २०७९ को चुनावमा उनी पुनः पोखरा महानगरपालिकाको मेयरका उम्मेदवार बने। त्यो बेला सुरुमा शिक्षक संगठनबाट एमालेको राजनीति गरेका दीपक पौडेललाई टिकट दिइएको थियो। तर, दीपक ‘सुन चोरी’काण्डमा मुछिएपछि थापाले टिकट पाएका थिए। दीपकको चरित्रहत्या गर्ने काम थापानिकट व्यक्तिबाटै भएको त्यो बेला गाइँगुइँ चलेको थियो। 

पटक–पटक विवादमा पर्ने र आलोचनाको तारो बन्दै आएका उनी खरो बोल्थे। विपक्षीहरूलाई मर्ममै प्रहार हुने गरी बोल्ने र आफूनिकटका व्यक्तिको प्रशंसामा ज्यादा शब्द खर्चने बानीका कारण पार्टीभित्र उनका आलोचकहरू पनि उत्तिकै थिए। तर, नेतृत्वको नजिक रहेका उनी १०औँ र ११औँ महाधिवेशनमा केन्द्रीय सदस्य चुनिए। कास्की इन्चार्जको जिम्मेवारी पनि पाए। 

यही फागुन २१ गतेको चुनावको क्रममा पनि उनी विवादबाट मुक्त भएनन्। अघिल्लो चुनावमा उनले मेयरको टिकट खोसेका थिए भने योपटक उनको टिकट खोसिएको थियो। सुरुमा कास्की क्षेत्र नम्बर २ उनलाई नै टिकट दिइएको थियो। तर, थापाले नजित्ने भन्दै उजुरी परेपछि त्यो टिकट खोसेर युवा नेता तथा केन्द्रीय सदस्य रश्मि आचार्यलाई दिइएको थियो।

रश्मिले टिकट पाउँदासम्म पनि थापाले आफूलाई नै टिकट दिइएको र अर्को कुरा थाहा नभएको बताउँदै आएका थिए। तर, टिकट नै फुत्केपछि चाहिँ उनी चुनावी कमाण्डरको रुपमा मैदानमा उत्रिए। टिकट खोसिँदा उनी खासगरी महासचिव शंकर पोखरेलसँग रुष्ट देखिएका थिए। 

एमालेका नेता झपट रानाभाटका अनुसार थापा उच्च रक्तचापको बिरामी त थिए तर औषधि भने खाँदैनथे। बिहीबारको बैठकमा कार्यशैलीमाथि प्रश्न उठाइएपछि उनले ‘पार्टीले व्यहोरेको क्षतिको जिम्मा म लिन्छु’ भनेका थिए। उनले हारको जिम्मेवारीको भारी त बोके तर त्यो भारीसँगै उनी ईश्वरको प्यारा बने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad