नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी)ले गोर्खा जेल ब्रेकर उमा भुजेल ‘सिलु’सहितका नेताहरुलाई आउँदो चुनावमा गोर्खाको क्षेत्र नम्बर २ बाट उम्मेदवार बनाउने तयारी थालेको छ।
माओवादीले उमालाई १ नम्बरमा राख्दै गोर्खा क्षेत्र नम्बर २ बाट उम्मेदवार सिफारिस गरेको हो। गोर्खाको क्षेत्र नम्बर २ बाट अघिल्लो चुनावमा माओवादी अध्यक्ष प्रचण्ड विजयी बनेका थिए।
आफ्ना पूर्वसहकर्मी डा.बाबुराम भट्टराईले ‘त्याग’ गरेपछि प्रचण्ड चितवन छाडेर गोर्खा उक्लिएका थिए। उनी सो चुनावमा २६ हजार १ सय १ मतसहित विजयी हुँदा निकटतम प्रतिस्पर्धीको रुपमा राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकोटीले १२ हजार ६ सय ३६ र नेकपा एमालेका अब्दुस सलाम मियाँले ७ हजार ३१२ मत ल्याएका थिए।
त्यो बेला नेपाली कांग्रेसले माओवादीलाई सघाएको थियो। अहिले प्रचण्डले गोर्खाको सो चुनावी क्षेत्र छाडेर रुकुम पूर्वबाट चुनाव लड्ने घोषणा गरेका छन्।
प्रचण्डले रुकुम रोजेको घोषणा गरेलगत्तै माओवादीले सो क्षेत्रका निम्ति पार्टी स्थायी कमिटी सदस्य तथा गण्डकी इन्चार्ज उमासहित पार्टी केन्द्रीय सदस्य काजी गुरुङ र मजदुर संगठनका केन्द्रीय सदस्य टेक प्रधानको नाम उम्मेदवारको रुपमा टुंग्याएको छ।
सिफारिसमा परेका नाम हेर्दा सो क्षेत्रबाट ‘जेल ब्रेकर’उपनामले चर्चित उमाको सम्भावना बढी देखिन्छ। उमासहितका कमला नहर्की, रीता थापा,एन्जिला बिक,सञ्जु अर्याल र मीना मरहट्टाले २०५७ साल चैत १७ गते सामान्य रडको प्रयोगले सुरुङ खनेर गोर्खा जेलबाट बाहिर आएका थिए।
उमालाई तत्कालीन शाही नेपाली सेनाले २०५६ साल कात्तिक १३ गते पक्राउ गरेको थियो। विप्लवले माओवादीबाट विद्रोह गर्दा पूर्वसांसदसमेत रहेकी उमाले दह्रो साथ दिएकी थिइन्। उनी विप्लव नेतृत्वको माओवादी प्रतिबन्धित हुँदा पनि जेल परेकी नेतृ हुन्।
गोरखाको क्षेत्र नम्बर १ बाट केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज कपिल भट्ट, नेता परशुराम भट्ट ‘अजिव’ र गण्डकी गाउँपालिका इन्चार्ज विष्णु रिजाललाई सिफारिस गरिएको छ।
अघिल्लो चुनावमा सो निर्वाचन क्षेत्रबाट ३३ हजार ४२८ मत ल्याउँदै कांग्रेसका राजेन्द्र बजगाइँ विजयी भएका थिए। १६ हजार ६४३ मतले आफ्ना प्रतिद्वन्द्वी एमालेका रामशरण बस्नेतलाई पछि पार्दै उनी निर्वाचित हुँदा सघाउने चाहिँ माओवादी नै थियो।
सो चुनावी क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टीका सुवर्ण रोकाहाले ४ हजार ८९२ मत पाएका थिए।
Shares

प्रतिक्रिया