कास्की कांग्रेसका सभापति किशोरदत्त बरालले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आह्वान गरेको विशेष महाधिवेशनमा सहभागी हुन कार्यकर्तालाई अपिल गरेका छन्।
सभापति बरालले बिहीबार पार्टीको आधिकारिक लेटरप्याड प्रयोग गर्दै पुस २७ र २८ गते काठमाडौँमा हुने विशेष महाधिवेशनमा सहभागिताको लागि आग्रह गरेका हुन्। उनको यो आग्रहसँगै कास्की कांग्रेस स्पष्ट रुपले महामन्त्रीद्वयको कित्तामा उभिएको छ।
‘केन्द्रीय समितिले विशेष महाधिवेशनमा उपस्थित नहुन कार्यकर्तालाई सचेत गराएलगत्तै सभापति बरालबाट सार्वजनिक गरिएको अपिलमा भनिएको छ,’नेपाली कांग्रेस कास्कीको सभापतिको हैसियतले म तपाईंहरु सबैमा विशेष महाधिवेशनमा अनिवार्य रूपमा उपस्थित भई महाधिवेशनलाई सफल, ऐतिहासिक र सार्थक बनाउन सक्रिय भूमिका निर्वाह गर्न हार्दिक अपिल गर्दछु। हामी सबैको साझा सहभागिताबाट मात्र नेपाली काग्रेसलाई थप बलियो, विश्वसनीय र जनमुखी बनाउन सकिनेछ। लोकतन्त्रको रक्षा र पार्टीको सुदृढ भविष्यका लागि तपाईंहरूको सक्रिय उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछु।’
उनले कांग्रेस इतिहासकै अत्यन्त महत्वपूर्ण मोडमा उभिएको तर्क गर्दै पार्टीको वैचारिक स्पष्टता, संगठनात्मक एकता,आन्तरिक लोकतन्त्र र देशको समसामयिक राजनीतिक चुनौतीहरूबारे गम्भीर निर्णयका निम्ति विशेष महाधिवेशन आयोजना हुन लागेको बताएका छन्।
‘नेपाली कांग्रेस केवल एउटा राजनीतिक संगठन मात्र होइन, यो लोकतन्त्र, समावेशिता र राष्ट्रिय एकताको आधारशिला हो। यस्तो ऐतिहासिक घडीमा तपाईंहरूको सहभागिता केवल औपचारिक उपस्थिति नभइ पार्टीको भविष्य र राष्ट्रको दिशानिर्देशनसँग प्रत्यक्ष रूपमा जोडिएको कर्तव्य हो भन्नेमा म विश्वस्त छु,’उनले भनेका छन्। 
कास्की सभापति बरालले १४ औं महाधिवेशन संस्थापन पक्षबाटै लडेका थिए। तर, महामन्त्री विश्वप्रकाशसँग भने उनको आत्मिय सम्बन्ध रहेको छ। केन्द्रीय महाधिवेशनको बेला उनी खुलेर विश्वप्रकाशलाई मत माग्ने सीमित जिल्ला सभापतिमध्येका एक हुन्।
कास्की सभापतिको रुपमा भने पछिल्लो समय उनी त्यति लोकप्रिय छैनन्। पुराना नेता तथा गण्डकी प्रदेश सभापति शुक्रराज शर्मासँग सुमुधुर सम्बन्ध नरहेका उनी पार्टीका निवर्तमान सभापति कृष्ण केसीलाई अनुशासनको कारवाही गराउन कम्मर कसेर लागेपछि थप एक्लिएका थिए।
तर संयोग कस्तो भने, अहिले गण्डकी प्रदेश सभापति शुक्रराज शर्मा, कास्कीका प्रभावशाली मानिने निवर्तमान अध्यक्ष कृष्ण केसीहरू पनि विशेष महाधिवेशनकै पक्षमा खुलेर लागेका छन्। राष्ट्रिय सभा सदस्य बन्ने दाउमा रहेका शुक्रराजले करिब एक महिनाअघि नै नियमित अधिवेशन आयोजना गर्न गण्डकी तयार रहेको सार्वजनिक अभिव्यक्ति दिएका थिए भने कांग्रेसलाई पुनर्जीवित पार्न विशेष महाधिवेशन गर्नुपर्ने आवाज उठाएका थिए।
१४ औं महाधिवेशनमा डा. शेखर कोइराला खेमाबाट उपसभापतिको प्रत्यासी रहेका देवराज चालिसे, गोर्खा सभापति तथा गण्डकी प्रदेशसभा सदस्य नन्दप्रसाद न्यौपाने, गण्डकी प्रदेश सभाका अर्का सदस्य बागलुङका डिल्लीराम सुवेदीलगायतका नेताहरु पनि विशेष महाधिवेशन सफल पार्न भन्दै सक्रिय देखिएका छन्।
सभासद सुवेदी विशेष महाधिवेशनमा गण्डकीबाट हस्ताक्षर गरेका भन्दा बढी महाधिवेशन प्रतिनिधि सामेल हुने जिकिर गरिरहँदा कांग्रेस केन्द्रीय सदस्य गुरु बराल चाहिँ त्यस्तो नहुने बताउँछन्। कास्की जन्मघर भएका गुरु बराल १४ औं महाधिवेशनमा संस्थापन पक्षबाट खुल्ला केन्द्रीय सदस्य बनेका हुन्।
२०७४ सालको प्रदेश सभा निर्वाचनमा प्रदेश सभासदको प्रतिस्पर्धी रहेका उनी पछिल्लो समय संस्थापनको बलियो खम्बाको रुपमा आफूलाई प्रस्तुत गरिरहेका छन्। उनीसहित लमजुङ कांग्रेस सभापति तथा गण्डकीका आर्थिक मामिलामन्त्री डा. टकराज गुरुङ, बागलुङ सभापति तथा गण्डकी प्रदेश सभाका सदस्य जीत शेरचन, नेपाल तरुण दलका सभापति विद्धान गुरुङलगायतले विशेष महाधिवेशनलाई काउन्टर दिन विशेष भेलाको तयारी गरिरहेको छ।
गण्डकीबाट कांग्रेसमा ४८० जनाको हाराहारीमा महाधिवेशन प्रतिनिधि छन्। तीमध्ये ६० प्रतिशतको हाराहारी अर्थात् २७१ जनाले विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेका छन्।
‘गण्डकी विशेष महाधिवेशनमा विशेष खालले नै उपस्थित हुँदैछ, धेरैभन्दा धेरै साथीहरु सहभागीको लागि तयार हुनुहुन्छ तर संस्थापनले भाँजो हाल्ने,अल्मल्याउने काम सुरु हुन थालेको छ। सत्ता र शक्तिले थोरै तलमाथि होला तर महाधिवेशनमा हाम्रो भव्य उपस्थिति रहन्छ,’महाधिवेशन प्रतिनिधि दीपक गुरुङ ‘माइला’ले भने, ‘राष्ट्रिय सभा सदस्य मनोनयन कसरी भयो र प्रदेशबाट सिफारिस गरिएका नेतालाई पाखा लगाउँदै कसरी नयाँ मान्छेको प्रवेश भयो भन्नेले पनि धेरैलाई झस्काएको छ। यही तालले पार्टी चल्दैन। पार्टी विधान अनुसार चलाउने हो, जेनजीले खोजेको जस्तो बनाउने हो।’
आसन्न राष्ट्रिय सभा चुनावमा कांग्रेसले गण्डकीबाट नेपाल प्राध्यापक संघका अध्यक्ष जगत तिमिल्सिनालाई उम्मेदवार बनाएको छ। जबकि, उनको नाम प्रदेश समितिबाट सिफारिस भएकै थिएन। प्रदेशले एक नम्बरमा प्रदेश सभापति शुक्रराज शर्मा, २ नम्बरमा कांग्रेस पूर्वउपसभापति गोपालमान श्रेष्ठ, तेस्रोमा गण्डकीका पूर्वमूख्यमन्त्री कृष्णचन्द्र नेपाली र चौथोमा कांग्रेस तनहुँका नेता ध्रुव वाग्लेलाई सिफारिस गरेको थियो।
तर, टिकट चाहिँ सभापति शेरबहादुर देउवाले तिमिल्सिनालाई दिए। त्यसले गर्दा कांग्रेसमा व्यापक असन्तुष्टि रहेको पनि महाधिवेशन प्रतिनिधि गुरुङको जिकिर छ।
Shares

प्रतिक्रिया