गण्डकी


एमाले कास्कीको प्रतिनिधि छनोटको जिम्मा ‘हाइकमान्ड’लाई: नेता मिल्दा आकांक्षी हेरेको हेर्‍यै

एमाले कास्कीको प्रतिनिधि छनोटको जिम्मा ‘हाइकमान्ड’लाई: नेता मिल्दा आकांक्षी हेरेको हेर्‍यै

नेपालखबर
मंसिर १२, २०८२ शुक्रबार २२:२, पोखरा

नेकपा एमालेले ११ औं महाधिवेशनमा भाग लिने प्रतिनिधि छनोट गर्न १२ सय पार्टी सदस्य भएको निर्वाचन क्षेत्रबाट २ जना खुला, १ जना महिला र १ जना युवा गरी ४ जना महाधिवेशन प्रतिनिधि छनोट गर्नुपर्ने मापदण्ड तय गरेको छ। 

यही मंसिर १८ गते तल्लो तहमा पठाइएको अन्तरपार्टी निर्देशन (अपानी) मा १२ सयभन्दा बढी पार्टी सदस्य रहेको क्षेत्रबाट प्रत्येक ८ सय जना बराबर १ जना प्रतिनिधि थपिने व्यवस्था छ।

एमाले कास्कीका सचिव दर्शन लामाका अनुसार अहिले कास्की एमालेमा ११ हजार ७ सय ६८ जना संगठित सदस्य छन्। संगठित सदस्य अनुसार क्षेत्रगत रुपले हेर्दा कास्की निर्वाचन क्षेत्र १ बाट ४ जना खुला, २ जना महिला समावेशी र १ जना युवा प्रतिनिधि गरी ७ जना, २ बाट ३ जना खुलासहित ६ जना र निर्वाचन क्षेत्र नम्बर ३ बाट ४ जना खुलासहित ७ जनाले मात्र महाधिवेशन प्रतिनिधि बन्न पाउने छन्।

उत्पीडित समूहलाई अर्को क्लष्टर तोकिएको र त्यहाँबाट २ जना प्रतिनिधि हुने व्यवस्था छ। पार्टीका केन्द्रीय सदस्य, अनुशासन आयोग र लेखा आयोगका सदस्यहरु महाधिवेशन आयोजक समितिमै रहेकाले स्वतः प्रतिनिधि हुनेछन्। 

भूगोलबाट थोरैमात्र प्रतिनिधि छानिने व्यवस्थाका कारण प्रतिनिधिका धेरै आकांक्षीहरु सुरुमै रोकिए। भूगोलबाट २० जनामात्रै चुनिने थाहा हुँदाहुँदै १ सय २२ जनाले चाहिँ प्रतिस्पर्धामा उत्रने तयारीका साथ उम्मेदवारी दर्ता गरे, क्षेत्र नम्बर १ बाट ३८, २ बाट ३७ र ३ बाट ४३ जना मैदानमा ओर्लँदा उत्पीडित क्लष्टरमा पनि ७ जना आंकाक्षी रहे। 

मंसिर १८ गतेको अपानीले प्रतिनिधि व्यवस्थापनको जिम्मेवारी जिल्लाका पदाधिकारीलाई दिएको थियो। जिल्ला कमिटीले चुनाव गराउने निर्णय गरेको भए शनिबार उनीहरुबीच प्रतिस्पर्धा हुन्थ्यो। संगठित सदस्यले मताधिकार प्रयोग गर्थे र मनले खाएकालाई जिताउँथे। 

तर, त्यस्तो नहुने भएको छ। चाहिनेभन्दा बढी आकांक्षी हुँदा पनि एमाले नेतृत्वले ‘बाकस थाप्ने’ विधि तय नगरेर सहमतिमा प्रतिनिधि चयन गर्ने निर्णय गरेको छ। एमाले कास्की सचिव लामाका अनुसार सहमतिमै प्रतिनिधि चयन गर्ने निर्णय अनुरुप जिल्ला कमिटीकै पदाधिकारीलाई क्षेत्रगत रुपले खटाउने निर्णय गरेको छ। अध्यक्ष बैनबहादुर क्षेत्री र सचिव दर्शन लामाले क्षेत्र नम्बर १ मा सहमति गराउने जिम्मेवारी पाएका छन्। उनीहरु स्वयं पनि प्रतिनिधिका आकांक्षी हुन्।

केन्द्रीय नेतृत्वले नै चुनाव गराउन नचाहँदा र यहाँ प्रभाव जमाउने उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र स्थायी कमिटी सदस्य खगराज अधिकारी दुवै सहमतिकै पक्षमा उभिएपछि जिल्लाले सो निर्णय गरेको एमालेका एक नेताले बताए। 

‘कास्की नेतृत्वकै लागि चुनाव भएको हो। महानगर कमिटीमा पनि हाम्रा दुई नेता (पृथ्वीसुब्बा र खगराज) ले अघोषित प्रतिस्पर्धा गरेका हुन् तर अहिले यी दुवै नेता एकै ठाउँमा छन्। दुवैले केन्द्रमा अध्यक्ष केपीओली नै पुनः दोहोरिनुपर्ने बताएपछि यहाँ चुनाव हुने कुरै भएन,’ती नेताले भने,‘एमालेको अहिलेको अवस्था भनेको नेताको तानशाही प्रवृत्ति नै हो। चुनाव नहुँदा उहाँहरुले रुचाएका मान्छे नै प्रतिनिधि हुन्छन्। चुनाव भए उहाँहरुले भने अनुसार नै आँखा चिम्लेर मत हाल्छन्।’

प्रतिनिधि छनोटमा पृथ्वीसुब्बा र खगराजबीच भागबण्डा चाहिँ अहिलेसम्म नभएको उनले सुनाए।

‘कास्कीमा खगराज कमरेडकै बढी चल्छ, करिब ७० प्रतिशत उहाँले नै रुचाएका प्रतिनिधि बन्छन् होला। चुनाव नहुने भएपछि कार्यकर्ताले आफू कति लोकप्रिय वा पानीमा छु भन्ने परीक्षण गर्नै पाएनन्,’उनले भने,‘महाधिवेशनमा अध्यक्षबाहेक अन्य पदमा प्रतिस्पर्धा हुँदा चाहिँ प्रतिनिधि आफ्नो पक्षमा पार्ने काम होला।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad