कास्की प्रहरीले जेन–जी आन्दोलनको क्रममा आगजनी, लुटपाट र तोडफोड गरेको आरोपमा थप ५ जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा पोखरा १० बुद्धचोक बस्ने ५० वर्षीय चन्द्रबहादुर थापा, सोही ठाउँका ४८ वर्षीय खली भनेर चिनिने हरिबहादुर थापा,कास्कीको माछापुच्छ्रे गाउँपालिका ३ का २५ वर्षीय सन्तोष परियार, पोखरा २६ का ४० वर्षीय रमेश थापा र पोखरा ९ बस्ने ३५ वर्षीय अभिमन्यू पाण्डे रहेका छन्।
उनीहरूविरुद्ध आपराधिक उपद्रव गर्न नहुने सम्बन्धी कसूरमा म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको कास्की प्रहरीका प्रवक्ता डीएसपी हरिबहादुर थापाले जानकारी दिए।
पक्राउ परेकामध्ये चन्द्रबहादुर थापा र अभिमन्यू पाण्डे राष्ट्रिय स्वतन्त्र पार्टीसँग आवद्ध रहेका थिए। थापा चाहिँ रास्वपा पोखरा १० का सभापति नै थिए। पोखराका मेयर धनराज आचार्य तथा प्रदेश सांसद मनबहादुर गुरुङको घर तोडफोडमा संलग्न भएको भिडियो बाहिरिएपछि रास्वपाले उनलाई कारबाही गरेको थियो।
पाण्डेमाथि चाहिँ गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री तथा कांग्रेस नेता विन्दुकुमार थापाको घर जलाउन उक्साउने तथा पृथ्वीचोकमा रहेको शहीद लखन थापाको शालिक फुटाएको आरोप रहेको छ।
आफूविरुद्ध मन्त्री थापाले नै किटानी जाहेरी दिएको उनले पक्राउअघि सामाजिक सञ्जालमार्फत् जानकारी गराएका थिए। तर,त्यसलगत्तै उनले सो स्टाटस् मेटेका थिए।
त्यो स्टाटस्लाई राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य अरुण गिरीले सेयर गरेका थिए भने सामाजिक सञ्जालमै पार्टीका केन्द्रीय सदस्य अर्जुन खनाललाई प्रहरीले सोधपुछको लागि भन्दै पक्राउ गरेको पनि लेखेका थिए।
Shares

प्रतिक्रिया