गण्डकी


अन्नपूर्ण आधार शिविर क्षेत्रमा सुरक्षाकर्मीको टोली परिचालन

अन्नपूर्ण आधार शिविर क्षेत्रमा सुरक्षाकर्मीको टोली परिचालन

नेपालखबर
कात्तिक ११, २०८२ मंगलबार १२:२३, म्याग्दी (बेनी)

मौसममा आएको खराबी र हिमपातका कारण अन्नपूर्ण प्रथम आधार शिविर क्षेत्रमा भ्रमणमा गएका पर्यटकको सहजीकरणका लागि सुरक्षाकर्मीको टोली परिचालन गरिएको छ। म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ नारच्याङमा अवस्थित अन्नपूर्ण आधार शिविर क्षेत्रमा गएरातिदेखि भारी मात्रामा हिमपात भइरहेको छ। 

अत्यधिक मात्रामा पर्यटकको आगमन भइरहेको र सञ्चारको पहुँच नभएकाले पर्यटक बिरामी पर्ने तथा अलपत्र पर्ने जोखिम भएकाले गाउँपालिकासँगको समन्वयमा पर्यटकको सहजीकरणका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीलाई आधार शिविर जाने ‘मौरिस हर्जोग’ पदमार्गमा परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी बद्रीप्रसाद तिवारीले जानकारी दिए। 

उनका अनुसार हिमाली उद्धारकर्मीका रुपमा परिचित इन्द्रसिंह शेरचनसमेत सहभागी उक्त टोली नारच्याङ भएर हुमखोला हुँदै आधार शिविर क्षेत्रमा प्रस्थान गरेको छ। अन्नपूर्ण आधार शिविर क्षेत्रमा सञ्चारको पहुँच नभएका कारण पर्यटक भारी हिमपातका कारण समस्यामा पर्नसक्ने जोखिमलाई ध्यानमा राखेर आवश्यक सतर्कता अपनाइएको छ। 

जल तथा मौसम विज्ञान विभागद्वारा जारी मौसम बुलेटिनअनुसार आगामी शुक्रबारसम्म हिमाली क्षेत्रमा हिमपात र वर्षाको सम्भावना रहेकाले उक्त अवधिमा अन्नपूर्ण आधार शिविर जान पूर्ण रुपमा रोक लगाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। 

गाउँपालिकाले समेत सूचना जारी गरेर मौसम खराबीका कारण हिमपात भएका अन्नपूर्ण आधार शिविर, खोप्रालेक, मोहरेडाँडा, पुनहिललगायतका हिमाली क्षेत्रको भ्रमणमा निस्किएका पर्यटकलाई सुरक्षित भएर बस्न र सतर्कता अपनाउन आग्रह गरेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad