गण्डकी


पोखराबाट आएकी लक्ष्मी कार्कीले भनिन्: मानुङकोट टिकटकमा हेरेभन्दा अझ राम्रो लाग्यो

पोखराबाट आएकी लक्ष्मी कार्कीले भनिन्: मानुङकोट टिकटकमा हेरेभन्दा अझ राम्रो लाग्यो

नेपालखबर
कात्तिक ११, २०८२ मंगलबार ६:१५, दमौली (तनहुँ)

‘सामाजिक सञ्जालमा मानुङकोटका दृश्य देखेका थियौँ, आज प्रत्यक्ष आँखाले हेर्दा झनै मनमोहक लाग्यो’, पोखराकी लक्ष्मी कार्कीले सोमबार भनिन्, ‘यहाँबाट देखिने सूर्योदय, हिमशृङ्खलाले लोभ्यायो।’

पोखराबाट सोमबार बिहान २ बजे गाडी भाडामा लिएर व्यास नगरपालिका-५ मानुङकोट आएकी उनले मानुङकोटको सुन्दरता टिकटक र फेसबुकमा हेरेभन्दा अझ राम्रो लागेको उल्लेख गरिन्। 

उनले भनिन्, ‘मानुङकोटका बारेमा धेरै सुनेका थियौँ, साथीहरूसँग सल्लाह गरेर चार जना मिलेर आएका हौँ।’

काठमाडौँबाट आएकी लुनिभा श्रेष्ठले मानुङकोटको सुन्दरताले मोहनी लगाउने धारणा राखिन्। उनले भनिन्, ‘आउन मन भए पनि पहिला विविध कारणले आउन सकिराखेकी थिइँनँ, अहिले तिहार बिदाका कारण यहाँ आउने वातावरण जुर्‍यो, दृश्यले लोभ्यायो।’

दमौलीका सुदीप गफ्फारले यतिबेला मानुङकोटमा पर्यटकको अत्यधिक चहलपहल भएकाले होटल व्यवसायीसँग पहिल्यै सम्पर्क गरेर आउनुपर्ने अवस्था रहेको बताए।

चिसो मौसम सुरु भएसँगै मानुङकोटमा यतिबेला दैनिक पर्यटकको चहलपहल बढेको छ। हाल दैनिक एक हजारभन्दा बढी पर्यटक मानुङकोट पुग्ने गरेका छन्।

सोमबार बिहान करिब दुई हजार पर्यटकले मानुङकोटबाट दृश्यावलोकन गरेका छन्। मानुङकोटस्थित अम्ब्रेला रेस्टुराँका सञ्चालक शैलेश सुनामले यतिबेला मानुङकोटमा पर्यटकको सिजन रहेको जानकारी दिँदै दसैँ तिहारसँगै पर्यटकको चहलपहल बाक्लिएको बताए।

चिसो मौसममा सूर्योदय, कुहिरो, सूर्यास्तले यहाँ आउने पर्यटक लोभिने गरेको उनले बताए। भने, ‘अहिलेका बेला भनेको पर्यटकको चाप हुने समय हो, पहिल्यै आफ्नो बस्ने स्थान सुरक्षित गरेर आउँदा सहज हुन्छ। हामीले प्रतिव्यक्ति रु एक हजार २०० मा रातको बास, खाना र बिहानको नास्ता उपलब्ध गराइरहेका छौँ।’

उनले आफ्नो रेस्टुराँमा दैनिक ७० जना बास बस्ने क्षमता रहेको जानकारी गराए।

मानुङकोटमा पर्यटक उक्लिनेक्रम बढेपछि यहाँ होटल खुल्नेक्रम बढेको छ। विगतमा होटल नरहेको यस ठाउँमा अहिले एक दर्जन सञ्चालनमा छन्। दृश्यावलोकनका लागि व्यास नगरपालिकाले दृश्यावलोकन स्तम्भ निर्माण गरेको छ भने सुरक्षाका लागि डाँडाको छेउमा रेलिङ हालेको छ।

रेलिङसँगैको भागमा हालै पैदलमार्ग निर्माण गरिएको छ। मानुङकोटबाट धौलागिरि, माछापुच्छ्रे, अन्नपूर्ण, मनास्लु, लमजुङ हिमालको दृश्यावलोकन गर्न सकिन्छ।

दमौली बजारलाई कुहिरोले ढाक्नुलाई पौराणिक कथासँग पनि जोडिएको छ। परापूर्वकालमा महर्षि वेदव्यासका पिता परासर ऋषिले सत्यवतीसँग सम्भोग गर्न इच्छा प्रकट गर्दा लोकलाई पत्तो नहोस् भनेर कुहिरो उत्पन्न गराइदिएको धार्मिक किंवदन्ती छ।

मानुङकोटमा पर्यटक बढेपछि गाउँ छाडेर सहर झरेका पनि पुनःमानुङकोट उक्लिएर व्यवसाय गर्न थालेका छन्। खानेपानीको अभावमा यहाँका स्थानीयवासीले गाउँ छाडेका थिए। बजारको प्रशोधित जार र ट्याङ्करको पानीले मानुङकोटमा अहिले पानीको विकल्प दिइरहेको छ।

मानुङकोट जाने सडक कालोपत्र भइसकेको छ। सहरी विकास मन्त्रालयको आर्थिक लगानीमा मानुङकोटसम्म पुग्ने सडक कालोपत्र गरिएको हो। अलैँचेबाट मानुङकोटसम्मको चार हजार ३०० मिटर सडक कालोपत्र भएको हो। कालोपत्र गर्न अप्ठ्यारो रहेको ठाउँमा १८० मिटर आरसिसी ढलान गरिएको व्यास नगरपालिका कार्यालयले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad