गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री विन्दुकुमार थापाका छोरा सौगात थापाको स्वामित्वमा रहेको पोखरा लेकसाइडको अंशुभारा बिल्डिङमा जलेको अवस्थामा युवतीको शव भेटिएको छ।
मंगलबार जेनजी प्रदर्शनकारीले बिल्डिङमा आगो लगाएका थिए। मन्त्री थापाकै भाइ ध्रुव थापाको घरमा लगाएको आगोमा परेर पनि एक महिलाको मृत्यु भएको थियो।
आन्दोलनकारीले हिजो गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री विन्दुकुमार थापा र उनका भाइको नयाँबजारमा रहेको घरमा आगजनी गरेका थिए। त्यही आगोमा परेर घरमा काम गर्ने एक महिलाको निधन भएको हो।
मन्त्री थापाको घरमै कार्यालय राखेका पत्रकार सुरज श्रेष्ठका अनुसार उनको शव भर्याङनेर भेटिएको हो। ती महिला अन्दाजी ४० वर्षकी रहेकी र आगो लागेपछि भाग्ने क्रममा उनी भर्याङनेर लडेको हुन सक्ने उनले बताए। हतारमा उनी त्यहाँ भए नभएको कसैलाई याद नभएको पनि सुरजको भनाइ छ।
अहिले एउटा जलेको शवको फोटो सामाजिक सञ्जालमा भाइरल भएको छ। अहिले पोखराको बजार क्षेत्रमा सेना खटिएको छ। हिजो जलेका संरचना सफाइ चलिरहेको छ।
Shares

प्रतिक्रिया